अस्पतालको बाथरुममा ८ सय ७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक हिरासतमा

अस्पतालको बाथरुममा ८ सय ७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक हिरासतमा

एजेन्सी : अस्पतालको शौचालय र नुहाउने स्थानमा महिला सहकर्मीहरूको गोप्य भिडियो खिचेको कसुर स्वीकार गरेका कनिष्ठ चिकित्सक रयान चोलाई अदालतले हिरासतमा पठाएको छ।

नोभेम्बर २६ (बिहीबार) मेलबर्नस्थित अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासत चलान गरिएको हो।

सन् २०२४ देखि २०२५ सम्मको अवधिमा चोले मेलबर्नका तीन ठूला अस्पतालमा कार्यरत महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरी गोप्य भिडियो खिचेको अदालतमा सुनाइएको छ।

उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय र नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेका थिए।

अदालतमा प्रस्तुत विवरणअनुसार चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन्।

प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो, जसमा दुई बालिकाको भिडियोसमेत रहेको अदालतमा बताइएको छ।

यस घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा पोख्दै गम्भीर मानसिक तनाव झेल्नुपरेको र कार्यस्थलमै सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाएका छन्।

गोप्य भिडियो खिच्ने तथा अन्य सम्बन्धित कसुरमा दोषी स्वीकार गरिसकेका चोलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ।

मंसिर ११, २०८३ शुक्रबार ०९:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।