लक्ष्मीको दर्शनमा लुकेको मुद्राको इतिहास

लक्ष्मीको दर्शनमा लुकेको मुद्राको इतिहास

समाजमा लेनदेन व्यवहार कठिन भएपछि सहजीकरणको लागि मुद्राको आविष्कार भएको समाजशास्त्रीहरुको तर्क छ। यसले छाला, सिक्का हुँदै अहिलेको कागजको आकारमा पुगेर अहिले त अदृश्य डिजिटलसम्म पुगिसकेको छ। प्रायः प्राचीन सभ्यताका सबै आदिमधर्महरुले धनका देवी देवताको कल्पना गरेको इतिहास छ। यसै सिलसिलामा वैदिक आर्यहरूले धनकी देवीको रूपमा लक्ष्मीको परिकल्पना गरेको पौराणिक तथा धार्मिक सन्दर्भहरू छन्।

सुर र असुरबीचका समुद्र मन्थनका क्रममा धनकी देवी लक्ष्मी उत्पन्न भएको धार्मिक विश्वास छ। यसै सन्दर्भमा धनकी देवी लक्ष्मीको दार्शनिकता र यसको प्रतीकको रूपमा आएको मौद्रिकताको छलफल गर्नु नै यस आलेखको मुख्य लक्ष्य हो।

दार्शनिक विमर्श

पद्मपुराण तथा स्कन्दपुराणमा दीपावलीलाई धार्मिक मान्यता प्रदान गर्नुको साथै यस महोत्सवमा धन धान्यकी देवी लक्ष्मीको पूजा गर्नुपर्ने विधानको उल्लेख भएको पाइन्छ। वेद,उपनिषद् र पुराण लगायतका ग्रन्थहरूमा श्री र लक्ष्मीको चर्चा छ । (हरिराम जोसी–नेपालका चाडपर्वहरू) 

पूर्वीय संस्कृतिमा मानव जीवनका  चारवटा आधारहरू  धर्म, अर्थ, काम र मोक्ष मध्ये अर्थ यानेकी श्री र सम्पत्तिलाई महत्वपूर्ण स्थान दिएको पाइन्छ। आश्रम व्यवस्थाका चारवटा आश्रमहरूमध्ये  गृहस्थ आश्रममा रहेर मानवले सम्पन्न गर्नुपर्ने धार्मिक अनुष्ठानहरूमा धन र सम्पत्तिको अनिवार्य आवश्यकता मानिएको छ। 

धनको यसै महत्वपूर्ण आवश्यकतालाई  मध्यनजर गर्दै हिन्दु शास्त्राकारहरुले श्री अर्थात् धन र सम्पत्तिकी देवीको परिकल्पना गरेका छन्। हिन्दु संस्कृतिमा एकातिर पुरुषलाई माथिल्लो श्रेणीमा राखेका छन् भने अर्कोतिर नारीलाई सौभाग्यकी देवीको रूपमा पूजा गर्ने गरिएको छ। 

शाक्त दर्शन (मातृ पूजा) को पौराणिक परम्परा  अद्यपी रहेको तथ्य विभिन्न  देवी र मातृ शक्तिको उपासनाबाट पुष्टि हुन्छ। हिन्दु परिवारमा छोरीको जन्मलाई सौभाग्यको आगमन र  वधूको गृह प्रवेशलाई श्री को प्राप्ति मानेर हर्षका साथ मनाउने सामाजिक परम्परा र दार्शनिक आधार देखिन्छ।

श्री शक्तिको उपासना, प्रकृति र पर्यावरणप्रतिको सम्मान र भातृ दिवसको त्रिवेणीको रूपमा रहेको उज्यालोको प्रतीकको रूपमा मनाइन्छ। मानव जीवनमा भौतिक सम्पन्नताले मात्र पूर्ण भएर मात्र हुँदैन, आध्यात्मिक एवम् मानसिक श्रीवृद्धि हुनुपर्छ भन्ने यस पर्वको दार्शनिक आधार रहेको देखिन्छ। 

