दिल्लीमा हराएको वालेन्द्रको ‘भित्ते राष्ट्रवाद’

दिल्लीमा हराएको वालेन्द्रको ‘भित्ते राष्ट्रवाद’

काठमाडौं : नेपालको इतिहासको पाना पल्टाउँदा कहिलेकाहीँ यस्ता मोड आउँछन्, जहाँ हिजोको आक्रामक अडान र आजको कूटनीतिक यथार्थ आमनेसामने भइदिन्छन्। यस्तै देखियो प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमण।

हिजो काठमाडौँ महानगरपालिकाको मेयरहुँदा उग्र राष्ट्रवादी छवि देखाउँदै भारतले मिचेको लिपुलेक र लिम्पियाधुराfसहितको नक्सा मात्र हैन, सुगौली सन्धिमा गुमेको नेपाली भूभागसहितको ग्रेटर नेपालको नक्सा कार्यकक्षको भित्तामा झुन्ड्याएर चर्चामा आएका वालेन्द्र , आज प्रधानमन्त्रीको हैसियतमा नयाँ दिल्लीको हैदराबाद हाउसमा उभिँदा भने सीमा विवाद जस्तो महत्वपूर्ण विषयमा चुँक्क बोलेनन्।

प्रधानमन्त्री शाहको दुई दिने राजकीय भारत भ्रमणले जति आर्थिक प्याकेजसहितको सहमतिका बुँदाले उत्साह ल्यायो, नेपालको सार्वभौमिकता र सीमा विवादमाथि त्यति नै गम्भीर प्रश्न जन्मायो। प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिको बुँदामा सीमा समस्या त उल्लेख छ तर सबैभन्दा जटिल लिपुलेक र लिम्पियाधुराबारे केही उल्लेख छैन।

भारत भ्रमण सकेर प्रधानमन्त्री शाह नेपाल फर्कँदा नफर्कँदै भारतीय पक्षले लिपुलेक र लिम्पियाधुरा भारत र चीनको सीमा क्षेत्र भएको र यसबारे प्रधानमन्त्री शाहले कुनै कुरा नगरेको गम्भीर दाबी समेत सार्वजनिकै गर्यो।

के दिल्ली वार्तामा लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा ओझेलमा परेकै हो? अनि भारतीय विदेश सचिव विक्रम मिस्रीले दिल्लीमा दिएको अभिव्यक्तिले कतातिर सङ्केत गर्छ? यसैबारे चिरफारको प्रयास गरेका छौँ।

OOO

नेपाल र भारतबीच करिब १ हजार ८५० किलोमिटर लामो खुला सीमा छ। अधिकांश स्थानमा सीमा स्पष्ट रहे पनि पश्चिमी सीमाको करिब ३७२ वर्ग किलोमिटर क्षेत्र-जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक पर्दछन् त्यो दशकौँदेखि विवादको केन्द्रमा छ। 

सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो। महाकाली नदीको वास्तविक उद्गमस्थल लिम्पियाधुरा हो। तर, सन् १९६२ को भारत–चीन युद्धपछि कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज बसेसँगै यो विवादको जन्म भयो। अहिले त भारत नेपालको गम्भीर मुद्दा सुन्नै नचाहने मुडमा पुगेको छ। यता आफ्नै प्रधानमन्त्री पनि यसबारे बोल्नै नसक्ने अवस्थामा पुगेको देखियो।

कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतले हडपेको अहिले हैन, विषय पुरानै हो। तर यसबारे राष्ट्रिय तहमा बहसको प्रारम्भ गरेको थिएन। जब उसले २०७६ साल कात्तिक १६ जम्मू–कश्मीर पुनर्गठनपछि जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेट्यो त्यसपछि यो विवाद उत्कर्षमा पुग्यो।

भारतले चीनसँग मिलेर पहिला नै लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक बनाइरहेको थियो। यसमा नेपालले औपचारिक रूपमै आपत्ति जनाइरहेको थियो। उसले वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधानको साटो मिचाहा व्यवहार गर्दै नेपाली भूभागै आफ्नो नक्सामा राखिदियो।

