उकेराले मिलेमतोको खुलासा गरे लगत्तै कान्ति अस्पतालले रद्द गर्यो ७२ लाखको ‘ल्याब’को टेन्डर, टिचिङको टेण्डर अध्ययनमा
काठमाडौं : कान्ति बाल अस्पतालले बदनीयतपूर्ण रूपमा करिब ७२ लाखमा खरिद गर्नेगरी ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको ‘प्याकेज’ बनाएको उकेराको खुलासा लगत्तै टेन्डर रद्द भएको छ।
उकेराले मंसिर ८ गते टेन्डरमा भएको प्याकेजिङको बदमासीबारे खुलासा गर्दै ‘कान्ति अस्पतालको ७२ लाखको ‘ल्याब’को टेन्डरमा मिलेमतोको प्याकेजिङ’ शीर्षकमा सप्रमाण समाचार सम्प्रेषण गरेपछि अस्पतालले बुधवार सो टेन्डर रद्द गरेको हो।
कान्ति बाल अस्पतालले ७२ लाखको सो टेन्डर रद्द गर्दै बुधवार निकालेको सूचनामा अस्पतालबाट ‘ल्याब कन्जुमेबल आइटम (गुड्स)’ खरिदका लागि कात्तिक १७ मा सूचना प्रकाशित गरिएकोमा सार्वजनिक खरिद ऐनको दफा–२६ र सो को नियमावली २०६४ अनुसार खरिद कारबाही रद्द गरिएको जनाएको छ।
उकेराको खोजमा अस्पतालले करिब ७२ लाखको ल्याब सम्बन्धी टेन्डरमा ‘प्याकेजिङ’ गरेको खुलेको खुलेको थियो। अस्पतालले २०८३ कात्तिक १७ मा एकै दिन करिब एक करोड ९२ लाखमा खरिद गर्नेगरी उस्तै प्रकृतिका दुई टेन्डर आव्हान गरेकोमा एउटा खुला र अर्कोमा भने बदनीयतपूर्ण रूपमा प्याकेजिङ थियो।
करिब ७२ लाखमा खरिद गर्नेगरी ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको टेन्डरलाई ‘प्याकेज’ बनाउँदा अस्पतालले उस्तै प्रकृतिको करिब एक करोड २० लाखमा खरिद गर्नेगरी ८३ किसिमको ‘ल्याब रिएजेन्ट’सँग सम्बन्धित सामग्रीको टेन्डर भने छुट्टाछुट्टै रूपमा प्रस्ताव गर्न मिल्नेगरी ‘आइटमवाईज’ बनाएको थियो।
यसरी एकै दिन टेन्डर आह्वान भएका उस्तै प्रकृतिका दुई टेन्डरमध्ये एउटाको प्याकेज अनि अर्कोको भने छुट्टाछुट्टै सामग्रीको लागि छुट्टाछुट्टै सप्लायर्सले टेन्डर प्रस्ताव गर्न मिल्नेगरी किन मापदण्ड राख्दा प्रस्टै मिलेमतो भएको देखिएको थियो।
यसरी प्याकेज बनाएर टेन्डर गर्दा चाहेको निश्चित कम्पनीलाई सप्लायर्सलाई अनुकूल हुनेगरी प्याकेज बनाइदिएर उसैलाई टेन्डर स्वीकृति गरिदिने रणनीति नै हुन्छ। यी दुईमध्ये एउटा टेन्डरमा पनि यही समस्या देखिएको थियो।
अस्पतालले खरिद कानुनको छिद्रमा खेल्दै करिब ७२ लाखमा ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको एउटै ‘प्याकेज’ बनाएर निकालिएको टेन्डरमा जो सप्लायर्सले ५१ वटै सामग्री दिन सक्छ उसैलाई मात्रै टेन्डर दिने रणनीति देखिएको थियो।
अस्पतालले करिब एक करोड २० लाखमा ८३ किसिमको ‘ल्याब रिएजेन्ट’सँग सम्बन्धित सामग्रीको टेन्डर ‘आइटमवाईज’ बनाउने तर करिब ७२ लाखमा ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको एउटै ‘प्याकेज’ बनाएकाले प्याकेजको यो टेन्डरमा उकेराले बदनियतको पोल खोलिदिएपछि अस्पतालले टेन्डर नै रद्द गरेको हो।
