रसुवा बाढीपीडितको गुम्बाको आश्रय पनि छुट्यो : न घर फर्कने बाटो, न शहरमा बास
काठमाडौं : भदौ १० गते रसुवादेखि त्रिशूलीसम्म आएको विनाशकारी बाढीपछि उद्धार गरी काठमाडौंका विभिन्न गुम्बा र अस्थायी आश्रयस्थलमा राखिएका रसुवावासी अहिले अर्को संकटमा परेका छन्।
लामो समय गुम्बा तथा विभिन्न संघसंस्थाको सहायतामा गुजारा चलाउँदै आएका उनीहरू गुम्बाको नियमित पूजा र गतिविधि सुरु भएपछि बाहिरिन बाध्य भएका हुन्। तर, सरकारले अस्थायी बसोबासको कुनै विकल्प नदिँदा विस्थापितहरू कोठा भाडा, एक्लोपन, मानसिक तनाव र दैनिक गुजाराको गम्भीर संकटमा परेका छन्।
बाढीपछि उद्धार गरिएका करिब एक हजारभन्दा बढी प्रभावित काठमाडौंको नागार्जुनस्थित गोसोक (पहेँलो) गुम्बा, स्वयम्भूस्थित मुस्ताङ गुम्बा र नुब्री गुम्बा तथा सुन्दरीजलस्थित एक व्यक्तिको घरमा रहेको आश्रयस्थलमा बस्दै आएका थिए।
तीमध्ये स्वयम्भूका मुस्ताङ र नुब्री गुम्बा यसअघि नै खाली भइसकेका छन् भने १ सय ५७ परिवार आश्रित सुन्दरीजलस्थित घर पनि शनिबार पूर्ण रूपमा खाली भइसकेको छ। स्याफ्रुबेँसीका बासिन्दा आश्रित गोसोक गुम्बाले मात्र अझै केही महिना बस्ने अवधि थपिदिएको जनाइएको छ।
मुस्ताङ गुम्बामा मात्र गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेका १५३ परिवारका ४ सय ११ जना प्रभावित आश्रित थिए। दुई महिनाभन्दा बढी समय गुम्बाको आश्रयमा बसेर निस्कँदासम्म पनि सरकारले अस्थायी बसोबासको विकल्प नबनाउँदा निकै निराश भएको टिमुरेकी स्थानीय छेदेन डोल्मा घले बताउँछिन्।

टिमुरेका स्थानीयले आफ्नै पहलमा ‘रसुवा हिम सुनामी व्यवस्थापन समिति’ समेत बनाएका छन्। यस समितिले बाढी प्रभावितको तथ्याङ्क संकलन, राहत व्यवस्थापनसँगै विभिन्न संघसंस्थाको सहकार्यमा सहजकर्ताको भूमिका निभाइरहेको छ। समितिकी कोषाध्यक्षसमेत रहेकी घलेका अनुसार यही समितिमार्फत टिमुरेका स्थानीय रसुवामै बस्न सकिन्छ कि भनेर ठाउँ हेर्न र बस्नसमेत गएका छन्।
“दुई महिनाभन्दा बढी समय हामीलाई गुम्बाले बस्न दियो, त्यहाँबाट पनि निस्कनुपर्दा निकै तनाव भयो,” घलेले भनिन्, “फर्केर त्यही खोलाको बगरमा जाँदा बाटो बनेको छैन, त्यहाँ बस्ने सामान्य अवस्था पनि छैन। एकै ठाउँमा आएर बस्दा बरु सँगै साथमै थियौँ, तर गुम्बाबाट निस्किएपछि सब एक्लाएक्लै भयौँ। मानसिक रूपमा झन् गाह्रो भएको छ।”
आश्रयको सरकारी विकल्प खै ?
