अभिनेता मुकुन्द श्रेष्ठको हिजोका कुरा : ‘हिरोको आमालाई बलात्कार गर्ने यही हो’ भन्दै बिर्तामोडमा लेखेटिएँ
नेपाली चलचित्रमा खलनायकको पात्रमा खुबै जमेका अभिनेता हुन् मुकुन्द श्रेष्ठ।
खलनायकको भूमिकामा गरेको जीवन्त अभिनयकै कारण उनले वास्तविक जीवनमा दर्शकबाट लखेटिनुसमेत परेको थियो। कला क्षेत्रमा आइपुग्न उनको सङ्घर्ष निकै लामो छ।
२०३० सालमा एसएलसी पास गरेका उनले सोही समयमा राष्ट्रिय वाणिज्य बैंकमा दिनको १ रुपैयाँ ७५ पैसा ज्यालामा काम सुरु गरेका थिए।
बुबा छोरालाई व्यापारी बनाउन चाहन्थे, तर उनको मन अभिनय तथा सङ्गीततर्फ मोडियो। १२ वर्ष वाणिज्य बैंकमा जागिर खाएपछि फिल्ममा अभिनय गर्दागर्दै एक वर्ष बिदामा बसेर अफिस नजाँदा उनी जागिरबाटै बाहिरिए।
राष्ट्रिय नाचघरदेखि रेडियो नेपालमा बाजा बजाउनेसम्मको काम गरेका मुकुन्दले सयौँ नाटक लेखेका छन्।
उमेरले ७० टेक्नै लागेका उनको पछिल्लो फिल्म ‘सारथी’ हो। यस फिल्ममा विशेष भूमिका रहेको र खलनायकमा देख्दै आएका दर्शकले यसपटक आफूलाई अलिक फरक स्वादको पात्रमा पाउने उनी बताउँछन्।
जीवनमा देखेका, भोगेका र अनुभव गरेका कुरालाई उनले उकेराको ‘हिजोको कुरा’ स्तम्भमा यसरी सुनाए:
२१ सालमा विराटनगर बजारमा सल्केको आगो
मेरो जन्म वि.सं. २०१४ सालमा विराटनगर, मोरङमा भएको हो। मैले १७ सालमा भएको विराटनगरको घटना र २१ सालको ठुलो आगलागी अझै याद गरेको छु। अझ भनौँ, त्यतिबेला मैले होस सम्हालिसकेको थिएँ र त्यो आगलागी नियन्त्रणका लागि स्वयंसेवकका रूपमा खटिएको पनि थिएँ।
त्यतिबेला विराटनगर अहिलेको जस्तो ठुलठुला पक्की भवन भएको सहर थिएन; टहराहरू धेरै थिए, पक्की घर त औँलामा गन्न सकिने मात्र थिए। बजारभरि जस्तापाता र फुसका छाना भएका घर थिए। त्यहीँबाट सल्केको आगो निभाउन हामी लागिपरेका थियौँ, तर बजार नै सखाप भएको थियो।
मैले थाहा पाउँदा स्कुलहरू खुलिसकेका थिए। हामी सुकुलमा बसेर पढ्थ्यौँ। त्यतिबेला पढाउने शिक्षकलाई ‘सर’ भनिँदैनथ्यो; ‘गुरुबा’ र ‘गुरुआमा’ भनिन्थ्यो। स्कुलमा क, ख, ग, घ भन्दा पहिले गीता र रामायणका श्लोकहरू पढाइन्थ्यो, अनि मात्र कखरा सुरु हुन्थ्यो।

हाम्रो स्कुलमा एउटा कोठा र अर्को टहरो थियो। टहरोभित्र मधेसको घामले निकै गर्मी हुने भएकाले हामी बाहिरको खुला चौर, पटाङ्गिनी र चौतारोमा सितलमा बसेर पढ्न रुचाउँथ्यौँ। हामीले २-३ कक्षामा पुगेपछि मात्रै क, ख, ग लहरै भन्न सिकेका हौँ; त्योभन्दा अगाडि अक्षर चिने पनि क्रमशः भन्न जान्दैनथ्यौँ।
त्यो बेला हामीलाई नेपाली र संस्कृत पढाउने शिक्षक-शिक्षिका नेपालकै हुन्थे भने गणित र अङ्ग्रेजी पढाउनेचाहिँ सीमापारि (भारत) बाट झिकाइन्थ्यो। हाम्रो कक्षामा ५१ जना विद्यार्थी थियौँ, जसमा २०-२२ जना छात्रा थिए। त्यसैले त्यो बेला महिलालाई पढ्न दिइँदैनथ्यो भन्ने कुरा मलाई गलत लाग्छ।