असम्बन्धित सामग्री राखेर प्याकेज बनाउनु भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचार हो नै। यो टेन्डरमा उस्तै प्रकृतिका दुई टेन्डरमध्ये एउटाको प्याकेज बनाउने अनि अर्कोको प्याकेज खुला गराउनुले समेत कानुनी छिद्रमा खेलेर भ्रष्टाचारकै नियत राखेको थियो।
भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र कान्ति बाल अस्पतालले अगाडि बढाएको तर बुधवार रद्द गरेको टेन्डरको मापदण्ड हेर्दा सिधै भ्रष्टाचार नै हुने देखिएको थियो। ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
अस्पतालले यो टेन्डरको २०८३ मंसिर १० गते बिहीबार मध्याह्न १२ बजे सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको थियो। तर उकेराको समाचारपछि बुधवार नै अस्पतालले टेन्डर रद्द गरेको छ।
अस्पतालले प्याकेज बनाएर करिब ७२ लाखमा खरिद गर्ने गरी अगाडि बढाएको तर बुधवार रद्द गरेको ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’को टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केसीएच।गुड्स।एनसीबी।०८।०८३।०८४’ हो।
अस्पतालले उस्तै प्रकृतिको करिब एक करोड २० लाखमा प्रत्येक ८३ किसिमकै सामग्रीको छुट्टाछुट्टै रूपमा टेन्डर प्रस्ताव गर्न मिल्नेगरी ‘आइटमवाईज’ गरेर गरेको ल्याब रिएजेन्टसँग सम्बन्धी टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केसीएच।गुड्स।एनसीबी।०७।०८३।०८४’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ ,‘सप्लाई एन्ड डेलिभरी अफ ल्याब रिएजेन्ट।’ मंसिर १० गते बिहीबार मध्याह्न १२ बजे सम्ममा टेन्डर प्रस्ताव गरिसक्नु पर्ने यो टेन्डर भने कान्ति बाल अस्पतालले अगाडि बढाएको छ। यो टेन्डर पनि शङ्का रहित भने देखिँदैन।
टिचिङको टेन्डर हेर्दै मन्त्रालय
त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले २०८३ असोज २३ मा एकै दिन करिब ८ करोड ३६ लाखमा नौ किसिमका मेसिन, औजार तथा उपकरण खरिद गर्नेगरी अगाडि बढाएको अधिकांश टेन्डरका सर्त निश्चित उत्पादक कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी बनाइएको विषयमा स्वास्थ्य मन्त्रालयले आन्तरिक खोजबिन शुरु गरेको छ।
उकेराले सोमबार यसबारे समाचार प्रकाशित गरेको थियो। त्रिवि शिक्षण अस्पतालले २०८३ असोज २३ मा ‘सिलबन्दी बोलपत्र आह्वान’को सूचना प्रकाशित गर्दै एकै दिन करिब ८ करोड ३६ लाखको नौ किसिमका मेसिन, औजार तथा उपकरणको टेण्डर प्रक्रिया अगाडि बढाएको छ।
उकेराको अध्ययनमा अधिकांश मेसिन तथा उपकरणको प्राविधिक स्पेशिफिकेशन माइन्डरेका उत्पादकमात्र योग्य हुने सर्त राखेर बनाइएको खुलेको छ। अर्कोमा नाकासिशी इन्कको उत्पादनका प्राविधिक बुँदाहरू राखेर लक्ड गरिएको छ। यसैगरी कार्लजस्टोर्ज, पेन्टाक्स र ‘इर्वे’ सँग लक्ड गरेको देखिएको थियो।
यसबारे प्रधानमन्त्रीको सचिवालयले विशेष चासो राखेको र राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आन्तरिक रुपमा छानबिन शुरु गरेको स्रोतले उकेरालाई बतायो।
मंसिर ९, २०८३ बुधबार २०:५५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।