अविद्या, राग, द्वेष र क्लेश जस्ता औँसी र अन्धकारका प्रतिकस्वरुपका मानसिक  विकारहरूलाई हटाएर आध्यात्मिक ज्योतिको प्राप्तिको लागि हिन्दुहरूले निरन्तर साधना  अनुष्ठान गर्नुपर्छ। यस प्रकारको पवित्र र क्लेशरहित साधनाले मात्र व्यक्ती सदा श्रद्धावान् र सम्पन्न हुने मान्यता छ। 

मानसिक विकार, अति सांसारिक कामना र लालसाबाट माथि उठेका व्यक्तिले मात्र समग्र रूपमा परिवार, समाज र राष्ट्रलाई नै माथि उठाउँछ भन्ने पूर्वीय सभ्यताको दार्शनिक अभिव्यक्ति  देखिन्छ। अर्कोतिर वातावरण र पर्यावरणको पारम्परिक सम्बन्ध र सन्तुलनलाई कायम राख्दै पृथ्वी मातालाई दीर्घायु प्रदान गर्न प्रकृति पूजाको प्रतीकको रूपमा काग, कुकुर र गाई आदीलाई पूजन र नमन गर्ने परम्परा रहेको हो।

मानवले पुस्तकबाट मात्रै होइन की यस धराधामका अन्य प्राणीहरूबाट पनि ज्ञान प्राप्त  गर्न सक्छ भन्ने यसको सार रहेको छ।  दाजुभाइ र दिदिबहिनीहरु बीचको पवित्र सु–सम्बन्धलाई निष्ठापूर्वक कायम राख्नको लागि यस पर्वले धार्मिक तथा  भावनात्मक आधार प्रदान गरेको मानिन्छ।

शास्त्रीय सन्दर्भ

पाँच दिनसम्म मनाइने यस पर्वमा विशेष गरी लक्ष्मीको विशेष पूजा गरेर मनाइन्छ। भगवान् विष्णुको अर्धाङ्गिनीको रूपमा पुजिएकी लक्ष्मीलाई धनकी देवीको रूपमा मानिन्छ। अष्टमात्रिकाहरु मध्ये एक महा–लक्ष्मी  देव र दानवहरूले क्षीर  समुद्र मन्थन गर्दा उत्पत्ति भएकी मानिन्छिन्। सुवर्णादि धनका साथमा श्री,शोभा र सौभाग्य आदिको साथमा लक्ष्मीको सम्बन्ध भएको तथ्य वेदमा उल्लेख छ।

पुराणहरूमा लक्ष्मीको सौन्दर्य  र कान्तिले सबैलाई प्रभावित गरेको उल्लेख छ। साथै रामायण, महाभारत, विष्णु पुराण, पद्यम पुराण लगायतका पौराणिक ग्रन्थहरूमा महालक्ष्मीको गरिमा गाइएको छ (जोसी, अभिनव संस्कृति कोष पृष्ठ–२७०)।

आद्यलक्ष्मी, विद्यालक्ष्मी, सौभाग्यलक्ष्मी, अमृतलक्ष्मी, कामलक्ष्मी, सत्यलक्ष्मी र योगलक्ष्मी गरेर आठ प्रकारका लक्ष्मीहरूको चर्चा छ (वीणा पौडेल, काठमाडौँ उपत्यकाका विष्णुविभव मूर्ति र चित्रहरू)। अमरकोष नामक ग्रन्थमा  पनि लक्ष्मीको चर्चा छ। 