मैले ‘बच्चा क्लास’ भानु मोरङ स्कुलमा पढेको हुँ- अहिले पनि यसलाई भानु मोरङ नै भन्छन् क्यारे। अनि कक्षा ४ देखि सरस्वती माध्यमिक विद्यालयमा पढेँ। मैले २०३० सालतिर एसएलसी दिएर आइए (I.A.) सम्म पढेँ।
एसएलसीपछि वाणिज्य बैंकमा जागिर, दिनमा १ रुपैयाँ ७५ पैसा
एसएलसी दिएपछि जागिरले मलाई आफैँ खोज्दै आयो, खोज्नै परेन। त्यो बेला टाइप गर्ने मान्छे कमै भेटिन्थे। घरमा मेरा काकाले टाइपराइटर चलाउनुहुन्थ्यो- अहिलेको कम्प्युटर जस्तै तर किबोर्डबाट सिधै कागजमा टाइप गर्ने मेसिन। निवेदन दिँदा टाइपिङ जानेको हुनु ठुलो योग्यता मानिन्थ्यो।
म तीन-चार कक्षामा पढ्दादेखि नै टाइप गर्थेँ। वाणिज्य बैंकलाई टाइप गर्ने मान्छे चाहियो भनेर मेरी काकीकहाँ खबर आएछ, काकीले मेरो नाम पठाइदिनुभयो। त्यहाँ मैले दैनिक १ रुपैयाँ ७५ पैसा ज्याला पाउँथेँ। मेरो पहिलो जागिर त्यही थियो।
आइए पढ्ने बेला ३१-३२ सालतिर नेपालमा आन्दोलन चर्कियो। देशभरका क्याम्पस बन्द भएर एक वर्ष कसैले पढ्न पाएनन्, सबै लाखापाखा लागे। मैले आइए पहिलो वर्ष पढेपछि वाणिज्य बैंकमा जागिरे भएँ।
पछि पढौँला भन्दाभन्दै जागिर र म्युजिक सिकाइमा भुलिएँ। तर जागिरमा बढुवा हुन डिग्री चाहिने। त्यसैले प्राइभेट परीक्षा दिन बनारसको फारम १४ चोटी भरेँ, तर कहिले नाटक त कहिले जागिरको सरुवाले गर्दा एकपटक पनि परीक्षा दिन पाइनँ। त्यसपछि पढाइ नै छोडिदिएँ।
स्कुलमा नाटक गर्दा स्टेज भत्किएपछि...
स्कुलमा शुक्रबार-शुक्रबार कविगोष्ठी हुन्थे- कथा भन्ने, कविता लेखेर सुनाउने गरिन्थ्यो। कक्षा ५-६ तिर हुँदा मलाई पनि गुरुबाले शुक्रबार जसरी भए पनि कविता सुनाउनैपर्छ भन्नुभयो। कविता पढ्ने मात्र गरेकाले कसरी लेख्ने मलाई थाहा थिएन।
गुरुबाले ‘पुच्छर-पुच्छर मिल्नुपर्छ’ भन्नुभएको थियो, त्यहीअनुसार अन्त्यमा तुक मिलाएर कतिकुथी एउटा कविता बनाएँ। गुरुबाले ‘स्याबास!’ भन्नुभएपछि मलाई त आफूले पनि कविता लेख्न जान्दो रहेछु भन्ने लाग्यो। त्यसपछि कथा लेख्न लगाउनुभयो।
आफैँमा घटेका घटनालाई काल्पनिक रूप दिएर कथा लेख्न थालेँ। अनि त नाटक लेख्ने र स्कुलको कार्यक्रम बनाउने जिम्मा पनि मलाई नै आयो।
यो २०३० सालअघिको कुरा हो। मेरो साथी कमल तामाङ जानी-नजानी भोटे सेलो गीतमा नाच्थ्यो, कक्षाकै एक जना केटी साथी गीत गुनगुनाउँथिन्। हामी तीन जना मिलेर एउटा कार्यक्रम बनायौँ, त्यसमा म पनि नाचेँ।
त्यतिबेला प्रहसनलाई ‘कमिक’ भनिन्थ्यो। त्यो कार्यक्रम गर्न हामीले घरघरबाट खाट ल्यायौँ र भिडले देख्ने गरी अग्लो बनाउन तल बाँसको टेको लगाएर स्टेज बनायौँ। नाच्दानाच्दै स्टेज एकातिर भाँचियो। अनि म, कमल र अरू दुई-तीन जना साथी खाटमुनि छिरेर कार्यक्रम नसकिउन्जेल ढाडले स्टेज थाम्यौँ।
