दसौं राष्ट्रिय खेलकुद : बागमतीलाई हराउँदै आर्मी क्लबको लगातार दोस्रो जित
सुर्खेत : दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लबले बागमतीलाई २-० गोलअन्तरले पराजित गरेको छ। वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा शुक्रबार भएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै आर्मी क्लब विजयी भएको छ।
पहिलो हाफ बराबरी भएको उक्त खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गरेका थिए भने दोस्रो गोल अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा गोल गरी आर्मीको जित सुनिश्चित गरेका थिए।
आर्मी क्लबका लाकेन लिम्बूले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए भने बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
लुम्बिनीसँग पहिलो खेल जितेको आर्मीले बागमतीलाई पनि जितेपछि छ अङ्क प्राप्त गरेको छ भने पहिलो खेल कोशी प्रदेशसँग बराबरी गरेको बागमतीको एक अङ्क मात्र छ।
भोलि पहिलो खेल बिहान ९ सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ तथा दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच साढे २ बजे हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
मंसिर ११, २०८३ शुक्रबार २१:१९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।