सामाजिक नियमको कठघरामा देशको कानुन

सामाजिक नियमको कठघरामा देशको कानुन

सामाजिक सञ्जालमा केही दिनयता एउटा भिडियो भाइरल छ। भिडियोमा एक पुरुष आफ्नी सुत्केरी तथा नाबालिग श्रीमतीलाई कुटिरहेका छन्। सुत्केरी अवस्थामै ससुराबाट बलात्कृत भएको ती बालिकाले बताएकी छिन् र सासूको उपस्थितिमै लोग्नेबाट कुटाइ खाइरहेकी छिन्।

श्रीमतीलाई कुट्दै, तथानाम गाली गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने व्यक्ति बालिकाका कथित श्रीमान् हुन्। भिडियो सार्वजनिक भएको केही समयमै सुनसरी प्रहरीले कथित श्रीमान् र ससुरालाई पक्राउ गरी कानुनी प्रक्रिया सुरु गरेको छ। तर, के पक्राउ र उनीहरूलाई दिइने कानुनी सजाय मात्र पर्याप्त छ?

यसलाई एउटा घटना मात्र ठानेर चुप लागेर बस्ने हो कि सामाजिक संरचनामाथि प्रश्न उठाउने सिलसिलालाई नयाँ र गम्भीर रूपमा सोच्नुपर्ने समय आएको हो? यो घटनाका दोषीलाई कारबाही हुन्छ भनेर ढुक्कका साथ निदाउने हो वा सामाजिक नियमले स्वीकारेको सम्बन्धको जालोमा जेलिएर छोरीहरू अझै हिंसामा पर्नेछन् भनेर सचेत हुने हो?

खासमा यो घटनामा बलात्कारी को-को हुन्? नाबालिगका कथित श्रीमान् र ससुरा दुवै वा ससुरा मात्र? यो गम्भीर बहस र न्यायको विषय बन्नु जरुरी छ। जब बलात्कार र विवाहको सवाल उठ्छ, तब हाम्रो सामाजिक नियम र देशको कानुन आपसमा बाझिन्छन्।

नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकाको हकअन्तर्गत कुनै पनि बालबालिकालाई बालविवाह गर्न, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने व्यवस्था गरेको छ।

तर, नेपाली समाजमा बालविवाह कायमै छ, बालविवाहसँगै कथित वैवाहिक बलात्कार छ र समाजले यसलाई स्वीकारेको मात्र छैन, बचाउसमेत गरेको छ। कि त कानुनलाई यसको जानकारी नै छैन, कि त मूकदर्शक बनेर यो सब हेरिरहेको छ।

नेपालमा बालविवाह घटेको देखिए पनि अन्त्य हुन सकेको छैन। बरु यसको स्वरूप परिवर्तन भएको चर्चा हामीले गर्ने गरेका छौँ। पहिले मागी विवाहका रूपमा बालविवाह हुने गरे पनि आजभोलि सञ्चारको विकास र मोबाइल-इन्टरनेटमा बालबालिकाको पहुँचका कारण उनीहरू स्वयं भागेर विवाह गर्ने क्रम बढेको बताइन्छ। तर, यस विषयलाई अब फरक ढङ्गले हेरिनुपर्छ।

मोबाइल, इमेल, इन्टरनेट वा सामाजिक सञ्जाल चलाउँदैमा बालविवाह हुनुपर्ने कुनै ठोस कारण छैन। यसको मुख्य जड हाम्रो सामाजिक-आर्थिक स्थिति र शैक्षिक चेतनास्तरमै छ। नेपाली समाजले यस्ता विवाहलाई सहर्ष स्वीकार गरिदिने भएकाले न त कतै उजुरी पर्छ, न त बालबालिकामाथि हुने हिंसा नै बाहिर आउँछ।

यस सन्दर्भमा केही घटना हेरौँ :
एक :
झापाकी १९ वर्षीया सुजिता तीन बच्चाकी आमा हुन्। उनले १४ वर्षको उमेरमै फेसबुकमा भेटिएका ललितपुरका केटासँग प्रेमविवाह गरिन् र १५ वर्षमा छोरीलाई जन्म दिइन्।

उनकै शब्दमा, रक्सी खाएर कुटिरहने लोग्नेलाई छोडेर उनी माइत बसिन्। त्यही समयमा अर्का अधबैँसे पुरुषसँग सम्पर्कमा आइन् र भागी विवाह गरिन्। समाजको भनाइअनुसार त्यहाँ पनि उनको घर बस्न सकेन।

३-४ महिनाको अन्तरालमै ती पुरुषलाई छोडेर उनी फेरि माइत फर्किइन्। तर, माइतीले उनको अन्तै बिहे गरिदिए। मैले भेट्दा उनी भर्खरै नाबालिग उमेर पार गरेकी थिइन् र तेस्रो बच्चा जन्माएर सुत्केरी बस्न माइत आएकी थिइन्।