मानसिक दरिद्रता हटाई आध्यात्मिक र भौतिक उन्नतिको लागि महालक्ष्मीको अनुष्ठान विधिपूर्वक गर्ने गरिन्छ। राजा महाराजाहरूले पनि राज्य प्राप्तिको लागि महालक्ष्मीको उपासना  गर्ने गरेका  पौराणिक कथन छ।  सुन्दर शारदीय ऋतुमा घर, चोक र आँगन र प्राङ्गणमा सफा गर्दै वरिपरि चारैतिर बत्ती बालेर विशेष पूजाआजाका साथ महालक्ष्मीको विधिपूर्वक आव्हान गरिन्छ। यसर्थ लक्ष्मी तिहार (गाई) लाई धन प्राप्तिको लागि गरिने आराधनाको पर्व अर्थात् सौभाग्य र श्रीदिवसकोरुपमा मनाइन्छ (गोविन्द न्यौपानेद्वारा लिखित, अन्नपूर्ण पोस्टमा प्रकाशित  सौभाग्यको पर्व श्रीदिवश) ।

नेपालमा प्राचीनकाल देखि नै लक्ष्मीको मूर्ति बनाउने परम्परा रहेको छ। पाटनस्थित च्यासलहिटिको गजलक्ष्मीको मूर्तिलाई नेपालमा प्राप्त सर्व प्राचीन मूर्ति मानिन्छ। राष्ट्रिय सङ्ग्रहालयमा रहेको पद्महस्ता लक्ष्मी मूर्तिलाई लिच्छवीकालको उत्कृष्ट नारी मूर्ति मानिन्छ। 

प्रतिमा विज्ञानका पुस्तकहरूमा लक्ष्मी माताको विविध स्वरूप र प्रतिमा लक्षणका नियमहरूको वर्णन गरिएको पाइन्छ। विषेशगरी विष्णुधर्मोत्तर पुराण, मत्स्य पुराण लगायत प्रतिमा विज्ञान सम्बन्धी पुस्तकमा लक्ष्मी, श्रीलक्ष्मी, महालक्ष्मी, यज्ञलक्ष्मी, राज्यलक्ष्मी, स्वर्गलक्ष्मी, व्रम्हलक्ष्मी, आदि सबैको प्रतिमा र चित्र बनाउने नियममा उल्लेख छ। 

मत्स्य पुराणमा लक्ष्मीको दायाँ हातमा कमल,बायाँ हातमा विल्वफल (वेल) धारण गरेकी,दुई बाहुको पछाडि दुईतिरबाट दुई हात्तीले सुवर्णका झारीले स्नान गराइएको, सिंहासनमा पद्यममाथि विराजमान भएकी लक्ष्मीको प्रतिमा (मूर्ति) बनाउनु भनी उल्लेख गरिएको छ (गणेश क्षेत्री र रामचन्द्र रायमाझी,  नेपाली कला, वास्तुकला र प्रतिमा लक्षण, पृष्ठ: १०९ ) । 

विष्णुधर्मोत्तर पुराणमा लक्ष्मीको साथमा राज्यलक्ष्मी, स्वर्गलक्ष्मी, व्रम्हलक्ष्मी र जयलक्ष्मीको प्रतिमा बनाउनु भनी निर्देशन गरिएको छ। श्रीलक्ष्मीलाई नवयौवना, पुष्ट गला, लाल ओठ, मणिको कुण्डल लगाएकी, मण्डलाकार मुहारको सिउँदोमा सिउँदोको दुईतिरबाट दुई हात्तीले स्नान गराएकी र पाउ धोइएकी देखाउनु पर्छ भन्ने प्रतिमा शास्त्रीय विधान छ।  

मुद्राको ऐतिहासिक सन्दर्भ

मुद्राको उत्पत्तिको ऐतिहासिकता बताउन सक्ने प्रमाणित आधारहरू छैनन्। विभिन्न सभ्यतामा विभिन्न समयमा मुद्राको आविष्कार भएको अनुमान गर्न सकिन्छ। सत्यमोहन जोशीले एसिया माइनर कोलिडिया भन्ने ठाउँमा मुद्राको आविष्कार भएको चर्चा गर्नु भएको सन्दर्भ स्मरणीय हुन्छ। 

