भैरहवा हवाई रुटमा सहमति त जुट्यो, अब कसरी अघि बढ्छ कार्यान्वयन प्रक्रिया?

भैरहवा हवाई रुटमा सहमति त जुट्यो, अब कसरी अघि बढ्छ कार्यान्वयन प्रक्रिया?

बुटवल : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तारका लागि हवाई रुटको सहजता जति महत्त्वपूर्ण छ, स्थानीय पर्यटन व्यवसायीको सक्रियता पनि त्यत्तिकै आवश्यक देखिएको छ।

नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आए भैरहवा आउने अन्तर्राष्ट्रिय विमानको उडान समय १५ देखि २० मिनेटसम्म घट्नेछ। यसबाट वायुसेवा कम्पनीको सञ्चालन खर्च कम हुनुका साथै विमानस्थलप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार हाल काठमाडौं-भैरहवा हुँदै लखनउ जाने हवाई रुट (बी ३४५) एकतर्फी रूपमा मात्रै सञ्चालनमा छ।

नेपालले लामो समयदेखि उक्त रुटलाई दुईतर्फी बनाउन भारतीय पक्षसँग आग्रह गर्दै आएको थियो। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेपछि रुट सञ्चालनका प्राविधिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

हाल पश्चिमबाट भैरहवा आउने अन्तर्राष्ट्रिय विमानले पर्सा क्षेत्र हुँदै सिमरा र भरतपुर पुगेर पुनः भैरहवातर्फ फर्किनुपर्ने बाध्यता छ।

प्रस्तावित रुट दुईतर्फी सञ्चालनमा आए विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने छैन। यसबाट उडान दूरी करिब १५० नटिकल माइलसम्म घट्ने र विमानको प्रकृतिअनुसार १५ देखि २० मिनेट समय बचत हुने शाह बताउँछन्।

‘विमान कम समय उड्दा इन्धन खपत र सञ्चालन खर्च पनि घट्छ। यसले वायुसेवा कम्पनीलाई भैरहवाबाट उडान गर्न थप सहज बनाउँछ,’ उनले भने, ‘खर्च घटेपछि हवाई टिकटको मूल्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।’

तर, दुईतर्फी रुट सञ्चालनका लागि राजनीतिक तहको सहमतिले मात्रै पुग्दैन। यसका लागि नेपाल र भारतका प्राविधिक टोलीबीच उडान व्यवस्थापनसम्बन्धी विषय टुङ्ग्याउनुपर्नेछ। हाल उक्त रुटमा न्यूनतम १० हजारदेखि अधिकतम ४१ हजार फिटसम्मको उडान तह निर्धारण गरिएको छ।

दुईतर्फी उडान गर्दा आउने र जाने विमानलाई फरक उडान तहमा कसरी व्यवस्थापन गर्ने, विमानले कुन-कुन स्थानमा रिपोर्टिङ गर्ने र हवाई ट्राफिकलाई कसरी सुरक्षित बनाउने भन्ने विषय प्राविधिक रूपमा मिलाउनुपर्ने शाहले बताए।

यसअघि दुवै देशका प्राविधिक टोलीबीच दुईपटक छलफल भइसकेको छ। अब आवश्यक प्राविधिक सहमति जुटेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) बाट अनुमोदन लिनुपर्नेछ।

त्यसपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआईपी) मा नयाँ रुटसम्बन्धी सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। एआईपीमा सूचना प्रकाशित भएको ५६ दिनपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउने भएकाले सबै प्रक्रिया पूरा गर्न केही महिना लाग्न सक्ने उनले जानकारी दिए।

रुटभन्दा पनि यात्रु व्यवस्थापनमा कमजोरी
शाहका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नहुनुको मुख्य कारण यात्रु अभाव मात्रै होइन। सम्भावित यात्रु बजारलाई व्यवस्थित रूपमा वायुसेवा कम्पनीसम्म पुर्याउन नसक्नु पनि प्रमुख समस्या हो।

‘विमानस्थलको यात्रु कुनै एउटा जिल्लाको मात्रै हुँदैन। काठमाडौंमा उडान गर्ने यात्रु काठमाडौंकै मात्रै हुन् त? नेपाली तथा विदेशी यात्रु विभिन्न क्षेत्रबाट आउँछन्,’ उनले भने, ‘उनीहरूलाई विमानसम्म जोड्ने काम ट्राभल एजेन्सी र पर्यटन व्यवसायीको पनि हो।’ भैरहवामा यात्रु छैनन् भन्ने भाष्य बनाउनु उचित नभएको उनको भनाइ छ।