दुई : ३३ वर्षीया सुमित्राको महिनावारीसमेत नभएको अवस्थामा १३ वर्षको उमेरमा मागी विवाह भएको थियो। जेठो छोरो जन्मिँदा उनी १५ वर्षकी थिइन्, कान्छो छोरो जन्मिँदा १७ वर्षकी।

गाउँमा टोली आउँदा उनले परिवार नियोजन गरिन्। मैले भेट्दा उनको साथमा तीन वर्षकी नानी थिइन्। ‘कसकी छोरी?’ मैले उनलाई सोधेँ। ‘ठूलो छोराको बिहे भयो नि, उसैको छोरी,’ उनले भनिन्।

खासमा १४ वर्षको उमेरमै उनका छोराले केटी भगाएर ल्याएका रहेछन्। आमाबुबाको मागी विवाह भयो, छोराको भागी विवाह; तर दुवैमा बालविवाह नै रह्यो।

तीन : १९ वर्षीय सागर कक्षा ९ मा पढ्थे। कक्षा ७ मा पढ्ने एक जनासँग उनको प्रेम बस्यो। घरमा घुर्की लगाए, बिहे नगरिदिए मर्ने धम्की दिए। उनका बुवाआमाले विवाह गरिदिए।

सागर विवाहपछि पनि विद्यालय जान पाए, तर श्रीमती जान पाइनन्। सागरले पनि एसएलसी पास गर्न सकेनन्। १८ महिनाको फरकमा दुई छोरी जन्मिएपछि उनको काँधमा परिवारको बोझ थपियो र उनी खाडी हानिए। यता उनको परिवार ‘एउटा छोरो त चाहिहाल्यो नि’ भन्दै नातिको पर्खाइमा छ।

०००

प्रस्तुत तीन घटना बालविवाह र सामाजिक स्वीकारोक्तिका उदाहरण मात्र हुन्। कानुनको नजर नपुगेका र तपाईं-हामीले स्वीकारेका यस्ता सम्बन्ध समाजभरि छरपस्ट छन्। पहिलो केसमा नाबालिग र बालिगबीचको विवाह थियो भने अन्य दुई केसमा कथित वैवाहिक सम्बन्धमा बाँधिएका दुवै नाबालिग थिए।

समाजको परिभाषाले उनीहरूलाई लोग्नेस्वास्नी स्वीकार गर्यो, नाबालिग अवस्थामै आमाबुबा स्वीकार गर्यो। तर, कानुनको परिभाषामा उनीहरूबीचको सम्बन्धको व्याख्या कसरी गर्ने? बालविवाह रोक्ने कानुन किताबमा मात्र सीमित रहने हो कि समाजसम्म पुगेर यी बालबालिकालाई बचाउनुपर्ने हो ?

देशको कानुन सामाजिक नियमको कठघरामा कमजोर पक्ष बनेर उभिएको छ। जुनसुकै उमेरकाले भागेर विवाह गर्दा सामाजिक नियमले छुट दिने, बुहारी वा ज्वाइँका रूपमा स्वीकार गर्ने, विवाहपछिको यौन सम्बन्धलाई मान्यता दिने तर वैवाहिक बलात्कार हुन्छ वा हुन सक्छ भन्नेसमेत नस्वीकार्ने अवस्था छ।

यही कारण देशको कानुन बालविवाह रोक्न तथा बालिकाहरूलाई भिडियोमा देखिएजस्तो हिंसा र बलात्कारबाट जोगाउन असमर्थ देखिएको छ। राज्यका संयन्त्रहरूका लागि यो निकै लज्जाको विषय हो।

समाजका लागि बलात्कारको परिभाषा नै फरक छ। सिनेमामा देखाइएजस्तो च्यातिएको लुगा, रगतपच्छे शरीर, ‘बचाऊ-बचाऊ’ भन्ने क्रन्दन, झाँक्रो फिँजिएको कपाल, टोकेको नीलडाम, बेहोस वा मृत शरीर नदेखिएसम्म समाज कुनै महिलामाथि बलात्कार भएको छ भनेर स्वीकार गर्नै चाहँदैन।

नत्र नाबालिग बलात्कारका अभियुक्तलाई फूलमाला लिएर स्वागत गर्न जाने र पीडितलाई जतासुकै अपमान गर्ने, सामाजिक सञ्जालका कमेन्टमा घृणा पोख्ने, शक्तिमा रहेको कुनै अमुक व्यक्तिले ‘मलाई बलात्कार गर्यो’ भन्दा मानसिक यातना सहन नसकेर आत्महत्या गर्नुपर्ने बाध्यता यही समाजको उपज हो।

हामी ‘निर्मला पन्त’को घटनालाई ‘ग्लोरिफाइ’ गर्दै अन्य ‘रेप सर्भाइभर’हरूलाई समाजमा बाँच्नै नसक्ने स्थिति बनाइरहेका छौँ। ‘प्रेम वा विवाहमा पनि बलात्कार हुन्छ’ र ‘नाबालिगसँग जुनसुकै अवस्थामा राखिने शारीरिक सम्बन्ध बलात्कार हो’ भनेर जबसम्म समाजले बुझ्दैन, तबसम्म हामी महिलाका लागि सुरक्षित वातावरण बनाउन सक्दैनौँ।