त्यसो त विभिन्न वैदिक तथा पौराणिक साहित्यहरूले भारतीय उपमहाद्वीपमा मुद्राको ऐतिहासिक विकासक्रमको चर्चा गरेका छन्। यस सन्दर्भले भारतीय उपमहाद्वीपमा लेखनकलाको विकास हुनुभन्दा पहिले नै वैदिक आर्यहरूले धन अर्थात् मुद्राको परिकल्पना गरेका थिए भन्ने प्रमाणित हुन्छ (गोविन्द न्यौपानेद्वारा लिखित नागरिक दैनिकमा प्रकाशित मुद्रा महत्ता –नागरिक दैनिक २०७६, कार्तिक २३ गते) । चार पुरुषार्थमध्ये अर्थलाई विशेष महत्त्व दिएको सन्दर्भले यसको सामाजिक भूमिकालाई उजागर गर्छ।

नेपालको मौद्रिक इतिहासको  अध्ययन गर्दा  लिच्छविकालसम्म पुग्छ।  लिच्छवि राजा मानदेवले  सर्वप्रथम मुद्रा प्रसारण गरेका थिए, जसलाई मानाङ्क भनिन्छ। मानाङ्क मुद्राको पृष्ठ भागमा लक्ष्मीको आकृति अंकित गरिएको छ। वस्तुतः मुद्रालाई कुनै पनि राष्ट्रको सार्वभौकिताको आधार मानिन्छ। त्यसकारण लिच्छविकाललाई नेपालको इतिहासमा पहिलो सार्वभौमिक काल मान्न सकिन्छ।

मुद्रा आफैमा विनिमयको माध्यमको साथसाथै सम्प्रभुता र आर्थिक सम्पन्नताको प्रतीक पनि हो। वैदिक शास्त्रकारहरूले धर्म, अर्थ, काम र मोक्ष–यी चार पुरुषार्थ मध्य अर्थ अर्थात् आर्थिक पक्षलाई महत्त्व दिई धनकी देवीको परिकल्पना गरेको इतिहासकारहरूले तर्क गरेका छन्। 

यसकारण वैदिक साहित्यबाट निर्देशित लिच्छवि शासकहरूले धनकी देवी लक्ष्मीलाई आफ्ना मुद्रामा अंकित गरेका मुद्राशास्त्री एवम् इतिहासकारहरूको तर्क रहेको छ। कतिपय राष्ट्रिय इतिहासकारहरूले लिच्छविकाललाई स्वर्णकाल मानेका छन्। विविध प्रकारका मुद्राहरूको प्राप्तिको कारणले यस काललाई स्वर्णकाल मानेको हुनुपर्छ।  

यद्यपि लिच्छविकाललाई स्वर्णकाल मान्नेमा पछिल्ला पुस्ताका आलोचकहरूले फरक मत व्यक्त गरेका छन्। विष्णुले लक्ष्मीको रक्षा गरेको मानिने दार्शनिक चिन्तनको प्रतिकात्मक भावार्थ मानदेवबाट प्रसारित सिक्काहरूमा पाइन्छ। राज्यलक्ष्मीलाई शत्रुबाट बचाई देशलाई समृद्धितिर लान सकेको सांस्कृतिक आधारलाई समेत यसै तथ्यले संकेत गरेको छ। 

राजा अंशुवर्माले प्रसारण गरेको वैष्णव मुद्राको पृष्ठ भागमा अंकित गाईले बाच्छोलाई दूध चुसाई रहेको (कामदोही) दृश्यले लिच्छवी संस्कृतिको वैभव र ऐश्वर्यलाई नै अभिव्यक्त गरेको मानिन्छ।  

मल्लकालमा आएर एकल र पारिवारिक समूहमा लक्ष्मीको मूर्ति बनाउने प्रचलन रहेको थियो। आज पनि हिन्दुहरूका घरघरमा श्रीलक्ष्मीको यन्त्र र प्रतिमा स्थापना गरी पूजा गरिएको पाइन्छ। मल्लकालका राजाहरूले प्रसारण गरेका मुद्रामा धनको प्रतिकात्मकतालाई अंकित गरिएको छ। मल्लकालका राजाहरू धारण गरेका विरुदावली तथा उपाधिहरूले यश, कृति तथा वैभवतालाई नै झल्काएको देखिन्छ। 

