डोजर चलेको सात महिनापछि पुरानै बस्तीमा फर्किए कोहलपुरका सुकुमबासी, १०८ परिवार अझै होल्डिङ सेन्टरमा

डोजर चलेको सात महिनापछि पुरानै बस्तीमा फर्किए कोहलपुरका सुकुमबासी, १०८ परिवार अझै होल्डिङ सेन्टरमा
सबै तस्विर : कविराज यात्री।

काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका-११ स्थित शान्तिनगरमा विस्थापित सुकुम्बासीहरूले त्रिपाल र टिनलगायतका अस्थायी संरचना तयार पारेका छन्।

घर भत्काइएको करिब सात महिना बितिसक्दा समेत सरकारले स्थायी बसोबासको व्यवस्थापन नगरेपछि उनीहरू यसअघि आ-आफ्नो घर भएकै ठाउँमा संरचना बनाएर बस्न थालेका हुन्।

काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउन सरकारले बलजफ्ती गरिरहेको मौका छोपेर कोहलपुर नगरपालिकाले पनि बस्ती हटाएको थियो।

कोहलपुर नगर विकास समितिको नाममा रहेको २८ बिघा ऐलानी जग्गामा बस्ती बसाएको दाबीसहित स्थानीय प्रशासनले त्यहाँ बसिरहेका ७५१ घरपरिवारलाई तीन दिन लगाएर हटाएको थियो।

काठमाडौंमा सरकारले सुरक्षा बल प्रयोग गरेको विरुद्ध परेको रिटमा वैशाख २५ गते सर्वोच्च अदालतले विकल्प नदिई जबर्जस्ती बस्ती नहटाउन आदेश दिएको थियो।

तर, अदालतको आदेश आएकै भोलिपल्ट वैशाख २६ गते बिहान यहाँको बस्ती हटाइयो। केन्द्रकै सिको गर्दै विस्थापितको व्यवस्थापन गर्ने भनेर नजिकैको बसपार्कस्थित टर्मिनल भवनमा होल्डिङ सेन्टर नै बनाएर १ सय १५ परिवारलाई राखिएको थियो।

जसमध्ये १ सय ८ परिवार सात महिना बितिसक्दा पनि अझै होल्डिङ सेन्टरमै बसिरहेको नगरपालिकाले जनाएको छ। त्यहाँ आश्रय दिइएको बाहेक खानालगायत अन्य सबै व्यवस्था विस्थापित आफैँले गरिरहेका छन्।

होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई अरूसँग कुरा गर्न नदिने र बाहिरबाट कसैलाई पनि भित्र जान नदिने गरिएको विस्थापितहरूको भनाइ छ।

“हाम्रो घर भत्काइदिएको तीन महिना भइसक्दा पनि सरकारले कुनै व्यवस्थापन नगरेपछि हामीले विरोधस्वरूप पुरानै ठाउँमा त्रिपाल हालेर बस्न थाल्यौँ,” सोही ठाउँबाट विस्थापित भएका कविराज यात्रीले उकेरासँग भने, “भदौभित्रै समस्या समाधान गर्ने र जग्गा दिने भनिए पनि अहिले मङ्सिर लाग्दासमेत केही काम भएको छैन। त्यही भएर अहिले केही परिवार टिनकै संरचना बनाएर बस्न थालेका छौँ।”

नगरपालिकाले अस्थायी संरचना नबनाउन उनीहरूलाई खबरदारी गरिसकेको छ। तर, विस्थापितहरूले स्थायी बन्दोबस्त गरे ठाउँ खाली गर्ने, अन्यथा संरचना थपिँदै जाने अडान राखेका छन्। प्रतिरोधस्वरूप सुकुम्बासीहरू एकजुट भएर फेरि अस्थायी संरचना बनाउन थालेपछि भने नगरपालिकाले व्यवस्थापनका लागि थप पहल गरेको यात्री बताउँछन्।

