बेलायतका चार विश्वविद्यालयमा सम्बोधन गर्न हिँडेका ‘कक्रोच’ आन्दोलनका नेता सौरभलाई विमानस्थलमै रोकियो

बेलायतका चार विश्वविद्यालयमा सम्बोधन गर्न हिँडेका ‘कक्रोच’ आन्दोलनका नेता सौरभलाई विमानस्थलमै रोकियो

एजेन्सी : भारतमा युवा नेतृत्वमा भएको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरूमा सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ।

कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडान चढ्न नदिइएको जानकारी दिएका हुन्।

मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहेका उनलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए।

दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उनलाई ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न आमन्त्रण गरेका थिए। उनले डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा सम्बोधन गर्ने कार्यक्रम थियो। 

भारतीय विद्यार्थीहरूले कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई रोक्नु बौद्धिक विचारप्रति असहिष्णुताको सङ्केत भएको उनको आरोप छ।

सन् २०२६ मेमा सुरु भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौं अनुयायी जुटाएको छ। जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको थियो। त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिएका थिए। 

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा सुरक्षा कारबाही अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा लिइएको थियो।

मोदी सन् २०१४ मा सत्तामा आएपछि भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बनेको आलोचकहरूको आरोप छ। यसै महिनाको सुरुमा विपक्षी काङ्ग्रेस पार्टीले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो।

प्रतिबन्धमा पर्नेमा यसअघि मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गरेका एक नर्वेली पत्रकार पनि हुन्। यसअघि सन् २०२२ मा भारत प्रशासित काश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जानबाट भारतीय अधिकारीहरूले रोकेका थिए।

मंसिर ८, २०८३ मंगलबार १८:४६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।