चिनियाँ स्पेस स्टेसनमा पहिलो विदेशी, ‘सेनझोउ-२४’ बाट अन्तरिक्ष उडे पाकिस्तानका जिसान अली

चिनियाँ स्पेस स्टेसनमा पहिलो विदेशी, ‘सेनझोउ-२४’ बाट अन्तरिक्ष उडे पाकिस्तानका जिसान अली

एजेन्सी : चीनले बुधबार ‘सेनझोउ-२४’ अन्तरिक्ष मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ। प्रक्षेपणपछि यान तोकिएको कक्ष (अर्बिट) मा स्थापित भएसँगै चीनले यो मिसनलाई ‘पूर्ण रूपमा सफल’ घोषणा गरेको हो।

बेइजिङ एरोस्पेस कन्ट्रोल सेन्टरको उडान तथ्याङ्क र प्रतिवेदनअनुसार ‘सेनझोउ-२४’ अन्तरिक्ष यानले सामान्य रूपमा काम गरिरहेको छ। जियुक्वान स्याटेलाइट लन्च सेन्टरका अधिकारीहरूले पनि मिसन सफल भएको पुष्टि गरेका छन्।

यस मिसनअन्तर्गत तीन जना अन्तरिक्ष यात्रीलाई चीनको तियानगोङ स्पेस स्टेसनमा लगिँदै छ। तीमध्ये पाकिस्तानका अन्तरिक्ष यात्री मुहम्मद जिसान अली पनि छन्। उनी तियानगोङ स्पेस स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिक हुनेछन्।

अन्तरिक्ष क्षेत्रमा सहकार्य बढाउन चीन र पाकिस्तानले गत वर्ष एक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार जिसान अली तियानगोङ स्पेस स्टेसनमा करिब एक साता रहनेछन्। चिनियाँ अन्तरिक्ष यात्रीहरूको सामान्यतया ६ महिनाको मिसन अवधिको तुलनामा यो अवधि निकै कम हो।

आफ्नो यात्रालाई लिएर जिसान अलीले आफू ‘पाकिस्तानको नाम र २५ करोड पाकिस्तानीको अपेक्षा काँधमा बोकेर’ अन्तरिक्षमा गइरहेको बताएका छन्।

अन्तरिक्ष क्षेत्रमा आफ्नो शक्ति बढाउन चीनले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। सन् २०२४ मा चीनले चन्द्रमाको एक भागबाट पहिलो पटक माटो र चट्टानको नमुना पृथ्वीमा ल्याएर ठुलो उपलब्धि हासिल गरेको थियो।

चीनको लक्ष्य सन् २०३० सम्ममा चन्द्रमामा आफ्ना अन्तरिक्ष यात्री उतार्ने रहेको छ।

मंसिर ९, २०८३ बुधबार ०७:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।