२०६३ सालदेखि यहाँ बसिरहेका यात्री कोहलपुरका भूमिहीन तथा दलित सुकुम्बासी सङ्घर्ष समितिका सचिवसमेत हुन्। नगरपालिकाको तथ्याङ्कमा आफू सुकुम्बासी नै रहेको उनको दाबी छ। घर भत्काइएपछि उनी पनि होल्डिङ सेन्टरमा आश्रय लिन पुगेका थिए। तर, पर्याप्त ठाउँ र सुरक्षा नहुँदा उनलाई त्यहाँ नराखिएपछि हाल उनी बजार नजिकै डेरामा बसिरहेका छन्।

“गर्मीमा लामखुट्टेले हैरान पार्यो, अब चिसो बढ्दै छ। त्यहाँ बस्नेबाहेक खानादेखि सबै खर्च आफ्नै हुन्छ। त्यसरी बिचल्ली भएर बस्नुभन्दा डेरामै बस्नु सुरक्षित होला भन्ने लाग्यो,” उनले थपे। होल्डिङ सेन्टर र डेरा बस्ती नजिकै रहेकाले धेरैको ज्यालामजदुरीको काम भने नरोकिएको उनले बताए।

उनका अनुसार विस्थापितहरूले डेरामा बस्नका लागि काठमाडौंमा जस्तो सरकारी रकम पाएका छैनन्। होल्डिङ सेन्टर खुला ठाउँमा भएका कारण विशेषगरी महिला तथा बालबालिकालाई निकै समस्या हुने गरेको उनको भनाइ छ। नगरपालिकाका अनुसार उक्त बस्तीमा २७ जिल्लाका, विशेषगरी कर्णाली प्रदेशका नागरिक बसोबास गर्दै आएका थिए।

‘यो सिंहदरबार होइन भन्नुभयो’
नगरपालिकाले घर भत्काएपछि करिब सात महिनादेखि डेरामा बस्न बाध्य भएका अर्का स्थानीय हुन्, वीरबहादुर परियार। घर भत्किएको दिनको अपमान उनले बिर्सेका छैनन्। त्यसपछि पनि स्थायी बसोबास र व्यवस्थापनबारे कुरा राख्दा पटक-पटक अपमानबोध सहनुपरेको उनी सुनाउँछन्।

“हाम्रो घर भत्काउने बेलामा पनि तिमीहरूलाई हात्ती लगाएर निकाल्छु, आर्मी परिचालन गरेर निकाल्छु भनेर धम्क्याइएको थियो,” उनले भने, “अहिले पनि पटक-पटक वार्ता गरौँ भन्दा ‘तिमीहरू यहाँका नागरिक नै होइनौ, बाहिरबाट आएका अनागरिकहरू आन्दोलन गर्नका लागि यो सिंहदरबार होइन’ भन्नुहुन्छ। हामीसँग केही विकल्प नभएपछि भदौ पहिलो साता त्रिपाल हालेर दबाब दियौँ।”

उनका अनुसार त्यसपछि नगरपालिकाले भित्रकै जग्गामा बसोबास मिलाउने भन्दै दुई ठाउँसमेत हेरेको थियो। तर, कसलाई कहाँ र कसरी जग्गा उपलब्ध गराउने भन्ने ठोस निर्णय हुन सकेन।

सुरुमा भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित र त्यसपछि मात्र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने कुरा भएको छ। परियारको नाम भने नगरपालिकाको ‘अव्यवस्थित’ सूचीमा देखिएको थियो।

“नगरपालिकाले अर्को ठाउँमा सिफ्ट गर्ने भन्ने कुरा भएको छ, तर कहिले, कहाँ र कसरी भन्ने खुलाइएको छैन। मङ्सिर १५ गतेसम्म काम भएन भने हामी फेरि आन्दोलनमा उत्रिनुपर्छ,” उनले भने। कपडा सिलाउने काम गर्ने उनी चार जनाको परिवारसहित साँघुरो कोठामा महँगो भाडा तिरेर बस्नुपर्दा निराश छन्। उनी १६ वर्षदेखि यस बस्तीमा बस्दै आएका थिए।