घलेका अनुसार उनीहरूले कात्तिक २२ गते लक्ष्मीपूजाको दिनमै गुम्बा छोड्नुपरेको थियो। गुम्बाबाट निस्किएको दुई साता बितिसक्दासमेत आधा दर्जनभन्दा बढी परिवार डेरा नपाउँदा अझै आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्।
गाउँका सबैलाई जोड्न सामाजिक सञ्जालमा समूह बनाइए पनि छरिएपछि ग्रुप च्याटमा सीमित स्थानीय मात्र सक्रिय हुँदा को, कहाँ र कसरी बसिरहेका छन् भन्ने सम्पर्कमा आउन गाह्रो भइरहेको उनी सुनाउँछिन्।
टिमुरेका १० कक्षाभन्दा मुनि अध्ययनरत १७० जना बालबालिका बाढी आउनुअघिदेखि नै काठमाडौंमा आवासीय रूपमा पढ्दै आएकाले बाढीमा जीवित रहन सकेको घलेले बताइन्।
टिमुरेबाट बाढीमा उद्धार भई आएका बालबालिका नगन्य मात्र छन्। बीचमा परिवार र आफन्त काठमाडौं आउँदा केही समय उनीहरूसँगै गुम्बातिर आएका बालबालिकाको मनोविज्ञानमा थप असर नपरोस् भनेर अहिले सबैलाई आ-आफ्नै पुरानै विद्यालयमा पठाइसकिएको छ।
मुस्ताङ गुम्बाको गेट नजिकै काठमाडौं महानगरपालिका-१५ ले उपलब्ध गराएको स्थानमा अहिले टिमुरेको वडा कार्यालय सञ्चालन भइरहेको छ। नागरिकताको सिफारिससहित वडास्तरका अन्य महत्वपूर्ण सरकारी कागजात बनाउने काम अहिले यहीँबाट भइरहेको छ।

स्थलगत अवलोकनका क्रममा मुस्ताङ गुम्बा परिसरमा विस्थापितहरूका लागि विभिन्न संस्थाले उपलब्ध गराएका सामग्री हटाइसकिएको र बाढीमा परेर ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि पूजा भइरहने स्थलमा गुम्बाकै नियमित पूजा भइरहेको देखियो। नुब्री गुम्बामा भने ताला नै लगाएर राखिएको थियो।
नुब्री गुम्बाका अध्यक्ष छेवाङ लामाका अनुसार सुरुमा २०४ जना बाढी प्रभावित त्यहाँ बसिरहेका भए पनि एउटा विशेष पूजामा त्यो संख्या बढेर ९०० सम्म पुगेको थियो। रात बिताउने रसुवावासी कम भए पनि खाना खाने समयमा संख्या निकै बढ्ने गर्थ्यो।
गुम्बाबाट हटेपछि उनीहरू कहाँ गए भन्ने आफूलाई जानकारी नभएको अध्यक्ष लामाले बताए। “त्यस्तो विपद्को बेला सहयोग गर्नुपर्छ भनेर गुम्बा र मेरो व्यक्तिगत तवरबाट सकेको सहायता गर्यौँ,” उनले भने, “सधैँ त हामीले गर्न सक्दैनौँ, अब सरकारले नै गर्ने हो। अहिले हाम्रोमा कोही पनि छैनन्, कहाँ-कहाँ गए भन्ने सरकारी रेकर्डमा होला नि!”
