ध्रुवीकृत स्पेनमा आइतबार आमनिर्वाचन : सत्ता जोगाउने दाउमा सान्चेज, कडा प्रतिस्पर्धाको प्रक्षेपण

ध्रुवीकृत स्पेनमा आइतबार आमनिर्वाचन : सत्ता जोगाउने दाउमा सान्चेज, कडा प्रतिस्पर्धाको प्रक्षेपण

म्याड्रिड : स्पेनमा आइतबार हुने आमनिर्वाचनअघि मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले शुक्रबार अन्तिम चुनावी सभा सम्पन्न गरेका छन्।

मत सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा देखाए पनि समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो दलले चुनाव नहार्ने आत्मविश्वास व्यक्त गरेका छन्।

म्याड्रिडमा रातो टि-सर्ट लगाएका समर्थकहरूसँग सेल्फी खिचाउँदै सान्चेजले विपक्षी कन्जर्भेटिभ नेता अल्बर्टो नुनेज फेइजोमाथि अति-दक्षिणपन्थी दलसँग गठबन्धन गर्न खोजेको आरोप लगाए।

युरोपका थोरै वामपन्थी सरकारमध्ये एकको नेतृत्व गरिरहेका सान्चेज पराजित भएमा र पाँच महिनापछि हुने फ्रान्सको राष्ट्रपति चुनावमा पनि दक्षिणपन्थी धार हाबी भएमा युरोपका दुई ठूला अर्थतन्त्र छिट्टै दक्षिणपन्थी दिशामा मोडिने आकलन गरिएको छ।

करिब तीन करोड ९० लाख मतदाता रहेको स्पेनमा चुनावी कानुनअनुसार सोमबारयता मत सर्वेक्षण प्रकाशनमा रोक लगाइएको छ। त्यसअघिका सर्वेक्षणहरूले फेइजोको पिपुल्स पार्टी (पीपी) लाई झिनो अग्रता देखाएका छन्।

प्रचारप्रसारको अन्तिम समयमा बार्सिलोना हुँदै सेभिल पुगेका फेइजोले ‘सत्य, शालीनता र सुशासन’ को नयाँ राजनीतिक युग सुरु गर्ने प्रतिबद्धता जनाए। तीन वर्षअघि सबैभन्दा बढी सिट जितेर पनि सरकार बनाउन असफल भएका उनले यसपटक भने सरकार गठन गर्ने दाबी गरे।

भ्रष्टाचार, रेल दुर्घटना, आप्रवासन र राष्ट्रिय ऋणजस्ता मुद्दामा सान्चेजले प्रश्न छलेको उनको आरोप छ। ३५० सदस्यीय संसद्मा सर्वाधिक ६१ सिट रहेको र हाल पीपी-भक्स गठबन्धनकै सरकार रहेको एन्डालुसिया क्षेत्रको सेभिलमा अभियान टुङ्ग्याउँदै उनले अति-दक्षिणपन्थी दल ‘भक्स’ लाई मन्त्री नदिई संसदीय समर्थनको सहमतिमा बहुमतको सरकार चलाउने इच्छा व्यक्त गरे।

यता, आप्रवासनविरोधी दल ‘भक्स’ का नेता सान्टियागो अबास्कलले पूर्वी तटीय सहर भ्यालेन्सियाको बुलरिङमा हजारौँ समर्थकमाझ अन्तिम सभा गर्दै सान्चेज सरकारले स्पेनी नागरिकलाई ‘धोका दिएको’ आरोप लगाए। तीन वर्षअघिको ३३ सिटलाई झन्डै दोब्बर बनाउने लक्ष्य राखेको भक्सको सभामा महासचिव इग्नासियो गारिगाले ‘बुर्का र हलाल कम हुनुपर्ने’ अभिव्यक्ति दिएपछि समर्थकले चर्को ताली बजाएर स्वागत गरेका थिए।

कल्याणकारी सुविधामा स्पेनी नागरिकलाई पहिलो प्राथमिकता र अर्थतन्त्रमा योगदान नपुर्याउने विदेशीलाई स्वदेश फर्काउने (रिमाइग्रेसन) नीति बोकेको उक्त सभाका केही समर्थकले सन् १९७५ मा मृत्यु भएका तानाशाह फ्रान्सिस्को फ्रान्कोको पक्षमा समेत नारा लगाएका थिए।

अन्तिम दिनको चुनावी अभियान बिहीबार राति चार प्रमुख नेताबीच भएको टेलिभिजन बहसको छायामा परेको थियो। आवास संकट समाधानका लागि पीपीले चार वर्षमा १० लाख घर बनाउने घोषणा गर्दा सान्चेजले आवास नाफाको वस्तु नभई अधिकार हुनुपर्ने बताए।

बहसमा फेइजोले भ्यालेन्सियाको बाढी विपद्का बेला वामपन्थी गठबन्धन ‘फ्रेन्ते एम्प्लियो’ की नेत्री तथा बार्सिलोनाकी पूर्वमेयर आदा कोलाउलगायत वामपन्थीहरू चुप बसेको भन्दै ओठमा औँला राखेर होच्याउने अर्थ लाग्ने स्पेनी शब्द ‘कायादिता’ प्रयोग गरेपछि सान्चेजले उनलाई महिलाविरोधी (सेक्सिज्म) को आरोप लगाए।

शुक्रबार दक्षिण म्याड्रिडको सभामा कोलाउले आफूहरू चुप नबस्ने र अर्को प्रगतिशील सरकार बनाउने घोषणा गरिन्। मतदातामाझ भने एकातर्फ सान्चेज सरकारप्रति असन्तुष्टि र अर्कोतर्फ फ्रान्को युगको पुनरागमन हुने चिन्तासहितको गहिरो राजनीतिक ध्रुवीकरण देखिएको छ।

मंसिर १२, २०८३ शनिबार ११:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।