टिचिङ अस्पतालको खरिदमा मिलेमतोको जालो, साढे ८ करोडको टेण्डरका अधिकांश स्पेशिफिकेशन लक्ड

टिचिङ अस्पतालको खरिदमा मिलेमतोको जालो, साढे ८ करोडको टेण्डरका अधिकांश स्पेशिफिकेशन लक्ड

काठमाडौं : त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले २०८३ असोज २३ मा एकै दिन करिब  ८ करोड ३६ लाखमा नौ किसिमका मेसिन, औजार तथा उपकरण खरिद गर्नेगरी अगाडि बढाएको अधिकांश टेन्डरका सर्त निश्चित उत्पादक कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी बनाइएको खुलेको छ।

त्रिवि शिक्षण अस्पतालले २०८३ असोज २३ मा ‘सिलबन्दी बोलपत्र आह्वान’को सूचना प्रकाशित गर्दै एकै दिन करिब ८ करोड ३६ लाखको नौ किसिमका मेसिन, औजार तथा उपकरणको टेण्डर प्रक्रिया अगाडि बढाएको छ।

उकेराको अध्ययनमा अधिकांश मेसिन तथा उपकरणको प्राविधिक स्पेशिफिकेशन माइन्डरेका उत्पादकमात्र योग्य हुने सर्त राखेर बनाइएको खुलेको छ। अर्कोमा नाकासिशी इन्कको उत्पादनका प्राविधिक बुँदाहरू राखेर लक्ड गरिएको छ। यसैगरी कार्लजस्टोर्ज, पेन्टाक्स र ‘इर्वे’ सँग लक्ड गरेको देखियो।

नेपालमा उपकरण उत्पादन हुन्न। यस्ता उत्पादकहरूको नेपालमा रहेका सप्लायर्सहरुले प्रभावमा पारेर खरिद मापदण्डमा खेलेर आफू अनुकूल सर्तहरू राख्न लगाउने र आर्थिक चलखेलका आधारमा टेण्डर पार्ने गरेको देखिन्छ।

सोही अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली बन्द रहेको समयमा कागजी रूपमा अगाडि बढेका खरिदका मापदण्ड संशोधन नभई प्रक्रिया अगाडि बढे सेटिङ अनुसारकै सप्लायर्स कम्पनीले टेण्डर पाउने करिब निश्चित देखिन्छ।

अस्पतालले टेण्डर आह्वान गरेको नौ किसिमका मेसिन, औजार तथा उपकरणमा करिब एक करोड ६४ लाखको ‘सी-आर्म मेसिन’ तीन सेट, करिब ५४ लाखको ‘डिआर एक्स-रे मेसिन’ एक सेट, करिब एक करोड १४ लाखको ‘एनेस्थेसिया मेसिन चार सेट, करिब ७६ लाखको ‘स्पाइन इन्डोस्कोपी (न्यूरो सर्जरीका लागि)’ एक सेट छन्।

त्यसैगरी करिब ८४ लाखको ‘भेन्टिलेटर मेसिन (फर पेड-न्यूरो सर्जरी)’ तीन सेट, करिब ७६ लाखको ‘ट्रान्सक्रानियल डप्लर’ एक सेट, करिब ९६ लाखको ‘ह्याण्ड इन्स्ट्रुमेन्ट सहितको ल्याप्रोस्कोपि’ मेसिन एक सेट, करिब ४८ लाखको ‘सिस्टोस्कोपि टीयूआर एन्ड जेनेरेटर’ दुई सेट र करिब एक करोड २४ लाखको ‘पोर्टेबल यूएसजी मेसिन’ तीन सेट खरिदका लागि अस्पतालले असोज २३ मा टेण्डर आह्वान गरेको हो।

यो टेन्डरको बोलपत्र बुझाउने अन्तिम मिति ८ गते मंगलबार मध्यान्ह १२ बजे सम्मलाई छ भने सोही दिन दिउँसो एक बजे टेण्डर खुल्ने समय तोकिएको छ।

खरिद प्रक्रियामा देखिएको बदमासीबारे उकेराले अस्पतालका निर्देशक  डा. सुभाष आचार्यसँग जिज्ञासा राखेको थियो। उनले कम्तीमा तीन वटा मेसिन उत्पादक कम्पनीका सप्लायर्सले टेण्डर प्रस्ताव नगरी प्रतिस्पर्धा हुने अवस्था नभए टेण्डर प्रक्रिया अगाडि नबढ्ने बताए।

