छाला गोरो बनाउने क्रिमले मिर्गौलामा जोखिम, सीमाभन्दा १२ हजार ५०० गुणा बढी मर्करी

छाला गोरो बनाउने क्रिमले मिर्गौलामा जोखिम, सीमाभन्दा १२ हजार ५०० गुणा बढी मर्करी

एजेन्सी : भारतको केरल राज्यमा छाला गोरो बनाउने दाबी गरिएको एक ‘फेयरनेस क्रिम’ ब्रान्डविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।

उक्त क्रिम प्रयोग गरेपछि १७ वर्षीया एक किशोरीमा मिर्गौलाको गम्भीर रोग देखिएपछि प्रहरी र केरल राज्य बाल अधिकार संरक्षण आयोगले कानुनी कारबाही अघि बढाएका हुन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार क्रिममा रहेको अत्यधिक विषाक्त मर्करीका कारण किशोरीको मिर्गौलाको क्षमतामा गम्भीर असर परेको छ।

गोपनीयताका कारण नाम सार्वजनिक नगरिएकी ती किशोरीले करिब एक वर्षअघि सामाजिक सञ्जालमा विज्ञापन देखेपछि डन्डीफोर र चाया-पोतो हटाउन अनलाइनमार्फत उक्त क्रिम मगाएकी थिइन्। एक वर्षको अवधिमा उनले क्रिमका तीन बट्टा प्रयोग गरिन्।

मलप्पुरम जिल्लास्थित एस्टर मिम्स मदर हस्पिटलका अनुसार किशोरीले प्रयोग गरेको क्रिमको प्रयोगशाला परीक्षण गर्दा प्रतिदस लाखमा १२ हजार ५ सय भाग पीपीएम पारो फेला परेको छ। जब कि सौन्दर्य सामग्रीमा पारोको अधिकतम सुरक्षित सीमा १ पीपीएम मात्र हो। अर्थात्, उक्त क्रिममा सुरक्षित सीमाभन्दा १२ हजार ५ सय गुणा बढी विषाक्त पारो भेटिएको हो।

अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सतीशका अनुसार किशोरीलाई ‘मेम्ब्रेनस नेफ्रोप्याथी’ नामक मिर्गौलाको रोग लागेको छ। यस रोगमा मिर्गौलाको छान्ने झिल्ली बिग्रिएर पिसाबको माध्यमबाट शरीरको अत्यधिक प्रोटिन बाहिर निस्कन थाल्छ।

कसरी बिग्रियो किशोरीको स्वास्थ्य?
किशोरीले भारतीय पत्रिका अनमनोरमा लाई बताएअनुसार कम्पनीले हरेक रात नियमित क्रिम लगाउँदा डन्डीफोर र दागधब्बा हट्ने दाबी गरेको थियो। तर, केही महिनाको प्रयोगपछि नै उनलाई थकान, टाउको दुख्ने, रिँगटा लाग्ने र निद्रा नलाग्ने समस्या देखिन थाले। पछि अनुहार र खुट्टा सुन्निनुका साथै एक समय उनलाई सिधा उभिनसमेत गाह्रो भयो।

शरीर सुन्निने गम्भीर समस्यासहित अभिभावकले अस्पताल पुर्याएपछि सामान्य उपचारले सुधार नहुँदा चिकित्सकले विषाक्त तत्त्वको आशङ्का गरेका थिए। रगत तथा अन्य परीक्षणमा शरीरमा पारोको मात्रा अत्यधिक भेटिएपछि क्रिमको नमुना परीक्षण गरिएको थियो।

करिब एक महिनाको उपचारपछि विषाक्त तत्त्व हटाएर किशोरीलाई घर पठाइएको छ। यद्यपि, सोमबार बीबीसीसँग कुरा गर्दै उनले अझै स्वास्थ्य समस्या बाँकी रहेको र पढाइमा कठिनाइ भइरहेको बताइन्। डा. सतीशका अनुसार उनी पूर्ण रूपमा निको हुन अझै समय लाग्नेछ।

पारोले मिर्गौला र शरीरलाई कसरी असर गर्छ?
पारो प्राकृतिक रूपमा पाइने रासायनिक तत्त्व हो, जसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनस्वास्थ्यका लागि चिन्ताजनक शीर्ष १० रसायनको सूचीमा राखेको छ।

