‘फाटेको जुत्ता’ विवादमा नन्दन यादवको जवाफ- आफैँलाई खेल्न सहज होस् भनेर प्वाल पारेको हुँ

‘फाटेको जुत्ता’ विवादमा नन्दन यादवको जवाफ- आफैँलाई खेल्न सहज होस् भनेर प्वाल पारेको हुँ

काठमाडौं : नेपाली क्रिकेटर नन्दन यादवले आफूले ‘फाटेको जुत्ता’ लगाएर खेलेको भन्दै भइरहेको चर्चा र विवादप्रति स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले तस्बिरमा देखाइएजस्तो जुत्ताको अवस्था खराब नभएको र खेल्ने क्रममा सहजताका लागि आफैँले प्वाल पारेको बताएका हुन्।

आफ्नो जुत्तालाई लिएर भइरहेको विवादलाई ‘बेतुक’ संज्ञा दिँदै यादवले ईश्वरको कृपाले क्रिकेट सामग्री आफैँ किन्न सक्ने गरी पर्याप्त कमाइ गरिरहेको उल्लेख गरेका छन्।

‘तस्बिरमा देखिएको जुत्ता बाहिर प्रचार गरिएजस्तो अवस्थामा छैन। देखिएको क्षतिलाई बढाइचढाइ गरिएको छ,’ उनले भनेका छन्, ‘यो त मैले खेल्ने क्रममा आफैँलाई सहज होस् भनेर जानेरै पारेको सानो प्वाल मात्रै हो।’

उनले वास्तविक तथ्य नबुझी भ्रामक सूचना नफैलाउन र अनावश्यक विवाद सिर्जना नगर्न सबै सञ्चारमाध्यम तथा व्यक्तिहरूलाई आग्रह गरेका छन्। कुनै पनि सामग्री प्रकाशन गर्नुअघि सामान्य तथ्य जाँच गर्दा ठुलो फरक पर्ने उनको भनाइ छ।

यादवले आफू हिमालयन विलो, माया ग्रुप, स्टडी एक्सप्रेस र जर्सी पसल नेपालजस्ता ब्रान्डसँग गर्वका साथ आबद्ध रहेको समेत जानकारी दिएका छन्।

आवश्यक परेका बेला ती ब्रान्डहरूबाट खेल सामग्रीको साथ पाइरहेको उल्लेख गर्दै उनले आफू स्वयं पनि सामग्री खरिद गर्न उत्तिकै सक्षम रहेको स्पष्ट पारेका छन्।

सबैको चासो, बुझाइ र निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै यादवले कुनै निष्कर्षमा पुग्नुअघि तथ्य बुझिदिन अनुरोध गरेका छन्।

‘अनावश्यक विवाद सिर्जना गर्नुभन्दा हामी सबैले माया गर्ने क्रिकेट र खेलमै ध्यान केन्द्रित गरौँ’, उनले अपिल गरेका छन्।

मंसिर १०, २०८३ बिहीबार १२:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।