विभिन्न विभागका लागि खरिद हुने सामग्रीको स्पेशिफिकेशन प्राविधिक टिम र सम्बन्धित विभागका विज्ञले नै बनाउने भएकाले प्राविधिक स्पेशिफिकेशन कसरी बन्यो भन्ने विषय आफूलाई जानकारी नहुने निर्देशक डा. आचार्यले दाबी गरे।

OOO

अस्पतालबाट हुने खरिदमा निर्देशक निर्णायक र उप-निर्देशक सहयोगी हुन्छन्। हाल त्रिवि शिक्षण अस्पतालको निर्देशक डा. सुभाष आचार्य छन् भने उपनिर्देशकमा डा. गोपाल सेढाइँ र डा. पवनराज चालीसे छन्।

खरिदमा बायोमेडिकल इन्जिनियरको भूमिका पनि निर्णायक हुन्छ नै। शिक्षण अस्पताल महाराजगन्जमा स्थायी बायोमेडिकल इन्जिनियर रुषा आचार्य र करारका बायोमेडिकल इन्जिनियर अभयराज कर्णिकार छन्।

अस्पताल स्रोतका अनुसार रुषा र अभयराजसँगै टेक्निकल अफिसर गोपाल न्यौपाने मिलेर खरिदको स्पेशिफिकेशन बनाएका हुन्। बायोमेडिकल इन्जिनियर रुषा यस अगाडि पनि मिलेमतोमा हुने खरिदमा जोडिएको थिइन्।

पाँच वर्ष अगाडि बायोमेडिकल इन्जिनियरद्वय रुषा र भावना बराल त्रिवि शिक्षण अस्पतालमै करार जागिरेका रूपमा थिए। शिक्षण अस्पतालमा कार्यरत रहँदा निश्चित सप्लायर्स कम्पनीलाई मात्रै सहज हुने मापदण्ड बनाएको देखिएपछि अस्पताल प्रशासनले उनीहरूको करार २०७७ चैत बाट नवीकरण नगरेपछि बिदा भए। पछि रुषा लोकसेवा परीक्षामार्फत स्थायी बायोमेडिकल इन्जिनियरका रूपमा स्थायी जागिरे भएर पुन शिक्षण अस्पतालमा फर्किएकी हुन्।

OOO

खरिदमा भएको मिलेमतोका केही तथ्यहरू हेरौँ।

अस्पतालले करिब एक करोड १४ लाखमा चार सेट ‘एनेस्थेसिया मेसिन’ किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेसिफिकेशन मेसिन उत्पादक चिनिया कम्पनी ‘माइन्डरे’सँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाएको देखियो।

अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ‘एनेस्थेसिया मेसिन’ उत्पादक कम्पनी ‘माइन्डरे’को ‘बाटो’ मोडलको सिरिजसँग मात्रै मिल्नेगरी लक्ड गरेर मापदण्ड बनाएको छ। मेसिनसँगै हुने मनिटर पनि मेसिन उत्पादक कम्पनी ‘माइन्डरे’कै ‘बेने भिजन’ मोडलसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरिएको छ।

अस्पतालले टेण्डर आह्वान गरेको एनेस्थेसिया मेसिनको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४’ को ‘आइभी’, ‘५’को ‘आइआई’, ‘६’ को ‘आइएक्स’, ‘७’ को ‘भी’ र ‘आइएक्स’लगायत ‘माइन्डरे’को एनेस्थेसियाको प्राविधिक स्पेशिफिकेशनसँग मात्रै मिल्नेगरी लक्ड गरेको देखियो।

एनेस्थेसिया मेसिनको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४’ को ‘आइभी’ मा ‘इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड एन्ड न्यूमेटिकली ड्रिभन-०२ एन्ड एयर (स्विच फंशन) ड्राइभिङ मोड एन्ड ड्राइभिङ ग्यास भेन्टिलेटर’ उल्लेख छ। यो मापदण्ड माइन्डरेकै बाटो सिरिजसँग मिल्नेगरी बनाएको देखिन्छ। यो मापदण्ड राख्नुले माइन्डरे बाहेक अन्य उत्पादक कम्पनीका मेसिनलाई प्राविधिक चरणमा नै प्रतिस्पर्धामै फेल गराउने रणनीति देखिन्छ। ड्रिभन ग्यास स्विच बाहेक ‘इलेक्ट्रिकली ड्रिभन’ लगायतका प्रविधि पनि हुन्छन्।