यता, शनिबार रसुवा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा भएको छलफलमा छ महिनाको कोठा भाडा उपलब्ध गराइदिने मौखिक सहमतिपछि आमाछोदिङ्मो गाउँपालिका हाकुबेँसीका विस्थापितहरूले सुन्दरीजलस्थित आश्रयस्थल खाली गरेको स्थानीय कार्साङ तामाङले बताए।
यद्यपि, छ महिनाको भाडा दिने विषयमा लिखित निर्णय भइसकेको छैन भने यसअघि संघीय मन्त्रिपरिषद्ले तीन महिनाका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भनेको रकमसमेत हालसम्म प्रक्रियामै रहेकाले कसैले नपाएको स्थानीयको भनाइ छ।
सुन्दरीजलमा आश्रित हाकुबेँसीका बालबालिकालाई भने यस शैक्षिक सत्रका लागि आवासीय रूपमै पढाउन ललितपुरको गोदावरीस्थित किटिनी माध्यमिक विद्यालयको जग्गामा रहेको अर्को छुट्टै भवन अस्थायी रूपमा उपलब्ध गराइएको छ, जहाँ हाकुबेँसीकै शिक्षकहरूले आफ्नै विद्यार्थीलाई पठनपाठन गराइरहेका छन्।
‘सांस्कृतिक र सान्दर्भिक मनोपरामर्श भएन’
बौद्ध धर्मअनुसार हिमाली भेगमा गरिने परम्परागत पूजाआजामा व्यस्त हुनुपर्ने समुदायलाई सांस्कृतिक तवरले उपयुक्त मनोपरामर्श नभएको स्थानीयको गुनासो छ।
“म आफैँ पनि मनोविज्ञानकी विद्यार्थी हुँ। सबैजसो आफन्त गुमाएका हामीलाई मृतकको नाममा जति पूजा गर्न सक्यो त्यति मनमा शान्ति हुने रहेछ,” कोषाध्यक्ष घलेले थपिन्, “तर त्यस्तो सांस्कृतिक र भावनात्मक पक्ष बुझेर मनोपरामर्श हामी कसैले पनि पाउन सकेनौँ।”
परिवार र आफन्तमा एक जना मात्र बाँकी रहेको अवस्थामा मानसिक रूपमा विक्षिप्त हुने दर बढिरहेको उनले बताइन्। उनका अनुसार यसरी एक्लो हुनेमा चार वर्षीय बालबालिकादेखि २४ वर्ष उमेर समूहका धेरै छन् भने कोही वृद्धवृद्धा मात्र छन्।
कतिपय साना बालबालिका राहत लिनसमेत आफैँबाहेक कोही नहुँदा एक्लै आउनुपर्ने अवस्था रहेकाले सरकारले उनीहरूलाई प्राथमिकतामा राखेर संवेदनशील हुनुपर्ने उनको तर्क छ।
रसुवा हिम सुनामी व्यवस्थापन समितिले संकलन गरेको टिमुरे क्षेत्रको तथ्याङ्कअनुसार बुवाआमा दुवै गुमाएका ५३ जना र आमा वा बुवामध्ये एक जना जीवित रहेका ५५ जना बालबालिका छन्।

“हामी गुनासो पनि के मात्र र कसको गर्ने? सर्वस्व गुमेका स्थानीय हुनुहुन्छ। हाम्रा लागि प्रधानमन्त्रीले एक शब्द पनि बोल्नुभएन,” घलेले भनिन्, “हाम्रा साथीहरूले सरकारलाई विश्वास गरेर प्रधानमन्त्री कोषमा सिधै सहयोग गर्नुभयो। तर, त्यो हाम्रो लागि कहिले प्रयोगमा आउला-नआउला भन्ने नै शंका लाग्न थालिसक्यो।”
टिमुरे क्षेत्रका धेरैजसो स्थानीय हिमालयवारपार व्यापार र सवारी चालक पेसामा आबद्ध रहेकाले बाढीपछि सबैको काम छुटेको छ।
रोजगारीको टुङ्गो नहुँदा सामान्य दिनचर्या चलाउनसमेत कठिन भएको छ। हाल विभिन्न संस्थाको सहयोगमा यहाँका महिलाहरूले सिलाइबुनाइको सीप सिकिरहेका छन् भने युवाहरूले सवारी चालक र बेकरी सपसम्बन्धी तालिमका लागि फारम भरिरहेका छन्।