कानुनको परिभाषा र कार्यान्वयनमा पनि अस्पष्टता छ। मुलुकी अपराध संहिताले करणी, बालयौन दुराचार र बालविवाहसम्बन्धी कानुनको व्यवस्था गरेको छ। तर, बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै बालबालिकाबीच हुने भागी विवाह, त्यसमा घरपरिवार र समाजको स्वीकारोक्ति, उनीहरूबीच हुने शारीरिक सम्बन्ध र यसले निम्त्याउने असरबारे व्यावहारिक र स्पष्ट सम्बोधन हुन सकेको छैन।

संहिताको परिच्छेद १८ (करणीसम्बन्धी कसुर) अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा जबर्जस्ती करणी गरेको मानिने व्यवस्था छ।

यदि नाबालिग केटाकेटीले भागेर विवाह गरे र केटी पक्षले उजुरी दिएमा १८ वर्षमुनिको सहमतिलाई सहमति नमानिने हुनाले केटालाई दोषी ठहर गर्दै सुधारगृह पठाउने गरिन्छ। यद्यपि, घरपरिवार र समाजले स्वीकारेर नाबालिग उमेरमै घरजम बसाउनेहरू धेरै छन्।

नाबालिग केटीहरू बालिग पुरुषसँग विवाह गरेर बसेका उदाहरण पनि प्रशस्त छन्, जसलाई समाजले सहर्ष विवाह भनेर स्वीकार गर्छ। तर, कानुनको परिभाषामा के त्यो बालविवाह र बलात्कार होइन ? उजुरी परेपछि मात्र कानुन आकर्षित हुने भएकाले बालिकाहरू बालविवाह, बालहिंसा, यौन दुर्व्यवहार र बलात्कारजस्ता जघन्य अपराधको सिकार भइरहेका छन्।

समाज र कानुनको सहकार्य अनिवार्य छ
बालविवाह, अनमेल विवाह, बलात्कार, यौनजन्य हिंसा र घरेलु हिंसाजस्ता विषयलाई कानुनले अपराध मान्छ।

तर, सामाजिक नियमले बालविवाहलाई विवाहकै मान्यता दिने, घरेलु हिंसालाई पारिवारिक किचलो ठान्ने र बलात्कारलाई सहजै पन्छाइदिने प्रवृत्तिले कानुन भए पनि प्रभावकारी काम गर्न नसकेको अवस्था छ। धेरैजसो ठाउँमा कानुन लागू गर्न घर र समाज नै बाधक बनेर उभिएका छन्।

त्यही भाइरल भिडियोमा पनि ती पुरुष श्रीमतीलाई कुट्दै भनिरहेका छन्, ‘भोलि समाजको अगाडि यो सबै भन्...।’ कानुनभन्दा अगाडि निःसन्देह समाज उभिएको छ। यसर्थ, कानुन लागू गर्न समाजलाई नै सचेत गराउन जरुरी छ। हाम्रा बालबालिका जोगाउन र बालविवाह अन्त्य गर्न समाज र कानुनको सहकार्य अत्यावश्यक छ।

यो व्यक्तिगत लडाइँ मात्र होइन; घर, समाज र देशले नै हातेमालो गरेर लड्नुपर्ने साझा लडाइँ हो, जसलाई हामी सबैले बेवास्ता गरिरहेका छौँ। हाम्रो समाजमा बालविवाहको चपेटामा परेका ‘नुजुद’हरू धेरै छन्, तर त्यसबाट मुक्ति पाउन कानुनी लडाइँ लड्ने साहस भएका ‘नुजुद अलि’हरू कमै छन्।

१० वर्षकै उमेरमा यमनको अदालतको ढोका ढकढक्याएर सन् २००८ अप्रिल १५ मा ३५ वर्षीय पतिसँग सम्बन्धविच्छेद (डिभोर्स) गरेकी उनी संसारकै कम उमेरमा डिभोर्स गर्ने महिला बनेकी थिइन्। ‘नुजुद अलि’ बालविवाहविरुद्धको साहसकी प्रतीक हुन्।

आफ्ना छोरीहरूको रक्षा गर्न र छोराछोरीलाई गलत बाटोमा जान नदिन अब त्यो साहस हामीले देखाउनैपर्छ। यसका लागि देशको कानुनलाई समाजको कठघरामा उभ्याउने होइन, कानुनको हात समातेर बालविवाह, अनमेल विवाह र महिला हिंसाजस्ता अपराधको अन्त्य गर्नु आजको आवश्यकता हो।

(एलिसा एकलास त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागकी उप-प्राध्यापक हुन्।)

मंसिर १२, २०८३ शनिबार ०८:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।