अस्पतालले टेण्डर आह्वान गरेको एनेस्थेसिया मेसिनको प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘५’को ‘आइआई’ मा ‘सिस्टम सुड ह्याभ इलेक्ट्रिक प्रेसर गउगेस फर ०२, एन२० एन्ड एयर प्रेसर एन्ड सिलिन्डर ग्यास सोर्सेस’ उल्लेख थियो। सो बुँदा संशोधन गरेर ‘सुड ह्याभ इलेक्ट्रिक÷न्यूम्याटिक प्रेसर गउगेस फर ०२, एन२० एन्ड एयर प्रेसर एन्ड सिलिन्डर ग्यास सोर्सेस’ बनाइयो।

यो बुँदा झुक्क्याउने गरी संशोधन गरेको बाहेक तात्त्विक फरक देखिएन। किनकि बुँदा नम्बर र ‘४’ को ‘आइभी’ मा नै न्यूमेटिकली ड्रिभन समेत राखिएकाले सोही प्रविधिसँग नै मिल्नेगरी यो मापदण्ड राखिएको देखिन्छ।

यसबाट जुन मोडलको मेसिन ल्याए पनि माइन्डरेलाई नै लक्षित गरेर स्पेशिफिकेशन बनाएकाले उसैको नेपाली सप्लायर्सलाई नै टेण्डर दिने रणनीति देखिन्छ।

एनेस्थेसिया मेसिन शल्यक्रियाका लागि बिरामीलाई बेहोस बनाउने तथा शल्यक्रियापछि ब्युँताउन, शल्यक्रियाका क्रममा श्वासप्रश्वास गराउन र बेहोसी अवस्थालाई सन्तुलन राख्नेजस्ता कामको लागि प्रयोग हुन्छ।

८४ लाखमा तीन सेट ‘भेन्टिलेटर’ माइन्डरेलाई नै

अस्पतालले करिब ८४ लाखमा तीन सेट ‘भेन्टिलेटर मेसिन (फर पेड न्युरो सर्जरी)’ किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन पनि चिनिया उत्पादक कम्पनी ‘माइन्डरे’कै ‘एसभी८००’ मोडलसँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाइएको देखियो।

बालबालिका तथा नवजात शिशुका लागि प्रयोग हुने भेन्टिलेटरले आफैँ राम्ररी सास फेर्न नसक्ने बालबालिका तथा नवजात शिशुको फोक्सोमा नियन्त्रित दबाब तथा अक्सिजन पुर्याउने र शरीरबाट कार्बनडाइअक्साइड बाहिर निकाल्ने काम गर्छ।

यसैगरि अस्पतालले करिब करिब ९६ लाखमा एक सेट ‘ह्याण्ड इन्स्ट्रुमेन्ट सहितको ल्याप्रोस्कोपि’ मेसिन किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेसिफिकेशन पनि चिनिया मेसिन उत्पादक कम्पनी ‘माइन्डरे’कै विशेषगरी ‘यूएक्स७’ सिरिजलाई लक्षित गरी लक्ड गरेर बनाई उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति लिएको देखिन्छ।

‘ल्याप्रोस्कोपी’को बुँदा नम्बर ‘४’, ‘८’, ‘९’ र ‘४०’ जस्ता बुँदा माइन्डरेसँग लक्ड छन्। उदाहरणका रूपमा बुँदा नम्बर ‘८’ र ‘९’ हेरौँ।

‘ल्याप्रोस्कोपि’को बुँदा नम्बर ‘८’ मा ‘यो प्रणाली भविष्यमा ४के–३डी दृश्यावलोकन संरचनामा स्तरोन्नति (अपग्रेड) गर्न मिल्ने हुनुपर्ने र यसमा जुनसुकै बेला ३डी क्यामेरा हेड जडान गरेर ३डी थप्न सकिने उल्लेख छ।

माइन्डरे ‘यूएक्स५’ र ‘यूएक्स७’ सिरिजको मुख्य विशेषता नै एउटै क्यामेरा प्रोसेसरमा पछि ३डी क्यामेरा हेड जोडेर ४के ३डि मा अपग्रेड गर्न मिल्नु हो। त्यसैले यो लक्ड देखिन्छ।

त्यसैगरी बुँदा नम्बर ‘९’ मा अटोफोकस (स्वचालित फोकस) र एकै पटक छुँदा अप्टिकल जुम (वान टच अप्टिकल जुम) गर्ने सुविधाहरू जडान गरिएको हुनुपर्ने उल्लेख छ। यस्तो मापदण्डले मेसिन सञ्चालनमा थप सहजता हुनुका साथै शल्य चिकित्सकहरूलाई चाँडै फोकस मिलाउन मद्दत पुग्ने बताइएको छ।