त्यसपछि त हामीलाई सांस्कृतिक कार्यक्रमको यस्तो नसा लाग्यो कि नाचगान र नाटक नगरी नहुने भयो। अरू स्कुलले पनि हामीलाई गीत, नृत्य र बाजा सिकाउन बोलाउन थाले। आफैँलाई राम्ररी आउँदैनथ्यो, तर स्कुलहरूले पत्याइदिएकाले विद्यार्थीलाई सिकाएर कार्यक्रम बनाइदिन्थ्यौँ।
यसरी विराटनगरका स्कुल-स्कुलमा सांस्कृतिक कार्यक्रम गर्ने टोली हामी नै भयौँ। त्यो बेला पूर्वाञ्चलका सांस्कृतिककर्मी चतुर्भुज दाइ (चतुर्भुज पौडेल ‘आशावादी’) पनि हामीसँगै हुनुहुन्थ्यो, जसले पहाडी संस्कृतिलाई उजागर गर्नुभएको थियो।

त्यो समय विराटनगरमा महिला कलाकार नै पाइँदैनथे, धरानतिर भने हुन्थे। पुरुषलाई नै महिला बनाएर नाटक गर्नुपर्थ्यो। त्यतिबेला महिलाको भूमिका गर्ने एक जना कलाकार त अहिले पनि सोही भूमिकामा अभिनय गर्नुहुन्छ- मान्छेले केटा र केटी छुट्याउनै सक्दैनन्। त्यो बेलाको दाँजोमा अहिले निकै सहज छ।
बुबालाई नाटक मन नपर्दा भकारीमा थुन्दिनुभयो
मेरा बुबा विराटनगरको ठुलो व्यापारी हुनुहुन्थ्यो। बुबाआमाको चाहना छोरा व्यापारी नै बनोस् भन्ने थियो। नाटक गरेर भात खान पाइँदैन भन्दै बुबा यसलाई ‘बटुका थापेर मागी खाने पेसा’ भन्नुहुन्थ्यो।
गाउँमा कुनै कार्यक्रम हुने थाहा पाउनुभयो भने बुबाले मलाई ढोका नभएको गोलो भकारीमा हालेर माथिबाट ढ्याप्प छोपिदिनुहुन्थ्यो। अनि राति साथीहरू आएर धान निकालेजसरी टेको लगाएर मलाई भकारीबाट निकाल्थे। यसरी नै मेरो कला यात्रा अघि बढ्यो; यसबाहेक मेरो मन अन्त कतै गएन।
म्युजिकमा रुचि र दख्खल
सांस्कृतिक कार्यक्रममा लागिरहेकाले होला, मलाई सङ्गीतमा रुचि र दख्खल दुवै थियो। त्यतिबेलाका हार्मोनियम, तबलादेखि मादलसम्म सबै बाजा बजाउन सिकेँ र बजाएँ पनि। २०३० सालताका नेपालीको विवाहमा हिन्दी गीत घन्किन्थ्यो, जुन मलाई पटक्कै मन पर्दैनथ्यो।
बेहुली अन्माइरहँदा हिन्दी नबुझ्ने बुढीआमाहरू रोइरहेका हुन्थे, यता जन्त आउँदा ‘ले जाएँगे ले जाएँगे’ बजिरहेको हुन्थ्यो। नेपाली गीत बजाउने चलन नै थिएन। देशभक्तिको ठुलो नाराभन्दा पनि मनभित्रैबाट ‘हिन्दीको सट्टा नेपाली गीत बजाउनुपर्छ’ भन्ने भाव आएर हामीले त्यो प्रथा हटाउने अभियान थाल्यौँ।
विराटनगरको ‘हिमालय टकिज’ हल खुल्नेबित्तिकै एक घण्टासम्म हिन्दी गीत बजाइन्थ्यो। हामीले हलका म्यानेजरलाई हिन्दी होइन नेपाली गीत बजाऊ भनेर थर्कायौँ, अनि चन्दा उठाएर काठमाडौंको रत्न रेकर्डिङबाट एलपी रेकर्ड मगाएर दियौँ।
