थापाथलीबाट बोडेसम्म विस्थापित बालबालिकाको उही व्यथा : न पेटमा अन्न, न बास र पढाइको ठेगान !

थापाथलीबाट बोडेसम्म विस्थापित बालबालिकाको उही व्यथा : न पेटमा अन्न, न बास र पढाइको ठेगान !

काठमाडौं : बालबालिकादेखि वृद्धवृद्धासम्म भोकै; ‘यहाँबाट कहाँ जाने, के गर्ने?’ भन्ने अनेकौँ प्रश्नको चाङमा निराशा बोकेका अनुहारहरू। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र परिसर शुक्रबार बिहानैदेखि अनौठो सन्नाटा र छटपटी मिसिएको कोलाहलमय बनेको थियो।

सात महिनादेखि अस्थायी आश्रयमा निर्भर हुन बाध्य काठमाडौं उपत्यकाका सुकुम्बासी परिवारलाई स्थानीय प्रशासनले दुई दिनअघिदेखि नै सूचना टाँसेर र माइकिङ गरेर ‘आफ्नो बाटो लाग्न’ निर्देशन दिएको थियो। होल्डिङ सेन्टर खाली गर्न तोकिएको शुक्रबार दिउँसो २ बजेपछि के होला भन्ने अन्योल र संशय दिनभर कायमै रह्यो।

दुई दिनको अल्टिमेटम र संस्थाले उपलब्ध गराउँदै आएको खाना अचानक बन्द गरिएपछि शुक्रबार बिहानको दृश्य निकै कारुणिक बन्न पुग्यो। यसको सबैभन्दा ठूलो मारमा यहाँका कलिला बालबालिका परे।

बिहान ७ बजे चिया-बिस्कुट खानु, ९ बजे खाना खानु र बसमा चढेर विद्यालय जानु उनीहरूका लागि बल्ल सामान्य दिनचर्या बन्दै थियो। तर, शुक्रबारबाट त्यो दिनचर्या फेरि असामान्य बन्न पुग्यो। होल्डिङ सेन्टर खाली गराउने दबाब र त्यहाँ सिर्जना हुन सक्ने तनावपूर्ण परिस्थितिका कारण नै उनीहरूको पढाइ फेरि एकपटक अनिश्चित बनेको छ।

“आज त बस पनि उनीहरूलाई लिन आएन। नानीहरू स्कुल जाने अनि हामीलाई यहाँबाट लखेटियो भने झन् अप्ठ्यारो होला भनेर स्कुल नपठाउने नै सोचेका थियौँ”, वैशाख १२ गते थापाथली बस्तीबाट विस्थापित भएका मदन कामीले भने। उनका दुई सानी नानी छन्, जो काठमाडौंको विश्व निकेतन विद्यालयमा पढ्छन्।

सरकार र प्रशासनले उचित व्यवस्थापन गर्न नसक्दा आमाबुबासँगै विस्थापित हुन बाध्य बालबालिकाको शिक्षा पाउने संवैधानिक मौलिक हक एकै झट्कामा खोसिएको छ।

बस्ती भत्काएपछि पढाइ छुट्ने भन्दै चर्को दबाब परेपछि सरकारले विद्यालय बसको व्यवस्था गरिदिएको थियो। तर, अब फेरि बस र बास दुवै छुट्ने भएपछि नानीहरूको पढाइ रोकिन्छ कि भन्ने चिन्ताले उनलाई थप पिरोलेको छ।

बोडेको होल्डिङ सेन्टरमा थापाथलीबाट विस्थापित भई कीर्तिपुर हुँदै ल्याइएका १९ परिवारका ५९ जना आश्रय लिएर बसिरहेका छन्, जसमध्ये १७ जना बालबालिका छन्। तीमध्ये १२ जना विद्यालय जाने उमेर समूहका हुन्।

भोकाएका बालबालिका चिच्याउँदै आमाबुबासँगै सडकमा
यहाँ रहेका आमाबुबाहरूले त भोक र प्यास सहेरै शुक्रबार दिनभर प्रशासनको दबाबको प्रतिवाद गरे।

