बल नै नखेली ‘बोल्ड’, डब्लुबीबीएलमा पहिलोपटक देखियो अनौठो ‘टाइम्ड आउट’
एजेन्सी : अस्ट्रेलियाको महिला बिग ब्यास लिग (डब्लुबीबीएल) क्रिकेटमा बुधबार राति एउटा दुर्लभ र अनौठो घटना देखिएको छ।
जङ्क्सन ओभलमा ब्रिसबेन हिटविरुद्धको खेलमा मेलबर्न रेनेगेड्सकी ३५ वर्षीया अनुभवी अलराउन्डर डिआन्ड्रा डटिन क्रिजबाट १० मिटर टाढा उभिएर टुलुटुलु हेर्दै गर्दा ‘बोल्ड’ भएकी छन्।
खेलको १५औँ ओभरमा रेनेगेड्स ४ विकेट गुमाएर ९७ रनको अवस्थामा रहँदा डटिन ब्याटिङका लागि आएकी थिइन्। सुरुमा नवौँ नम्बरमा ब्याटिङ गर्ने सूचीमा रहेकी उनलाई अचानक माथि पठाइएको थियो।
हतारमा मैदान पस्दा उनले बाटोमै ग्लोभ्स खसालिन् भने हातमा भित्री पञ्जा समेत लगाएकी थिइनन्। क्रिजमा पुगेर हेल्मेटको फिता मिलाउँदामिलाउँदै उनले तोकिएको ७५ सेकेन्डको समयसीमा नाघाइन्।
समयमै क्रिजमा तयार नभएको भन्दै अनफिल्ड अम्पायरहरूले डब्लुबीबीएलको ‘टाइम्ड आउट’ नियमअन्तर्गत अनौठो निर्णय सुनाए।

उनलाई सीधै ‘टाइम्ड आउट’ दिनुको सट्टा अम्पायरहरूले डटिनलाई क्रिजबाट १० मिटर पर उभिन आदेश दिए र ब्रिसबेन हिटकी स्पिनर सारा ग्लेनलाई खाली स्टम्पमा बलिङ गर्ने अवसर (फ्री बल) दिए।
ग्लेनले स्टम्प ढालिदिइन् र वेस्ट इन्डिजकी अनुभवी खेलाडी डटिन बल नै नखेली ‘गोल्डेन डक’का रूपमा आउट भइन्।
स्कोरकार्डमा उक्त बल गणना हुने भएकाले प्राविधिक रूपमा यसलाई ‘डाइमन्ड डक’ नभई ‘गोल्डेन डक’ मानिएको हो। सन् २०२१-२२ को सिजनमा यो नियम लागू भएयता खेलमैदानमा कार्यान्वयन भएको यो पहिलोपटक हो।
खेलाडीहरूको प्रतिक्रिया : ‘व्यावसायिक क्रिकेट हो, सहानुभूति छैन’
ब्रिसबेन हिटकी स्टार खेलाडी ग्रेस ह्यारिसले अम्पायरको निर्णयलाई शतप्रतिशत सही ठहराइन्।
फक्स स्पोर्ट्सको प्रत्यक्ष प्रसारणमा बोल्दै उनले भनिन्, “यो व्यावसायिक क्रिकेट हो, कुनै पार्कको क्रिकेट होइन। लगातार तीन विकेट झरेर हतार भएको अवस्था पनि थिएन। यो नियम पहिल्यैदेखि छ र स्क्रिनको कुनामा घडी पनि देखिन्छ। मलाई उनीप्रति अलिकति पनि सहानुभूति छैन- मैदान छोडेर जाऊ।”

यता, मेलबर्न रेनेगेड्स तथा अस्ट्रेलियाकी कप्तान सोफी मोलिनेक्सले भने क्रिकेटमा यस्तो घटना पहिलोपटक देखेको बताउँदै ग्लेनको प्रहारको प्रशंसा गरिन्। उनले डटिनलाई माथिल्लो क्रममा पठाउने निर्णय ढिला भएका कारण प्याड लगाएर समयमै मैदान पस्न कठिन भएको स्वीकारिन्।
“यो हाम्रा लागि र हेरिरहेका अन्य सबै टोलीका लागि ठुलो सिकाइ हो। अबको १० वर्षमा सायद यस्तो अर्को घटना देख्न पाउँदैनौँ होला”, उनले भनिन्।
अन्तिम बलमा रेनेगेड्सको रोमाञ्चक जित
डटिनको यो अनौठो बहिर्गमनका बाबजुद मेलबर्न रेनेगेड्सले ब्रिसबेन हिटमाथि अन्तिम बलमा ३ विकेटको रोमाञ्चक जित दर्ता गर्यो। पहिले ब्याटिङ गरेको ब्रिसबेनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो।
रेनेगेड्सकी कप्तान मोलिनेक्सले २० रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरिन्। उनले पहिलो ओभरमै खतरनाक ओपनर ह्यारिसलाई गोल्डेन डकमा बोल्ड गरेकी थिइन्। ब्रिसबेनका लागि ओर्ला प्रेन्डरगास्टले २३ (१५ बल) तथा लुसी ह्यामिल्टन र सिएना जिन्जरले समान २१-२१ रन बनाए।

१ सय ३८ रनको लक्ष्य पछ्याएको रेनेगेड्सलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। लुसी ह्यामिल्टनको उक्त ओभरको पहिलो बलमा एनी विकम्यानले चौका प्रहार गरिन् र त्यसपछि पाँचवटा सिङ्गल रन लिँदै टोलीलाई जित दिलाइन्।
रेनेगेड्सका लागि टेस फ्लिन्टफले ३० र जर्जिया वेयरह्यामले २९ रनको योगदान दिए। बलिङमा ब्रिसबेनकी सारा ग्लेनले २-१५ र जिन्जरले २-१३ को प्रदर्शन गरिन्।

यो जितसँगै ९ अङ्क जोडेको रेनेगेड्स ब्रिसबेनलाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। शनिबार मेलबर्न स्टार्सलाई पराजित गरेमा रेनेगेड्स प्लेअफमा पुग्नेछ। उता, आइतबार पर्थ स्कोर्चर्ससँग खेल्ने ब्रिसबेनले प्लेअफ आशा जीवित राख्न रेनेगेड्सको हारको कामना गर्नुपर्नेछ।
६ अङ्क रहेको सिड्नी थन्डरले बिहीबार एडिलेड स्ट्राइकर्स र शनिबार सिड्नी सिक्सर्ससँगका दुवै खेल जितेर रेनेगेड्स र ब्रिसबेन दुवै हारेमा मात्र शीर्ष चारमा पुग्ने झिनो गणितीय सम्भावना बाँकी छ।
मंसिर १०, २०८३ बिहीबार १३:१६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।