हुण्डी कारोबारमा म्युल एकाउन्टदेखि क्रिप्टोकरेन्सीसम्मको प्रयोग, युवाहरूको संलग्नता बढी

हुण्डी कारोबारमा म्युल एकाउन्टदेखि क्रिप्टोकरेन्सीसम्मको प्रयोग, युवाहरूको संलग्नता बढी

काठमाडौं : नेपालमा हुण्डी कारोबारमा युवा, खुद्रा व्यापारी र विप्रेषण कारोबारमा संलग्न सबएजेन्टहरू बढी संलग्न हुने गरेको तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइले शुक्रबार सार्वजनिक गरेको ‘हुण्डी विषयमा रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६’ले २५ देखि ४४ वर्ष उमेर समूहका युवाहरू हुण्डी कारोबारमा बढी संलग्न रहेको देखाएको हो। 

प्रतिवेदनअनुसार नेपालमा हुण्डी कारोबार गर्न ‘म्युल एकाउन्ट’ र क्रिप्टोकरेन्सीदेखि डिजिटल प्रविधिसम्मको प्रयोग हुने गरेको छ। त्यस्तै, नगदको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग गर्ने, नगद ओसारपसार गरी भुक्तानी गर्ने र विप्रेषण सबएजेन्टको प्रयोग गर्नेजस्ता विधि अपनाइने गरेको इकाइले जनाएको छ।

विगतमा द्विपक्षीय हिसाब मिलान र ‘सेटलमेन्ट थ्रु भ्यालु’ मार्फत हुने गरेको हुण्डी कारोबारको फर्स्योट पछिल्लो समय औपचारिक बैंकिङ तथा डिजिटल माध्यमबाटै हुने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ। विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत हुण्डीमार्फत मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र करछलीजस्ता अपराधबाट आर्जित सम्पत्ति शुद्धीकरण हुने तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी हुने जोखिम देखाएको इकाइले जनाएको छ।

इकाइले सूचक संस्था, नियामक तथा सुपरिवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माण एवं समन्वयकारी निकायलाई शङ्कास्पद कारोबार प्रतिवेदनको गुणस्तर सुधार्न, जोखिममा आधारित निगरानी बढाउन, अन्तरनिकाय समन्वय बलियो पार्न, प्राविधिक क्षमता अभिवृद्धि गर्न र जनचेतना विस्तार गर्न सुझाव दिएको छ।

मंसिर ११, २०८३ शुक्रबार १७:४८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।