त्यसको प्रभाव नेपालमा पर्ने नै भयो। पर्यो पनि। तर विडम्बना, त्यो बेलामा नेपालमा सरकारी तहमै चल्तीमा रहेको नेपालको नक्सामै लिपुलेक अनि लिम्पियाधुराको भूभागै गायब रहेको नयाँ तथ्य खुल्यो। त्यसपछि नेपालले लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बनायो र २०७७ साल असार ४ गते सर्वसम्मत रूपमा संविधान संशोधन गरेर नयाँ चुच्चेनक्सा संविधानमै राख्यो। सबै सरकारी कामकाजमा नयाँ नक्सा प्रयोगमा ल्यायो।

नेपालको निर्णयबारे भारतले असन्तुष्टि जनाउँदै कूटनीतिक प्रतिवाद गरे पनि नेपाली पक्षले लिपुलेक र लिम्पियाधुरा नेपालको भएको अडान राखिरहे। केपी ओली हुन या पुष्पकमल दाहाल प्रचण्ड हुन् दुवै प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा यो विषय छुटाएनन्। 

सीमा व्यापारमा सहमति गरेकाले यसमा चीन पनि जोडिएको थियो नै। केपी ओली चीन भ्रमणमा जाँदा समेत यो विषय उठाएका थिए। यसबाट भारत चिढिएको थियो। लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा त बन्यो, तर भूमि फिर्ताका लागि प्रभावकारी पहल भएन। कूटनीतिक नोटमै सीमित रह्यो यो विषय। 

OOO

२०८२ फागुनको निर्वाचनपछि जेनजी पुस्ताको लहर र परम्परागत दलप्रतिको वितृष्णाको जगमा वालेन्द्र शाह देशको प्रधानमन्त्री बने। प्रधानमन्त्री बन्नुअघि उनी सीमा र राष्ट्रियताका विषयमा निकै आक्रामक देखिएका थिए। चीन र भारतले लिपुलेक नाकाबाट व्यापार गर्ने सहमति गर्दा उनले सामाजिक सञ्जालमार्फत तीव्र विरोध जनाएका थिए। आफ्नो कार्यकक्षमा चुच्चे नक्सा हैन, टिस्टासम्मको ग्रेटर नेपालको नक्सा राखेका थिए। 

काठमाडौंको मेयरहुँदा आफ्नो कार्यकक्षमा राखिएको ग्रेटर नेपालको नक्सा अगाडि बालेन।तर, सत्ताको बागडोर सम्हालेपछि उनको भाषा र शैलीमा नाटकीय परिवर्तन देखियो। गत जेठ १७ गते प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले "भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ" र "सीमा विवाद समाधानका लागि बेलायत सरकारसँग पनि कुरा गरेका छौँ" भन्ने अभिव्यक्ति दिए।

विपक्षीले संसद् अवरुद्ध गरे, सडकमा आलोचना भयो। पछि चितवनमा आयोजित पार्टी महाधिवेशनमा उनले बेलायतलाई मध्यस्थकर्ता बनाउन नभई ऐतिहासिक प्रमाण जुटाउन खोजेको, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने भन्दै स्पष्टीकरण दिएका थिए। 

प्रधानमन्त्री भएपछि शाह कूटनीतिक प्रोटोकलमा कडा देखिएका थिए। उनको भारत भ्रमणबारे छलफल गर्न नेपाल आउने तयारी गरेका भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न अस्वीकार गरेपछि तय भएको भ्रमणै स्थगित भएको थियो। 

तर पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणको तरंग, आन्तरिक राजनीतिमा आइरहेको उतारचढावकाबीच बालेनले आफैँ भारत भ्रमणमा जाने अभ्यास सुरु गरे। त्यसपछि तिनै मिस्री भ्रमणको चाँजो मिलाउन नेपाल आए र बालेनले कुनै आनाकानी नगरी मिस्रीलाई भेटे। र, उनी मंसिर ६ र ७ गते ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित नयाँ दिल्ली गए।