नेपालीलाई नेपाली गीत सुन्ने बानी बसाल्नुपर्छ भनेर तीन-चार वटा ब्यान्डका मास्टरकहाँ गई ‘हाम्रो क्षेत्रमा बाजा बजाउने भए चार वटा नेपाली गीत बजाउनैपर्छ’ भनी कर गर्यौँ।
उनीहरूलाई बजाउन नआउने भएपछि हामीले नै त्यो बेला चलेका ‘रातो भाले क्वाइँ-क्वाइँ’, रेडियोमा रेकर्ड हुनुअघिकै भाका ‘साइँली र माइँली पोइला गएछन्’ र अन्माउँदा देउरालीको गीत ‘ए फूल चुँडी लाने’ सिकाइदियौँ। यसरी विराटनगरमा सबैलाई नेपाली गीत सुन्ने बनायौँ।
कलकत्तामा बाले पढ्न पठाए, मैले बदमासी गरेँ
बुबाले मलाई पढ्न कलकत्ताको कलेजमा भर्ना गरिदिनुभयो। तर मैले त्यहाँ बदमासी गरेँ- कलेजमा नाम लेखाएर म्युजिक र नाटक सिक्नतिर लागेँ।
विराटनगरमा नाचगान गरिरहेको मान्छे उता के पढ्थेँ र! आफ्नै माहोल खोज्दै जाँदा मेरो भेट पेसाले इन्जिनियर तर नाटकका पारखी बादल सरकारसँग भयो। उनका ‘पर्दा उठाओ, पर्दा गिराओ’ लगायत नाटक चर्चित छन्, जुन पछि अशेष मल्लले काठमाडौं ल्याउनुभयो। मैले उता सडक नाटक पनि गरेँ।
पहिलोपटक सिनेमा सुटिङ गरेको पनि कलकत्तामै देखेको हुँ। बङ्गाली फिल्मको सुटिङ हेर्न नदिने भएपछि पानी खुवाउने ‘स्पट ब्वाय’ को काम सित्तैमा गरिदिएर सुटिङ हेर्ने मौका पाएँ। बङ्गालमा छोरीले नाच्न-गाउन र छोराले बाजा बजाउन नजान्ने हो भने बिहे हुन गाह्रो हुन्थ्यो; नेपालका अभिभावक भने यस्ता कुरा सुन्नै चाहँदैनथे।
त्यस्तो माहोलमा झन् के पढिन्थ्यो र! घर फर्किँदा बुबाले छोरो सर्टिफिकेट बोकेर आउँछ भन्ने ठान्नुभएको थियो, म त हार्मोनियम बोकेर पो आएँ। बुबा रिसले फिनिनी भएर तीन तलाको घरमाथिबाट त्यो हार्मोनियम तल फालिदिनुभयो। त्यसपछि म घरमा बसिनँ, मामाघर गएँ।
वाणिज्य बैंकका हाकिमले काठमाडौं पठाएर गुण लगाए
पछि म फेरि पुरानै बैंकमा अस्थायी जागिरे भएँ। त्यहाँका हाकिमले ‘मुकुन्द, तिमी विराटनगर बस्ने होइन, काठमाडौं जानुपर्छ, म सरुवा मिलाइदिन्छु’ भन्नुभयो। म २०३५ सालमा काठमाडौं आएँ। त्यतिबेला यहाँ आन्दोलन चर्किरहेको थियो। चिकमुगलमा मासिक १ सय २५ रुपैयाँ भाडामा डेरा लिएर बसेँ र कर्मचारीले पढ्ने कलेजमा पढ्ने सोच बनाएँ।
त्यही बेला गायक मदन परियारसँग भेट भएपछि सङ्गीतका लागि रेडियो नेपाल धाउन थालेँ। त्यहाँ दामोदर अधिकारी, मदनदास श्रेष्ठ, हरिप्रसाद रिमाललगायत हुनुहुन्थ्यो।

त्यतिबेला रेडियो नेपालको बाहिर चौरमा वादकहरू कुरेर बस्नुपर्थ्यो र भित्रबाट नामले होइन, ‘ओ मादल!’, ‘ओ सनाइ!’ भनेर बोलाइन्थ्यो। कलकत्तामा कलाकारको त्यत्रो इज्जत देखेको मान्छेलाई यहाँको बेइज्जती देखेर सारै नरमाइलो लाग्थ्यो।
म नाटक पनि गरिरहेकाले हरिप्रसाद रिमालसँग नजिक थिएँ। उहाँले ‘मुकुन्द, यो ट्याङटुङ छोडिदेऊ, नामका लागि आएका हौला, समयअनुसार आफूलाई बदल’ भन्नुभयो।