सरकारले स्थायी बसोबासको व्यवस्थापन नगरेसम्म होल्डिङ सेन्टर नछाड्ने अडान उनीहरूले लिए। तर, बालबालिकाका लागि भने दिन निकै सकसपूर्ण बन्न पुग्यो। उनीहरू आमाबुबाहरूकै लाइनमा बसेर आन्दोलनमा सहभागी भए।

होल्डिङ सेन्टरको गेटअगाडि खाली थाल र चम्चा बजाउनु, चिसो भुइँमा पलेटी कसेर लामो समय बसिराख्नु, नारा लेखिएका सेता कागज बोक्नु र ‘मुर्दावाद’ भन्दै चिच्याएर सुरक्षित भविष्यको माग गरिरहेका बालबालिकाको दृश्य निकै कारुणिक देखिन्थ्यो।

दिउँसो साढे १२ बजे थाल बजाएर गेटअघि बसेका उनीहरू निकै बेरसम्म उठेनन्।

राष्ट्रिय सुकुम्बासी मोर्चाका सदस्य र अभियन्ताहरूको सहभागितामा उनीहरूले सडकमै बसेर सरकारविरुद्ध नारा लगाए। दिउँसो १ बजेतिर बल्ल खान पाएको सुख्खा दालमोठ र चिउरा उनीहरूलाई निल्नसमेत गाह्रो भइरहेको देखिन्थ्यो। तैपनि, आमाबुबासँगै बसेका बालबालिकाको आवाज निकै ठूलो सुनिन्थ्यो।

करिब एक घण्टापछि भने एक भ्यान प्रहरी लाठी र बन्दुक बोकेर गेटअगाडि झर्यो र सरासर होल्डिङ सेन्टरभित्र छिर्यो।

कुनै नयाँ व्यक्तिदेखि पत्रकारसम्मलाई भित्र जान प्रतिबन्ध लगाइएको परिसरमा प्रहरी बन्दुकसहित छिरेको बालबालिकाले हेरिरहे। प्रहरीको आगमनपछि सुकुम्बासीहरूले आक्रोश पोखे र आफूहरूलाई ननिकाल्न बिन्ती पनि गरे।

यी सब दृश्यका साक्षी तिनै बालबालिका फेरि बन्न पुगे।

घडीले २ बज्ने संकेत गर्दै गर्दा थप प्रहरीको आउजाउ जारी रहेपछि वैशाख १२ बिहान ६ बजेदेखि थापाथलीलगायत बागमती किनारका बस्तीमा जे भयो, त्यही दोहोरिने हो कि भन्ने त्रास बढेको थियो। तर, भित्र छिरेका प्रहरी बाहिर आएनन्। भोकाएका सुकुम्बासीहरूले गेटबाहिरै बसेर दालमोठ-चिउरा खाँदै प्रतिरोध जारी राखे।

एकै झट्कामा फेरि खोसिएको पढाइ
नेपालको संविधानको धारा ३९ र बालबालिकासम्बन्धी ऐन, २०७५ ले प्रत्येक बालबालिकाको आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा पाउने हकलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। साथै, बालबालिकामाथि हुने कुनै पनि प्रकारको अवहेलना, शोषण वा आधारभूत आवश्यकताबाट वञ्चित गर्ने कार्यलाई कानुनले दण्डनीय मानेको छ।

होल्डिङ सेन्टर खाली गराउने प्रशासनिक दबाबमा खानालगायत अत्यावश्यक सुविधा रोकेर बालबालिकालाई विद्यालय जानबाट वञ्चित गर्नु उनीहरूको शैक्षिक अधिकारमाथिको सीधा अतिक्रमण हो। आपत्कालीन वा संवेदनशील अवस्थामा समेत बालबालिकाको शिक्षा र पोषण निरन्तर रहने वातावरण मिलाउनु राज्य र सरोकारवालाको प्राथमिक दायित्व हो।