यो बुँदा ठ्याक्कै माइन्डरेको मेसिनसँग नै लक्ड देखिन्छ। क्यामेरा हेडमै अटोफोकस र वान टच अप्टिकल जुम माइन्डरे ‘यूएक्स५’ र ‘यूएक्स७’ को मुख्य विशेषता (प्याटेन्टेड मार्केटिङ) भएकाले उसैलाई अनुकूल हुनेगरी लक्ड गरेको देखिन्छ।

अस्पतालले करिब एक करोड २४ लाखको तीन सेट ‘पोर्टेबल यूएसजी मेसिन’ किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन पनि माइन्डरेकै मोडल नम्बर ‘एमएक्स७’ लक्षित देखियो। पोर्टेबल यूएसजीमा दुई वटा स्क्रिन भएको र १० इन्च टच स्क्रिन भएको यूएसजी माइन्डरेकै एमएक्स७ सिरिजमा भएको र यूएसएफडिए भएकाले मापदण्ड  मुख्य लक्ड देखिन्छ।

कोरियन कम्पनीका सप्लायर्समैत्री स्पेशिफिकेशन

अस्पतालले करिब ५४ लाखमा एक सेट ‘डिआर एक्स-रे मेसिन’ किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन कोरियन मेसिन उत्पादक कम्पनी ‘डिआरजेम कर्पोरेसन’ को ‘जीएक्सआर’ सिरिजसँग मात्रै मिल्नेगरी लक्ड गरी बनाइएको खुल्यो।

यो टेन्डरमा प्राविधिक र आर्थिक दुवै किसिमले कोरियन उत्पादक कम्पनी ‘डिआरजेम’सँग मात्रै मिल्ने गरी स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्सलाई टेण्डर दिने रणनीति देखिन्छ।

‘डिआर एक्स-रे मेसिन’ले एक्स-रे विकिरण र डिजिटल सेन्सरको प्रयोग गरी मानव शरीरका भित्री अङ्ग तथा हड्डीहरूको डिजिटल तस्बिर तुरुन्तै कम्प्युटर स्क्रिनमा देखाउने काम गर्छ। यस किसिमको प्रविधिले परम्परागत रूपमा प्रयोग गरेर फिल्म धुलाउने झन्झट हटाएर कम विकिरणमै छिटो र स्पष्टरुपमा रोग पहिचान गर्न मद्दत गर्छ।

करिब ७६ लाखको ‘स्पाइन इन्डोस्कोपी पनि लक्ड

करिब ७६ लाखमा एक सेट ‘स्पाइन इन्डोस्कोपी (न्युरो सर्जरीका लागि)’ खरिद गर्ने गरी भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘एनएसके (नाकासिशी इन्क)सँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर लक्ड गरिएको खुल्यो।

यो विषयमा निश्चित सप्लायर्स कम्पनीलाई नै पर्ने गरी लक्ड भएको विषयमा कुरा उठेको त्रिवि शिक्षण अस्पतालकै खरिदमा संलग्नमध्ये एक कर्मचारीले उकेरालाई जानकारी दिए।

‘स्पाइन इन्डोस्कोपी’ विशेष गरी अत्यन्त सानो प्वाल बनाएर मेरुदण्ड र नसा सम्बन्धी जटिल समस्याका लागि प्रयोग हुन्छ। यो औजारले सानो प्वाल बनाएर मेरुदण्डको भित्री भागमा पठाइन्छ र भित्रको दृश्य मनिटर स्क्रिनमा हेर्दै विशेषगरी न्यूरो सर्जन चिकित्सकले नसामा थिचिएको भाग तथा समस्या हटाउने काम गर्छन्।

करिब ४८ लाखमा एक सेट ‘स्पाइन इन्डोस्कोपी (न्युरो सर्जरीका लागि)’ खरिद गर्ने गरी भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशन मेसिन पनि नाकासिशी इन्कसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर लक्ड गरेको देखियो।

४८ लाखको ‘सिस्टोस्कोपी टीयूआर एन्ड जेनेरेटर’ कार्लजस्टोर्जलाई

अस्पतालले करिब ४८ लाखको ‘सिस्टोस्कोपि टीयूआर एन्ड जेनेरेटर’ दुई सेट मेसिन किन्ने गरी गरेको टेन्डरको प्राविधिक स्पेसिफिकेशन मेसिन उत्पादक कम्पनी कार्लजस्टोर्जलाई लक्षित गरी लक्ड गरेको देखियो।