छालाको प्राकृतिक रङ निर्धारण गर्ने ‘मेलानिन’ नामक पिग्मेन्ट बन्ने प्रक्रिया रोकेर छाला गोरो देखाउन कतिपय क्रिममा पारो र सिसाजस्ता भारी धातुको प्रयोग गरिन्छ। डब्लुएचओका अनुसार पारोको सम्पर्कले स्नायु प्रणाली, पाचन प्रणाली, प्रतिरक्षा प्रणालीका साथै फोक्सो, मिर्गौला, छाला र आँखामा विषाक्त असर पुर्याउँछ।

मिर्गौलाभित्र रगत छानेर फोहोर बाहिर निकाल्ने र आवश्यक प्रोटिन शरीरमै रोक्ने स-साना एकाइलाई ‘ग्लोमेरुली’ भनिन्छ। पारोले यिनै एकाइमा क्षति पुर्याउँदा पिसाबमा प्रोटिन चुहिनेदेखि मिर्गौला फेल हुनेसम्मको जोखिम रहन्छ।

दिल्लीस्थित पीएसआरआई अस्पतालका वरिष्ठ नेफ्रोलोजिस्ट डा. रवि बन्सलले पछिल्लो दुई वर्षमा फेयरनेस क्रिमको प्रयोगपछि इम्युन रियाक्सन भएर मिर्गौला बिग्रिएका धेरै बिरामी देखेको बीबीसीलाई बताए।

छालाको माध्यमबाट शरीरभित्र पस्ने पारोले मिर्गौलासँगै अन्य अङ्गलाई पनि क्षति पुर्याउने उनको भनाइ छ। खुट्टा सुन्निने, रक्तचाप बढ्ने वा राति बारम्बार पिसाब लाग्ने जस्ता लक्षण देखिए तत्काल मिर्गौला परीक्षण गराउन उनले सुझाव दिएका छन्।

नियम के छ र क्रिम किन्दा के ध्यान दिने?
भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) तथा ‘कस्मेटिक्स रुल्स, २०२०’ को नियम ३९(५) अनुसार आँखावरिपरि प्रयोग हुने सामग्रीमा प्रिजर्भेटिभका रूपमा अधिकतम ७० पीपीएम र अन्य सौन्दर्य सामग्रीमा अनजानमा रहने पारोको मात्रा १ पीपीएमभन्दा बढी हुनुहुँदैन।

तर, ह्वाट्सएप र सामाजिक सञ्जालमार्फत सिधै बेचिने कतिपय ब्रान्डहरू सरकारी निगरानीबाहिर रहँदा उपभोक्ता जोखिममा पर्ने गरेका छन्।

दिल्लीको द्वारकास्थित डर्माहिल स्किन एन्ड क्लिनिकका छाला रोग विशेषज्ञ डा. नवजोत अरोडाले सबै फेयरनेस क्रिम हानिकारक नभए पनि तिनमा प्रयोग भएका सामग्री जाँच्नु अनिवार्य रहेको बताए।

“सामाजिक सञ्जालको विज्ञापन वा इन्फ्लुएन्सरको सिफारिसकै भरमा मात्र क्रिम किन्नु हुँदैन,” उनले भने, “यदि उत्पादनमा सामग्रीको सूची र निर्माता कम्पनीको विवरण छैन र केवल इन्स्टाग्राम वा ह्वाट्सएपमार्फत बेचिँदै छ भने त्यस्ता उत्पादनबाट टाढै रहनुपर्छ।”

त्यस्तै, समाचार संस्था एएनआईसँग कुरा गर्दै छाला रोग विशेषज्ञ डा. दीपाली भारद्वाजले सामाजिक सञ्जालमा सौन्दर्य सामग्रीको अनियन्त्रित प्रचारमा कडा निगरानी हुनुपर्ने बताइन्।

गोरो छालालाई मात्र सुन्दरताको मापदण्ड ठान्ने सामाजिक सोचसमेत यो समस्याको एक पाटो भएकाले विज्ञापनको भर पर्नुअघि छाला रोग विशेषज्ञको सल्लाह लिन र उत्पादनको सुरक्षा विवरण जाँच्न विज्ञहरूले आग्रह गरेका छन्।

मंसिर ९, २०८३ बुधबार ०९:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।