तीन सिजनपछि मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा

तीन सिजनपछि मुम्बई इन्डियन्सको कप्तानीमा फर्किए रोहित शर्मा
फाइल तस्बिर

एजेन्सी : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ अगाडि मुम्बई इन्डियन्सले आफ्ना सबैभन्दा सफल पूर्व कप्तान रोहित शर्मालाई पुनः टोलीको कप्तान नियुक्त गरेको छ। मुम्बई इन्डियन्सले शुक्रबार रोहितलाई पुनः कप्तानीको जिम्मेवारी सुम्पिएको घोषणा गरेको हो।

निवर्तमान कप्तान हार्दिक पाण्ड्या ट्रेडमार्फत पञ्जाब किंग्समा सामेल भएपछि नेतृत्वविहीन बनेको मुम्बईले करिब तीन सिजनपछि पुनः रोहितलाई नै टोलीको कमान सुम्पेको हो। पाण्ड्याको ठाउँमा पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा भित्रिएका छन्।

पुनः कप्तानीको जिम्मेवारी पाएपछि रोहितले मुम्बई इन्डियन्स आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा रहेको र टोलीको नेतृत्व गर्न पाउनु सधैँ गर्वको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले भने, “हामी यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्नेमा म विश्वस्त छु।”

आगामी सिजनका चुनौतीहरूको सामना गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले समर्थकहरूलाई खुसी बनाउने गरी एकजुट भएर मैदानमा उत्रिने प्रतिबद्धता जनाए। रोहित मुम्बई इन्डियन्सका सफल कप्तान हुन्। 

सन् २०१३ को सिजनको बीचमै रिकी पोन्टिङबाट नेतृत्व सम्हालेका उनले सोही वर्ष टोलीलाई पहिलो पटक आइपिएल र च्याम्पियन्स लिग टी-२० को उपाधि दिलाएका थिए। त्यसपछि उनकै कप्तानीमा टोलीले २०१५, २०१७, २०१९ र २०२० गरी पाँच पटक आइपिएल ट्रफी जित्यो।

उनी महेन्द्र सिंह धोनीसँगै आइपिएल इतिहासमा सर्वाधिक पाँच उपाधि जित्ने कप्तानको सूचीमा छन्। रोहितको कप्तानीमा मुम्बईले कहिल्यै पनि फाइनल खेल गुमाएको छैन। टोलीले २०१७ मा राइजिङ पुणे सुपरजायन्ट र २०१९ मा चेन्नई सुपर किंग्सलाई समान १-१ रनको झिनो अन्तरले हराएर उपाधि जितेको थियो।

तथ्यांक अनुसार रोहितले सन् २०१३ देखि २०२३ सम्मका ११ सिजनमा मुम्बईको १५८ खेलमा नेतृत्व गरेका छन्। जसमा टोलीले ८७ खेलमा जित र ६७ खेलमा हार बेहोरेको थियो भने चार खेल बराबरी (टाई) मा टुंगिएका थिए।

यसअघि आइपिएल २०२४ अघि मुम्बई इन्डियन्सले रोहितलाई हटाएर गुजरात टाइटन्सलाई डेब्यु सिजनमै च्याम्पियन बनाएका हार्दिक पाण्ड्यालाई कप्तान बनाएपछि ठूलो विवाद भएको थियो। व्यवस्थापनको उक्त निर्णयबाट रुष्ट समर्थकहरूले मुम्बईको घरेलु मैदान वानखेडेसहित देशका विभिन्न रंगशालाहरूमा हार्दिकविरुद्ध चर्को हुटिङ गरेका थिए।

कप्तानका रूपमा हार्दिकको कार्यकाल मैदानभित्र पनि निराशाजनक रह्यो। उनको नेतृत्वमा मुम्बईले २०२४ को सिजनमा १४ खेलमध्ये केवल चार खेल मात्र जित्न सक्यो र तालिकाको पुछारमा सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

मंसिर ११, २०८३ शुक्रबार १८:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।