चितवनको ‘आयोन वाई प्लस’ आगलागीमा ब्याट्री र सर्ट सर्किटको समस्या नदेखिएको जीएसीको निष्कर्ष

चितवनको ‘आयोन वाई प्लस’ आगलागीमा ब्याट्री र सर्ट सर्किटको समस्या नदेखिएको जीएसीको निष्कर्ष

काठमाडौं : चितवनमा गत सेप्टेम्बर ११ मा ‘आयोन वाई प्लस’ विद्युतीय सवारीसाधनमा भएको आगलागी सवारीको ब्याट्री वा विद्युतीय प्रणालीका कारण नभई बाह्य प्रज्वलन स्रोतबाट सुरु भएको दाबी गरिएको छ।

सीजी मोटर्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उत्पादक कम्पनी जीएसी इन्टरनेसनलको अनुसन्धान प्रतिवेदनले वरिष्ठ प्राविधिक टोलीले गरेको विस्तृत अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार अनुसन्धानका क्रममा सवारीसाधनको ट्र्याक्सन ब्याट्री सामान्य अवस्थामा पाइएको छ। ब्याट्रीको माथिल्लो तथा तल्लो आवरण र प्रेसर रिलिफ डिस्कसमेत सुरक्षित रहेकाले आगलागीको स्रोत ब्याट्री नभएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, सवारीसाधनका वायरिङ हार्नेस तथा बरामद विद्युतीय उपकरणहरूको विस्तृत परीक्षण गर्दा सर्ट सर्किटका कारण तार पग्लिएको, विद्युतीय क्षति भएको वा तार जलेर प्वाल परेको कुनै सङ्केत फेला नपरेको जनाइएको छ।

सवारीसाधनका विद्युतीय पार्टपुर्जा वा प्रणालीमा कुनै अन्तर्निहित उत्पादनगत त्रुटि वा खराबी नदेखिएको र आगलागी सवारीसँग असम्बन्धित बाह्य स्रोतबाट सुरु भएको प्रतिवेदनको ठहर छ।

विश्वभर करिब तीन करोड सवारीसाधन उत्पादन गरिसकेको जीएसी इन्टरनेसनलका नेपालमा उपलब्ध सवारीसाधनले अन्तर्राष्ट्रिय गुणस्तर तथा सुरक्षा मापदण्ड पूरा गरेको उल्लेख गर्दै कम्पनीले सुरक्षा, गुणस्तर र विश्वसनीयताका उच्चतम मापदण्ड कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ।

मंसिर ११, २०८३ शुक्रबार १४:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।