बोडेमा बालबालिका आफैँ राजनीतिक नारा लगाउने रहरले सडकमा आएका होइनन्। बरु, महिनौँदेखि घरविहीन बनाइएको, घरीघरी खानाबाट वञ्चित गरिएको, साथीहरू छुटेको, पढाइसँगै सुरक्षित भविष्यको टुङ्गो नभएको र यही अस्थायी आश्रय पनि खोसिने डरले उनीहरूलाई अभिभावककै साथ लाग्न विवश बनाएको देखिन्छ।

यस्तो अवस्थामा बालबालिकालाई भोक र तनावपूर्ण प्रदर्शनबाट जोगाई सुरक्षित स्थान र पठनपाठनमा फर्काउने जिम्मेवारी राज्य र अभिभावक दुवैको हो। तर, राज्यले लामो समयदेखि अल्झाएर समाधान ननिकाल्दा समस्या सुल्झिनुको साटो झन् बल्झिरहेको छ।

चिसोमा दिनभर ती साना नानीहरू भोकै आमाबुबासँगै धर्ना र विरोध प्रदर्शनमा उत्रिए। उनीहरूलाई न राज्यको भूमि नीति थाहा छ, न स्थानान्तरणको प्राविधिक जटिलता नै।

तैपनि निराश र आक्रोशित आमाबुबाको रोइरहेको अनुहार हेरेर उनीहरूलाई यत्ति थाहा छ- अहिले आफूहरूको बस्ने कुनै ठेगान छैन। कक्षा १ देखि ५ सम्म पढ्ने बालबालिकाले आफ्ना आमाबुबा छोड्न मानेका थिएनन्; अभिभावकले जे गर्छन्, त्यही गर्दै सँगै बसिरहेका थिए।

साँझसम्म पनि होल्डिङ सेन्टरको अवस्था सामान्य बन्न सकेन। राति उठाएर पहिले झैँ सबैलाई भ्यानमा हालेर बाहिर छोडिदिने पो हो कि भन्ने डर उनीहरूमा थियो। दिनभरको थकान र मानसिक तनावले सबैजना गलेका देखिन्थे। जिल्ला प्रशासन कार्यालय, भक्तपुरले भने बल प्रयोग नगर्ने तर यसैगरी कुनै सेवासुविधा नदिएरै होल्डिङ सेन्टर खाली गराउने अडान लिएको छ।

के भन्छ राष्ट्रिय बालअधिकार परिषद् ?
आमाबुबा नै सडकमा आएपछि स्वतः बालबालिका पनि सडकमा आउने भएकाले आमाबुबाको उचित व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द बताउँछन्।

“राज्यले आमाबुबाको व्यवस्थापन कहाँ गर्ने र उनीहरूको मानव अधिकारको संरक्षण कसरी गर्ने भनेर हेर्नुपर्छ। आमाबुबाको व्यवस्थापन भएपछि बालबालिकाहरू स्वतः संरक्षित हुन्छन्,” सूचना अधिकारी चन्द भन्छन्, “त्यसैले छिटोभन्दा छिटो राज्यले पहिला आमाबुबाकै व्यवस्थापन गर्नुपर्छ।” सात महिनाभन्दा बढी समयदेखि आमाबुबासँगै मानसिक तनावमा रहेका बालबालिकाको सुरक्षा र संरक्षणमा राज्यले ढिला गर्न नहुने उनले बताए।

सरकारले वैशाख १२ गते थापाथलीलगायत काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएको थियो। १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको सरकारले सात महिना बितिसक्दा पनि समाधान दिन सकेको छैन, बरु बाँकी रहेका होल्डिङ सेन्टरबाट समेत उनीहरूलाई विस्थापित गर्न खोजिँदैछ।

यस्तोमा अब कति दिन भोकै बसेर होल्डिङ सेन्टरबाट निस्कनुपर्ने हो, कसैलाई थाहा छैन। यी साना नानीहरूको भोको पेट, आन्दोलनमा होमिनुपरेको बाध्यता र छुटेका कक्षाकोठाको हिसाब राज्यले कहिले र कसरी बुझाउँछ भन्ने प्रश्न अझै अनुत्तरित छ।

मंसिर १२, २०८३ शनिबार ११:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।