मैले ‘पैसाका लागि होइन, यहाँ टिक्न सर्भाइभ त हुनुपर्यो नि’ भनेपछि उहाँले नाटक लेख्न भन्नुभयो। मलाई नाटकका तौरतरिका थाहा भएकाले रेडियोमा ‘किस्नेको बिहे’ लगायत नाटक लेख्ने मौका पाएँ।
त्यही क्रममा कृष्ण मल्ल, सुशीला रायमाझी, सुशीला केसी, परीक्षित ढुङ्गाना, मदनदास श्रेष्ठलगायतसँग चिनजान भएपछि म बाजागाजाबाट नाटकतिर मोडिएँ। त्यतिबेला कलाकारितामा लागेका कर्मचारीलाई प्राथमिकता दिएर चिठी लेखेकै भरमा कार्यक्रम गर्न छुट्टी मिल्थ्यो। यसरी १२ वर्षजति बैंकको जागिर खाएर पछि छोडेँ।
नाचघरसँगको रिलेसन र जागिरको लोभ
राष्ट्रिय नाचघरका कलाकार तथा हाकिमसँग मेरो राम्रो सम्बन्ध थियो। नारायण गोपाल दाइहरू पूर्व जाँदा नै हाम्रो चिनजान भइसकेको थियो।
नारायण गोपालले नाचघरमा जागिर खान आइज भनेर कतिचोटी बोलाउनुभयो, तर वाणिज्य बैंकमा पाएको सुविधा त्यहाँ नहुने भएकाले म गइनँ। उहाँले मागेपछि मैले आधा घण्टाका पूर्णाङ्की नाटकमध्ये ‘भोजन भट्ट’ लेखेर दिएँ। म आफैँ खेल्छु भनेर लेखेको भए पनि त्यतिबेला नारायण दाइले त्यो नाटक गर्न भ्याउनुभएन।
गणेश रसिक दाइसँग पनि मेरो राम्रो सम्बन्ध थियो। उहाँ नाचघरको जिएम भएर जानेबित्तिकै कलाकारको नाममा नाच्न, गाउन र अभिनयको ‘अ’ पनि नआउने जो पायो त्यही रहेछन् भनी छाँटकाँट गर्ने निर्णयमा पुग्नुभयो।
महिला कलाकार नै नपाइने त्यो समयमा भएकालाई हटाए कहाँ खोज्न जाने भन्ने सोचेर मैले बिना राई, महेश थापा (भुवन चन्दका भाइ) लगायतलाई समेटेर सिकाउने जिम्मा लिएँ। त्यहाँ जागिरे रहेका मेरा साथी रवीन्द्र खड्काले पनि कलाकार र तालिम अभावमा नाटक हुन नसकेको भन्दै सँगै नाटक गर्न आग्रह गरे।
नाचघरसँग एउटा नाटक लेखेको ५ हजार रुपैयाँ दिने बजेटसमेत थिएन। पछि गणेश दाइले फेरि जागिरको प्रस्ताव राख्दा मैले बैंक छोड्न नमिल्ने बताएपछि उहाँले प्रतिनाटक ९ हजार रुपैयाँ र टिकटमा बोनस दिने सर्तमा मसँग कन्ट्र्याक्ट गर्नुभयो।
अनि मैले ‘साहुजीको लाटी स्वास्नी’ तयार पारेँ, जुन सुपरहिट भयो। ‘भोजन भट्ट’ नाटकको कमाइले त टोयोटाको गाडी नै किनियो! अर्को नाटक ८० शोभन्दा बढी चल्यो। गणेश दाइकै एउटा नाटक पनि गरेँ। यही सिलसिलामा जागिर नखाने सर्तमा म टेलिभिजनमा पनि छिरें।
मौसमी मल्ल हिरोइन, कसैलाई मेकअप नै थाहा हुन्नथ्यो
नेपाल टेलिभिजनमा मैले ‘आफ्नै कथा’ भन्ने टेलिफिल्म लेखेँ। हिजो घटेको घटना भोलिपल्टै बिहान टिभीमा आउनुपर्थ्यो। म नाचघरका साथीहरूलाई मौखिक रूपमै कथा सुनाउँथेँ र आफैँ खिच्थेँ। अहिले बितिसकेका रमेश मट्टारेले त्यसमा जँड्याहाको भूमिका गरेका थिए, जुन खुब हिट भयो।