विमानस्थल सञ्चालनमा आएयता अन्तर्राष्ट्रिय उडानतर्फ करिब १ हजार ३०० उडान तथा अवतरण भइसकेका छन् भने ७० हजारभन्दा बढी यात्रुले सेवा लिइसकेका छन्। यसले विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको बलियो सम्भावना रहेको देखाउने शाहको तर्क छ।

विगतमा जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, हिमालय एयरलाइन्स र कतार एयरवेजलगायतका वायुसेवा कम्पनीले यहाँबाट उडान गरेका थिए। तर, ती उडानलाई निरन्तरता दिन सकिएको छैन।

सुरुवाती अवस्थामा अपेक्षित यात्रु नपाउँदा वायुसेवा कम्पनीले व्यावसायिक जोखिम बेहोर्नुपरेको शाहले बताए। त्यसको समाधानका लागि स्थानीय पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले यात्रु सङ्कलन तथा बजार प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने उनको सुझाव छ।

थाई एयर एसियाको विगतको उडान स्मरण गर्दै उनले पर्याप्त यात्रु नहुँदा नियमितता कायम गर्न कठिन भएको बताए। वायुसेवा कम्पनीलाई उडानका लागि आग्रह मात्रै नगरी यात्रु उपलब्ध गराउने वातावरण पनि स्थानीय व्यवसायीले बनाउनुपर्नेमा उनको जोड छ।

भिसा र श्रम स्वीकृतिमै अल्झिनु हुँदैन
विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारणका रूपमा श्रम स्वीकृति, मेडिकल र भिसा सेन्टरको अभावलाई बारम्बार उठाउने गरिन्छ। तर, शाह यसलाई मूल समस्या मान्दैनन्।

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भिसा सेन्टर वा श्रम स्वीकृतिको व्यवस्था अनिवार्य सर्त नभएको उनले स्पष्ट पारे। यस्ता सुविधा नभएका अन्य विमानस्थलबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान भइरहेको उदाहरण दिँदै उनले भैरहवाको बहसलाई आवश्यकताभन्दा बढी एउटै विषयमा केन्द्रित गर्न नहुने बताए।

‘पोखराबाट दैनिक फ्लाई दुबईको उडान भइरहेको छ। त्यहाँ पनि श्रम, मेडिकल र भिसा सेन्टर छैनन्। त्यसो भए त्यहाँ उडान कसरी भइरहेको छ? हामीले गर्नुपर्ने काम नगरेर अरू विषयमा मात्रै अल्झिनु हुँदैन’, उनले भने।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न हवाई सेवा प्रदायकसँग व्यावसायिक सहकार्य, यात्रु व्यवस्थापन र बजार प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

पोखराबाट सिक्नुपर्ने पाठ
नेपालको पर्यटकीय राजधानीका रूपमा परिचित पोखरामा अन्तर्राष्ट्रिय उडान प्रवर्द्धनका लागि स्थानीय पर्यटन व्यवसायीले गरेको प्रयासबाट भैरहवाले पनि सिक्नुपर्ने शाहको सुझाव छ।

विमानस्थल निर्माणमा राज्यले ठुलो लगानी गरिसकेको अवस्थामा त्यसलाई व्यावसायिक रूपमा सञ्चालन गर्न निजी क्षेत्रले पनि जिम्मेवारी लिनुपर्ने उनले बताए।

वायुसेवा कम्पनीसँग प्रत्यक्ष संवाद गर्ने, उडानका लागि यात्रुको सम्भावना देखाउने, ट्राभल प्याकेज तयार गर्ने र आवश्यक परे जोखिम साझेदारी गर्ने काममा स्थानीय व्यवसायी सक्रिय हुनुपर्ने उनको धारणा छ।

‘फ्लाई दुबईसँग यहाँका पर्यटन व्यवसायीले कुन स्तरको सहकार्य गर्नुभयो? यहाँ आएका वायुसेवा कम्पनीले किन उडानलाई निरन्तरता दिन सकेनन् भन्ने विषयमा पनि समीक्षा गर्नुपर्छ,’ शाह भन्छन्, ‘सरकारले विमानस्थल बनाइदिएको छ। अब यसलाई व्यवसायसँग जोड्ने काम पनि हुनुपर्छ।’

मंसिर १०, २०८३ बिहीबार ११:२८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।