फुटबल चौर बनाउने भन्दै सात सय परिवारको घर तोडफोड गरिएको क्षेत्र अहिले पनि भग्नावशेष नै छ। सुकुम्बासीले नै बनाएका अस्थायी संरचनाबाहेक भत्किएका घरका टुक्रा र डोजरले किचिएका सामान जस्ताको तस्तै छन्। बस्ती भत्काएपछि नगरपालिकाले भग्नावशेषसमेत सरसफाइ नगरेको उनले बताए।

लगत सङ्कलनको प्रमाणीकरण अझै भएन
स्थानीय सरकारले २०७७ सालदेखि नै यो बस्ती उठाउन खोजे पनि स्थानीयको प्रतिरोधका कारण सकेको थिएन। तर, नयाँ सरकार बनेलगत्तै काठमाडौंका नदी किनारका बस्ती हटाउँदा फैलिएको त्रास देखेर नै नगरपालिकाले बस्ती उठायो। त्यतिबेला स्थानीयले पहिलेको जस्तो प्रतिरोध गर्न सकेनन्।

२०८० साल भदौ १२ गते नगरपालिकाले नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि फारम भराएको थियो। नगरपालिकाको सोही तथ्याङ्कअनुसार ४१४ जनाले अव्यवस्थित बसोबासी, ११६ जनाले भूमिहीन सुकुम्बासी र १७२ जनाले भूमिहीन दलितका रूपमा फारम भरेका थिए।

उक्त लगत प्रमाणीकरण गरी लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउनुपर्नेमा नगरपालिकाले पहिले बस्ती भत्काउने कामलाई प्राथमिकता दियो। बस्ती नै नरहेपछि तितरबितर बनेका स्थानीयको अहिलेसम्म पनि लगत प्रमाणीकरण भएको छैन।

यहाँका पीडितहरूले ‘डोजर पीडित सङ्घर्ष समिति’ समेत गठन गरेर पटक-पटक काठमाडौंसम्म न्याय माग्न आइसकेका छन्, तर कतैबाट सुनुवाइ भएको छैन।

नगरपालिकाले समेत हालसम्म कति सङ्ख्यामा लगत प्रमाणीकरण भयो भन्ने यकिन तथ्याङ्क उपलब्ध गराउन सकेन। यहाँबाट विस्थापित भएकाहरू अधिकांश बाँकेबाहिरका जिल्लाका भएकाले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न समय लाग्दा व्यवस्थापनमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ।

कोहलपुर नगरपालिकाका तर्फबाट सुकुम्बासी बस्ती व्यवस्थापन सम्पर्क व्यक्ति रहेका दिलबहादुर थापा जग्गा व्यवस्थापनका लागि जग्गा हेर्ने र छानबिनको काम टुङ्ग्याउने प्रक्रियामै रहेकाले ठोस निर्णय हुन बाँकी रहेको बताउँछन्।

बाहिरका पालिकाबाट लगत प्रमाणीकरण हुन समय लागेकाले व्यवस्थापनमा कठिनाइ भइरहेको उनको भनाइ छ। होल्डिङ सेन्टरमा बसिरहेकाहरूको हकमा निर्णय हुन बाँकी रहेको र उनीहरूको व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टर कायम रहने उनले स्पष्ट पारे।

“यहाँ ६९ पालिकाका बासिन्दा बसोबास गरिरहनुभएको छ। हामीले जिल्ला भूमि समस्या समाधान समितिसँग पनि समन्वय गरिरहेका छौँ। सम्बन्धित पालिकाले चासो राखेर चाँडो तथ्याङ्क पठाइदिनुभएको भए अझै सहज हुने थियो”, थापाले भने।

कोहलपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेले यसबारे निरन्तर छलफल गरिरहे पनि व्यवस्थापनको काम चुस्त नहुँदा विस्थापितहरू थप मारमा परेका छन्।

मंसिर ११, २०८३ शुक्रबार १३:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।