त्यही बेला ‘कोसेली’ सिनेमाको सुटिङ चलिरहेको थियो, तर समय नहुँदा म जान सकिनँ। पैसा खातामा हालिदिँदा पनि मैले लिइनँ। मेरो समूहमा रहेकी मौसमी मल्ललाई नै म अभिनय र मेकअप दुवै गराउँथेँ- कलाकारमा उनकै नाम राख्थेँ भने मेकअपमा नक्कली नाम (विष्णुदेवी ठकुरानी) राखेर पैसा बचाउँथेँ।
यसै क्रममा कृष्ण मल्ल, शम्भुजित बास्कोटा र मैले ‘श्री समूह’ खोलेका थियौँ। उहाँहरूले सिनेमा बनाउने कुरा गर्नुभयो, जुन मैले कल्पनै गरेको थिइनँ। नीर शाहले निर्देशन गर्ने ‘बासुदेव’ मैले लेख्ने कुरा भयो।
फिल्म राम्ररी बुझेका नीर शाहले नाटक ‘बन्दिनुहोस् न त’ को ह्याङओभरमा रहेको मलाई ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’ दिएर संवाद लेख्न भन्नुभयो।
पढेर डर लागेपछि गौतम सरलाई भेटेर सोधेँ, उहाँले अनुमति दिनुभएपछि लेखेँ। त्यो फिल्मको दौरानमा मैले क्यामेरा, मेकअप, स्पटमा काम गर्ने तरिका र नाटकभन्दा सिनेमाको संवाद कसरी फरक हुन्छ भन्ने सिक्ने अवसर पाएँ। मलाई मौका र अभ्यासको मञ्च दिने नीर शाह नै हुनुहुन्छ।
‘अन्याय’को दृश्य देखेका झापाका युवाले लखेटे
पर्दामा खलनायक देखेर दर्शकले मलाई साँच्चिकै खराब मान्छे ठान्थे। ‘अन्याय’ सिनेमामा मैले ‘हर्के साहु’ को भूमिका गरेको थिएँ। त्यो नाम गाउँघरमा यति पर्यायवाची भयो कि त्यस्तै स्वभावको मान्छेलाई हर्के भन्न थालियो, अनि सोझा हर्केहरू मलाई देखिसहँदैनथे।
त्यो बेला हामी कृष्ण मल्ल, शर्मिला मल्ललगायतको टोली कमेडी नाटक ‘लैजाऊ जोवन’ लिएर झापा पुगेका थियौँ। बिर्तामोडको एउटा साधारण रेस्टुरेन्टमा खाना खाइरहेका बेला हाम्रो ठिक अगाडि बलिया-बाङ्गा मान्छेहरू रक्सी खाइरहेका थिए।
एउटाले चोर औँला देखाउँदै ‘यही हो’ भन्यो। लय सङ्ग्रौलाले आएर ‘मुकुन्द जी, यिनीहरू बदमास हुन्, साथमा महिला र केटाकेटी पनि छन्, विस्तारै निस्कौँ’ भन्नुभयो। मैले आफूले खाएको पैसा आफैँ तिर्ने हो, कसैको केही बिगारेको छैन भन्दै अटेरी गरेर बसिरहेँ।
एकछिनमै उनीहरूले निहुँ खोज्न थाले र कुटाकुटको स्थिति आयो। कृष्ण मल्ल पनि जोसिएपछि भागाभाग भइहाल्यो। हामीलाई कन्ट्र्याक्टमा लैजाने सूर्योदय बोर्डिङ स्कुलका प्रिन्सिपलले शर्मिला र अरू दुई-तीन जनालाई लिएर कता लागे, म एक्लै परेँ।
त्यो हुल मतिर खनिँदै ‘हिरोको आमालाई बलात्कार गरेर मार्ने यही होइन? यसलाई छोड्नु हुँदैन’ भन्दै झम्टियो। बच्ने उपाय नै थिएन। पसलेले पछाडिपट्टिको टिनको ढोका खोलिदिएपछि म त्यहाँबाट अँध्यारोमा खेतैखेत भागेँ।
बिर्तामोडको कुन ठाउँ पुगेँ भन्ने पत्तो नै भएन। पछि अरू साथीहरू पुलिस थाना पुगेछन्, म पनि त्यहीँ पुगेँ र पुलिसले हामीलाई बस्ने ठेगानसम्म पुर्याइदियो। त्यस्तोसम्म भएको थियो।
मंसिर ११, २०८३ शुक्रबार ०७:५७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।