धन्न पूजा शर्मा थिइन् र इज्जत जोगियो, नत्र ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक एक्लै!

धन्न पूजा शर्मा थिइन् र इज्जत जोगियो, नत्र ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक एक्लै!

काठमाडौं : मिडियाकर्मीलाई निम्तो दिएर भव्य रूपमा फिल्मको शुभमुहूर्त गर्ने योजना बनाएका निर्देशक र निर्माताको मन फिल्मका मुख्य कलाकार नै नआइदिँदा कस्तो होला? करोडौंको लगानीमा बन्न लागेको फिल्म ‘एक्का तीन’को शुभमुहूर्तमा निर्देशक रुपेश तामाङले ठ्याक्कै यस्तै खल्लो र असहजता महसुस गर्नुपर्यो।

बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्टको पूजा गर्दै फिल्म ‘एक्का तीन’को शुभमुहूर्त गरिएको थियो। तर, यो समारोहमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ भने अनुपस्थित रहे। अर्की अभिनेत्री कविता नेपाली पनि निकै ढिलो गरी मात्र मन्दिर पुगिन्। 

त्यो दृश्य हेर्दा लाग्थ्यो- आफ्नै फिल्मको मुहूर्तमा निर्देशक कतै एक्लै त पर्ने होइनन्? धन्न, अभिनेत्री पूजा शर्मा भने समयमै उपस्थित भइदिइन् र निर्देशकको इज्जत थामिदिइन्। पछि कविता पनि आइपुगेपछि तीनमध्ये दुई कलाकारको उपस्थिति रह्यो र निर्देशकको मन थोरै भए पनि हलुका भयो।

मुख्य अभिनेता नदेखिएपछि सञ्चारकर्मीले निर्देशक तामाङलाई सोधे- ‘हिरो खोइ त?’ जवाफमा निर्देशक तामाङले मन भारी बनाउँदै भने, ‘उहाँ अहिले कतै सुटिङमै व्यस्त हुनुहुन्छ होला। व्यस्त भएकै कारण आउन नपाउनुभएको होला सायद।’

फिल्मको शुभमुहूर्त भइरहँदा निर्देशकलाई फिल्मको मुख्य कलाकार कता छन् भन्नेसम्मको जानकारी थिएन। तामाङ अनुमान लगाएर आफ्नो हिरो कता छन् भन्ने प्रश्नको जवाफ दिइरहेका थिए। उनको मलिन अनुहार देखेपछि मिडियाकर्मीले फेरि सोधे, ‘हिरो नआउँदा दुःख लागेको छ?’

यसमा रुपेशले आफ्नो चित्त दुखाइ लुकाउन सकेनन्। उनले भने, ‘हिरो नआउँदा दुःख त लागिहाल्छ नि! सिनेमामा सबै जना एकैसाथ उपस्थित भए राम्रो हुन्थ्यो। तर कहिलेकाहीँ सबैको आ-आफ्नो सेड्युल पनि हेर्नुपर्ने हुन्छ, काम सबैले गर्नैपर्छ।’

कलाकारहरूको समयतालिका राम्रोसँग नमिलाई हतारमा काम सुरु गर्दा निर्देशक स्वयंले पहिलो दिन नै यस्तो खिन्नता बेहोर्नुपरेको चर्चा पनि त्यहाँ चलेको थियो। निर्देशक रुपेश र अभिनेत्री पूजा शर्माको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले सँगै काम गरेको फिल्म ‘दान्भी’ बक्स अफिसमा असफल भएको थियो, जसका कारण निर्माताले ठूलो घाटा व्यहोर्नुपरेको थियो।

जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘एक्का तीन’मा रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङको लगानी रहनेछ भने राजु श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन्। फिल्मको पटकथा तथा संवाद सुमन गजमेरले लेखेका हुन्।

आगामी मंसिर २५ गतेबाट छायांकन सुरु हुने भनिएको यो फिल्म सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। शुभमुहूर्तमा जस्तो कलाकारको अनुपस्थिति अब सुटिङ सेटमा नदोहोरियोस् र सम्पूर्ण टिमको सक्रिय सहभागिता रहोस्- निर्माण युनिटलाई शुभकामना!

मंसिर १०, २०८३ बिहीबार १५:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।