दिल्ली भ्रमणमा भारतले नेपालको विकासका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्यो। अयोध्या र जनकपुरबिच 'सरयू–कमला एक्सप्रेस' रेल सेवाको भर्चुअल उद्घाटन भयो। सीमा विवादबारे बालेनले दिल्लीमा के भन्लान्? मुख्य चासो त यो पनि थियो। तर सबैभन्दा बढी चासो रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबीचको औपचारिक वार्ताको मुख्य एजेन्डा नै बनेन। अझ भारतीय पक्षको दाबी अनुसार, बैठकमा लिपुलेक, अग्निवीर गोर्खा भर्तीजस्ता विषयमा कुरै उठेन। 

OOO

प्रधानमन्त्री शाहको भ्रमण लगत्तै भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विदेश सचिव मिस्रीले द्विपक्षीय वार्ताका उपलब्धिहरू सार्वजनिक गर्दा नेपाल र भारतबीचको सीमा विवादबारे कूटनीतिक रूपमा अर्थपूर्ण जवाफ दिए।

प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको भारत भ्रमणमा सीमाबारेको उपलब्धी।उनले लिपुलेक र लिम्पियाधुरामा नेपालको दाबी ठाडै अस्वीकार गर्दै यो भारत र चीनको सीमा रहेको यो विषयमा कुनै विवाद नरहेको दाबी गरे। उनले सो क्षेत्र भारतकै भएकाले त्यही नाक हुँदै भारतले सडक निर्माण गरेको दाबी गरे। लिपुलेक र लिम्पियाधुरा नेपाल र भारत दुवैको प्रशासनिक नक्सामा छ। तर भारतीय पक्ष सीमामा विवाद छ र यो दुबैपक्षबीचको कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा नरहेको मिस्रीको अभिव्यक्तिले देखायो।

यसमा अर्को अर्थपूर्ण पक्ष, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले गरेको सम्बोधन पनि हो जहाँ यो विषय पुरै ओझेलमा पारियो। सम्बोधनमा उनले साहित्यिक शब्दहरू प्रयोग गर्दै नेपाल भारतको सम्बन्ध अतुलनीय रहेको, हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको बताए। नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ भन्दै धर्मसँग जोडे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नागरिकलाई नेपाल भ्रमणको निम्तो दिए र भने- नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बहोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्। तर उनले लिपुलेक र लिम्पियाधुराबारे कुनै शब्द उच्चारण गरेनन्।

OOO

देशको सार्वभौमसत्ताबारे सरोकारवाला देशको भ्रमणकोक्रममा सम्बन्धित देशको प्रधानमन्त्री मौन रहनु सामान्य विषय हैन, किनकि कूटनीतिमा मौनताको पनि आफ्नै अर्थ हुन्छ। भारतमा कुनै र्यापर हैन नेपालका प्रधानमन्त्री गएका थिए। त्यहाँ गम्भीर विषयमा मौन बसेका पनि र्यापर हैन नेपालका प्रधानमन्त्री हुन्।

यसरी प्रधानमन्त्री वालेन्द्रको पहिलो द्विपक्षीय भारत भ्रमणले सामाजिक सञ्जालबाट राष्ट्रियताको नारा लगाउनु जति सजिलो छ, सत्ताको कुर्सीमा बसेर शक्तिशाली छिमेकीसँग भूभागको हिसाबकिताब माग्नु त्यति नै जटिल छ भन्ने देखियो।

भारतको आर्थिक प्याकेज, रेल सञ्जाल र ऊर्जा व्यापारले नेपालको आर्थिक विकासमा तत्काल राहत दिन सक्छ। विपद्का बेला भारतले गरेको सहयोग र विकास साझेदारीलाई अवमूल्यन गर्न पनि मिल्दैन।  तर आर्थिक र प्राविधिक सहयोगसँग देशको जमिन साट्न सकिन्न। यति गम्भीर विषयमा प्रधानमन्त्री शाहको मौनताले शंका बढाएको छ, कतै प्रधानमन्त्री वालेन्द्रले आर्थिक र प्राविधिक सहयोगको लोभमा लिपुलेक र लिम्पियाधुरा नै साटेर त आएनन्?

मंसिर ९, २०८३ बुधबार २२:१७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।