‘सिस्टोस्कोपि टीयूआर एन्ड जेनेरेटर’का बुँदा नम्बर ‘३.१’, ‘३.२’, ‘३.३’लगायत कार्लज स्टोरसँग मिल्नेगरी लक्ड गरेको देखिन्छ। उदाहरणका रूपमा बुँदा नम्बर ‘३.३’ हेरौँ।

बुँदा नम्बर ‘३.३’ को ३.२.२ र ३.२.३ जस्ता बुँदामा ‘ट्रु बाइपोलार प्रिन्सिपल ‘एक्टिभ’ र ‘रिटर्न’ इलेक्ट्रोड लुपमै रहनुपर्ने र यो टेलिस्कोप, बाहिरी खोल र वर्किङ एसेम्बलबाट पूर्ण रूपमा अलग (आइसोलेटेड) हुनुपर्ने जस्ता मापदण्ड राखिएको छ। यो यो कार्ल स्टर्जलाइ नै लक्षित गरेर बनाएको स्पेशिफिकेशन देखिन्छ। यो त एउटा उदाहरण मात्रै हो। अन्य विभिन्न बुँदासमेत लक्ड देखिन्छ।

‘सिस्टोस्कोपि टीयूआर एन्ड जेनेरेटर’ उपकरण मूत्ररोग तथा शल्य चिकित्सकले पिसाब नली, पिसाब थैली र प्रोस्टेट ग्रन्थीको रोग पहिचान तथा बिना चिरफार शल्यक्रिया गर्न प्रयोग गर्छन्।

एक करोड ६४ लाखमा तीन सेट ‘सी-आर्म मेसिन’

करिब एक करोड ६४ लाखमा तीन सेट ‘सी-आर्म मेसिन’ किन्ने गरी गरेको टेन्डरको  प्राविधिक स्पेशिफिकेशन भारतीय मेसिन उत्पादक कम्पनी ‘इडुसफ्ट हेल्थकेयर लिमिटेड’को ‘इर्वे’ ब्रान्डको सिरिजसँग मात्रै मिल्नेगरी लक्ड गरेर बनाई उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेण्डर दिने रणनीति देखिन्छ।

सी-आर्म मेसिन’ एक किसिमको चल्ने (मोबाइल एक्स-रे इमेजिङ उपकरण हो। यसले शल्यक्रिया तथा उपचार चलिरहेकै समयमा शरीरका भित्री हड्डी, जोर्नी तथा अङ्गहरूको प्रत्यक्ष एक्स-रे भिडियो तस्बिर मनिटर स्क्रिनमा देखाउने काम गर्छ। जसले स्क्रिनमा रोगको अवस्था हेरेर शल्यक्रिया गर्न सहज हुन्छ।

९६ लाखको ‘अपर जीआई इन्डोस्कोपी’ ‘पेन्टाक्स’सँग लक्ड

करिब ७६ लाखमा एक सेट ‘ट्रान्सक्रानियल डप्लर’ खरिदका लागि भएको टेन्डरको प्राविधिक स्पेशिफिकेशन पनि शंका रहित देखिएन। ‘ट्रान्सक्रानियल डप्लर’ मेसिनले मस्तिष्क भित्रका नसाको अवस्था तथा नसाको चाप मापन गर्न र विशेषगरी मस्तिष्कको नली साँघुरिएको तथा रगत जमेर बाटो थुनिएको अवस्था पत्ता लगाउन अनि पक्षघातलगायतको जोखिम पत्ता लगाउन प्रयोग हुन्छ। यो एक किसिमको ‘नन्–इनभेजिव’ अल्ट्रासाउन्ड हो।

अस्पतालले २०८३ असोज ३० गते पनि सात किसिमका मेसिन औजार तथा उपकरण खरिदका लागि टेण्डर आह्वा गरेको छ। जसमध्ये त्रिवि शिक्षण अस्पतालकै आधिकारिक स्रोतले बताए अनुसार करिब ९६ लाखमा खरिद हुन लागेको एक सेट ‘अपर जीआई इन्डोस्कोपी’को प्राविधिक स्पेशिफिकेशन मेसिन उत्पादक कम्पनी ‘पेन्टाक्स’सँग मात्रै मिल्नेगरी लक्ड गरेको देखियो।

मंसिर ७, २०८३ सोमबार २३:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।