आश्रयको विकल्प खोज्दै विपद् क्षेत्रमै
बाढीको सुरुवाती उद्धारपछि गोसोक गुम्बामा पुगेका विस्थापितहरूलाई रसुवा समाजका धेरै सदस्य थपिएपछि त्यहाँ बस्न अप्ठ्यारो भएको थियो।
त्यसपछि मुस्ताङ गुम्बाका पदाधिकारी गोसोक गुम्बामा पुगेर त्यहाँ बस्न गाह्रो भएका विस्थापितलाई मुस्ताङ गुम्बामा सारेका थिए। गुम्बाको पहलमा बसाइ र संघसंस्थाको जिम्मामा खाना चल्दा पूरै गाउँले साथमै रहेकाले विस्थापितले सामुहिकताको आड पाएका थिए भने राहत पनि सिधै गुम्बामा पुग्ने गरेको थियो।
तर, महिना बित्दै जाँदा केन्द्रीय सरकारले पुनःस्थापना र स्थायी बसोबासको निर्णय नगरेको र गुम्बाले पनि निश्चित समयपछि नियमित कार्यका लागि स्थान खाली गर्नुपरेपछि संकट थपिएको हो।
दशैं-तिहारपछि रसुवा नै फर्किएर स्थायी बसोबासको पहल गर्ने सल्लाह भइरहेकै बेला टिमुरेका बासिन्दाले टिमुरेबाट तीन-चार घण्टा पैदल दूरीमा पर्ने ‘खैदी’ क्षेत्रमा बस्ने ठाउँ हेरिरहेका छन्।
टिमुरेका कुल करिब १ सय ५२ परिवारमध्ये सुरुमा पाँच-छ जना प्रतिनिधि ठाउँ हेर्न गएकोमा गुम्बा छोड्नुपरेपछि कात्तिक ३० गतेदेखि ३८ परिवारका ४७ जना प्रतिनिधि खैदीमा टेन्ट टाँगेर बसिरहेको कोषाध्यक्ष घलेले जानकारी दिइन्। उनीहरूका लागि धुन्चेबाट खाना तथा आवश्यक सामग्रीको बन्दोबस्त भइरहेको छ।

“कहाँ बस्दा राम्रो हुन्छ भनेर हाम्रा गाउँलेहरू खैदीमा हेर्न जानुभएको हो। अहिले त त्यहीँ बस्ने भनेर नै जानुभएको हो, तर बिजुली, सडक केही छैन। टिक्न नै गाह्रो छ,” घलेले भनिन्, “यस्तो अवस्थामा त्यहीँ नै बस्छौँ भन्ने पनि हुँदैन होला। ठाउँ हेर्न जानुभएको यो दोस्रो पटक हो, अझै केही समय लाग्छ। स्थानीयलाई ठाउँ मन परेर बस्न योग्य छ भनेमा त सरकारले मान्यता देला, तर यसबारे स्थानीय सरकारबाहेक केन्द्रको सरकारलाई थाहा र चासो नै छैन।”
विपद्को करिब तीन महिना बितिसक्दा पनि आफ्नो गाउँ फर्कने क्रममा सामान्य पुलसमेत नबनेको देख्दा विस्थापितहरू झन् निराश भएका छन्।
हिँड्न गोरेटो बाटोसमेत नहुँदा भीरबाट हिँड्न धेरैले आँट गर्न सकेनन्, जसका कारण रसुवा फर्किएर बस्ने मनसाय बनाएका कतिपय स्थानीयले मन बदलेको घलेले बताइन्। स्याफ्रुबेँसीमा पुल नबनेका कारण अझै माथिसम्म बाटो खुलेको छैन।
उज्यालोमा प्रहरीको सहायतामा रसुवावासी बगरको बाटो हिँड्न बाध्य छन् भने रातको समयमा खोलाको डरले कोही हिँड्दैनन्।
“अहिले टिमुरेमा कोही र केही पनि छैन,” घलेले भनिन्, “काठमाडौंमा छरिएका हाम्रा समुदायलाई दिउँसो सँगै बस्न कुनै साझा ठाउँ उपलब्ध गराइदिन स्थानीय सरकारसँग आग्रह गरेका छौँ। त्यस्तो भएमा दिनभर आमाहरू सँगै बसेर बुन्ने काम गर्नुहुन्थ्यो, मन भुलाउनुहुन्थ्यो अनि रातको समयमा डेरामा फर्किनुहुन्थ्यो।”
मंसिर ७, २०८३ सोमबार ११:५५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।