 त्यस्तै शाहकालीन शासकहरूले धनकी देवी लक्ष्मीलाई विशेष स्थान दिएका छन्। शाह राजाहरूले विशेषतः शाक्त तथा शैव धर्मलाई जोड दिएको देखिन्छ। लिच्छविकालदेखि चल्दै आएको शाक्त परम्परालाई शाह राजाहरूले पनि निरन्तरता दिए जसले अहिले पनि निरन्तरता पाएको छ। 

 शाह राजाहरूले प्रसारण गरेका विविध प्रकारका धार्मिक तथा सांस्कृतिक चिह्नहरूले यश, समृद्धिको वैभवता अर्थात् लक्ष्मीको दार्शनिकतालाई नै देखाइएको छ। विशेषतः यमपञ्चकको अवसरमा राष्ट्रिय बिदा नै दिएर तात्कालिक शासकहरूले यस पर्वको महत्वलाई बढाएको देखिन्छ।

भारतीय उपमहाद्वीपमा कहिलेदेखि लक्ष्मीको पूजा गर्न थालियो त्यसको ऐतिहासिकताबारे छलफल गर्नु जरुरी छ। अपवाद बाहेक संस्कृति कृषि उत्पादनसँग सम्बन्धित  हुन्छ।  आप्रवासीका रूपमा आएका घुमन्ते र लडाकु प्रवृत्तिका आर्य जातिले कहिलेदेखि कृषि कर्ममा आबद्ध भए? त्यसको ऐतिहासिक मानवशास्त्रीय कोणबाट अध्ययन हुन जरुरी छ। 

कात्तिक र मंसिर महिनामा बाली स्याहार्ने कृषि पात्रोमा आज पनि फेरबदल भएको छैन। कृषिपात्रो अनुरूप नै यहाँको सांस्कृतिक रूपरेखाले निश्चित आकार लिएको देखिन्छ। फसल स्याहार्ने खुसीमा विभिन्न उल्लास मनाउनु यहाँको आदिवासी कृषकको परम्परा हो ( देवीप्रसाद चटोपाध्यायको लोकायत नामक पुस्तक)।  

वैदिकआर्यहरु यहाँका आदिवासी समुदायसँग घुलमिल हुने क्रममा यहाँका स्थानीय देवीदेवीहरूलाई स्वीकार गरी वैदिकीकरण गरिएकी देवी नै लक्ष्मी हुन् की ? (हिमाल खबर अनलाइनमा प्रकाशित गोविन्द न्यौपानेको आलेख, पूर्वीय संस्कृतिमा कसरी भित्रिइन धनकी देवी लक्ष्मी ?)। 

अन्त्यमा, मानसिक दरिद्रता र क्लेश अनि अज्ञानतालाई हटाई आध्यात्मिक र भौतिक श्री वृद्धिको लागि महालक्ष्मीको पूजा र आव्हान गर्ने गरिएको ऐतिहासिक तथा सांस्कृतिक आधार छन्। राष्ट्रको आर्थिक सम्पन्नता, यश, कृति र संवृद्धिका लागि वैदिक सनातनी शास्त्राकारहरुले विभिन्न धार्मिक पर्व र परम्पराहरूमा महामाया महाशक्ति महालक्ष्मीको उपासना गर्ने परम्परा चलाएको देखिन्छ।

हिन्दु शास्त्रकारले प्रतिपादन गरेको चार आश्रम व्यवस्था, त्रिऋण मोचन र चार पुरुषार्थ प्राप्तिको लागि धनकी देवी श्रीदेवीको पूजा उपासना अनिवार्य मानिन्छ। यसै सन्दर्भमा सौभाग्यको पर्व लक्ष्मीपूजा अर्थात् श्रीदिवस पर्वको गरिमाको सार्थकता रहन्छ।

कात्तिक २२, २०८३ आइतबार १०:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।