एनएफएलमा थपिए धरान, वीरगन्ज र सुर्खेत टिम, तीन करोडसम्मको लगानी

एनएफएलमा थपिए धरान, वीरगन्ज र सुर्खेत टिम, तीन करोडसम्मको लगानी

काठमाडौँ : नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणका लागि नयाँ तीन टिम छनौट भएका छन्। यस अगाडि ७ टिम रहेकोमा नयाँ तीन टोलीका लागि बोलपत्र आव्हान भएको थियो। बोलपत्रमा २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगन्ज र सुर्खेतका टोली छनोट भएका हुन्।

धरानमा हिमालय टेलिभिजन नेटवर्कसँगै अभिनेता दयाहाङ राई र पूर्वफुटबल खेलाडी केन्द्र लिम्बू लगायत रहेका छन्। वीरगन्जको टोली अल स्टार स्पोर्ट्स म्यानेजमेन्टले पाएको हो। यसका प्रमुख उत्सव सिग्देल यस अगाडि नेपाल प्रिमियर लिग (एनपिएल) को जनकपुर बोल्ट्सका पूर्व सह-मालिक हुन्। सुर्खेत टिम एलाइड कन्टिनेन्टलले पाएको छ। उक्त कम्पनीमा रचितकुमार अग्रवाल, नेपाल हिलटप इन्डस्ट्रिज प्रालि (नेपाटप)का निर्देशक दिगेन श्रेष्ठ लगायत रहेका छन्।

एनफएलका अनुसार बोलपत्रमा धरान टिमका लागि ३ करोड १ लाख रुपैयाँ, वीरगन्जका लागि २ करोड ५१ लाख रुपैयाँ र सुर्खेतका लागि २ करोड ५० लाख रुपैयाँ प्रस्ताव भएकोमा सोही स्वीकृत भएको हो। नयाँ तीन टिम छानिए लगत्तै एनएफएलमा अब पहिलो संस्करणमा १० टोली सहभागी हुनेछन्। प्रतियोगिता ‘होम एन्ड अवे’  प्रणालीमा  फागुन १ देखि सुरु गर्ने तयारी।  

यसअघि नेपाल स्पोर्ट्स लिग(एनएसएल) को नाममा फुटबल लिग हुँदै आएको थियो। एनएसएलमा सहभागी ७ टोली मिलेर एनएफएलको घोषणा गरेका हुन्। एनएफएलमा यस अगाडि नै काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी सहभागी छन्।

मंसिर ११, २०८३ शुक्रबार २०:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।