बोडे होल्डिङ सेन्टरका सुकुमबासीलाई स्थानीय प्रशासनको चेतावनी : दुई दिनमा खाली गर्नु

बोडे होल्डिङ सेन्टरका सुकुमबासीलाई स्थानीय प्रशासनको चेतावनी : दुई दिनमा खाली गर्नु
बोडेको होल्डिङ सेन्टर पुगेको संसदीय समितीलाई ज्ञापन पत्र दिँदै प्रभावित। तस्बिर : फाइल

काठमाडौँ : काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित बनाएर भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूलाई दुई दिन भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको छ। बुधवार दिउँसो होल्डिङ सेन्टरमै पुगेर सूचना टाँसेर होल्डिङ सेन्टरबाट सबै विस्थापितलाई शुक्रबार दिउँसो २ बजे सम्म निस्कन स्थानीय प्रशासनले निर्देशन दिएको हो। 

१५ दिनमा व्यवस्थापन गर्ने भनेर बाक्लो सुरक्षा बलको आडमा उपत्यकाको विभिन्न १९ बस्तीबाट विस्थापित गरिएकाहरूलाई अहिले करिब सात महिना पछि सरकारले त्यत्तिकै होल्डिङ सेन्टरबाट निकाल्न खोजिएको हो। यसअघि पनि सरकारले होल्डिङ सेन्टरमा खाना नै रोकेर विस्थापितलाई पटक पटक निष्कासन गर्ने प्रयास गरेको थियो। तर स्थायी बसोबासको व्यवस्थापन नभए सम्म होल्डिङ सेन्टर नछोड्ने विस्थापितहरूले अडान लिएका थिए। 

तर बुधवार टाँसेको सूचनापछि स्थायी बसोबासको व्यवस्थापन हुने आशा मरेको बताउँछिन्, बोडे स्थित होल्डिङ सेन्टरमा बसिरहेकी एक विस्थापित। उनी आफै अहिले शारीरिक रूपमा अशक्त छिन्। सानी नानीहरूको साथमा विगत सात महिना देखि सरकारको भर परेर बसिरहेकी उनी यस सूचना पछि के गर्ने, कहाँ जाने भनेर डर लगाएको बताउँछिन्। 

उनी भन्छिन्, “अस्ति नै एक हप्ता पछि खाली गर्नु भन्नुभएको थियो। तर यस्तो त हामीलाई पटक पटक भनिरहनु हुन्छ। म आफै हस्पिटल गइराख्नु पर्नेछ। यस्तोमा फेरि सामान सार्दै कहाँ कोठा खोज्न जानु! मेरो त नानीहरू पनि सानो छन्। हामीलाई त आपत् पर्यो।” 

सुरुवातको तीन महिना कीर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरू त्यही पनि बाढीको सिकार बन्नुपरेको थियो। त्यसले गर्दा बाँकी भएको सामानहरू सबै हिलोले बिग्रेको थियो। अब कोठा कहाँ खोज्ने? कोठा पाइहालेमा के सामान राखेर गुजारा गर्ने? भन्ने समस्या भएको उनले बताइन्।  

अर्को होल्डिङ सेन्टरमा रहेका विस्थापित पनि त्रसित  

व्यवस्थापनको जिम्मा लिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका पदाधिकारीहरू आएर सूचना टाँसेको थियो। आजको सूचनाले गर्दा भक्तपुरकै खरिपाटीमा रहेको अर्को होल्डिङ सेन्टरका विस्थापितहरू समेत त्रसित छन्। किन भने केही समय अघि उनीहरूलाई पनि बोडेमा जसरी नै होल्डिङ सेन्टर खाली गर्न मौखिक निर्देशन दिइसकेको थियो। 

“हाम्रोमा पनि सूचना टाँस गर्न आउने कुरा सुनेको छु। आजै आउने कुरा थियो रे। अब भोली आउने होला। दिउँसो प्रहरी पनि गेटमा टन्नै छ भन्ने सुनेको थिएँ। यो खबर सुने देखि म बाहिर हेर्न पनि गएको छैन,” खरिपाटी होल्डिङ सेन्टरबाट डम्बर बहादुर तामाङले भने, “अब फेरी वैशाख १२ जस्तै जे गर्नु छ गरुन्। बोल्न पनि डर लग्न पर्ने अवस्था छ। व्यवस्थापन गर्ने भनेर यसरी बिजोग चैँ बनाउन हुन्थेन सरकारले।”

तामाङ यस अघि सरकार विरुद्ध भूमिहीन सुकुमबासी मोर्चाले गरेको आन्दोलनमा सहभागी जनाउँदै माइतीघरमा आएका थिए। त्यस बखत प्रधानमन्त्री विरुद्ध बोलेको भनेर उनलाई पक्राउ समेत गरिएको थियो। त्यसपछि सरकार विरुद्ध परिवारले नबोल्न भनेको उनले बताए।      

सरकारको अन्याय विरुद्ध आन्दोलन गर्ने कुरा अघि बढे पनि धेरै विस्थापितले अब आन्दोलन नगर्ने भन्दै होल्डिङ सेन्टर छोडिरहेको समेत उनले बताए। “म त के भन्ने नभन्ने। अन्योलमा छौँ। हाम्रो लागि बोल्ने भन्दा पनि उल्टै विरुद्धमा बोल्ने छन्। बरु सुरुमै चुप लागेर डेरा बसेको भए यति धेरै दुख त पाउँदिन थिएँ भन्ने लाग्छ। हामी गरिब सुकुमबासी सबैको दुस्मन रहेछौँ,” उनले भने। 

उनको पनि दुई साना नानीहरू छन्। काठमाडौँकै सामुदायिक विद्यालयमा पढिरहेकी उनीहरूलाई बल्लबल्ल होल्डिङ सेन्टरमा बस लिन आउने र पुर्याउने गर्ने सरकारले व्यवस्था गरेको थियो। तर अब फेरि एकपटक नानीहरूको पढाई बिग्रने भयो भनेर पनि उनी चिन्तित छन्।  

थापाथलीको सुकुमबासी बस्तीबाट गत वैशाख १२ मा डोजर चलाएर सरकारले उपत्यकाको सुकुम्बासी बस्ती भत्काउने अभियान चलाएको थियो। त्यसपछि शान्तिनगर, मनोहरा लगायतका ठुला बस्तीमा समेत डोजर पुग्यो। विस्थापितलाई होल्डिङ सेन्टरमा राख्ने भनेर उपत्यका बाहिर समेत केही समय राख्यो। तर त्यसबेला १५ दिन भित्रै वैकल्पिक व्यवस्थापन गर्ने भनिएको पछि मन्त्रीपरिषद् ‘आफ्नो व्यवस्था आफै गर्न’ भनेर निर्देशन समेत दिइसकेको थियो।  

के छ आजको टाँसेको सूचनामा ?

‘होल्डिङ सेन्टर खाली गर्नेसम्बन्धी सूचना’ शीर्षकमा जारी गरिएको सूचनामा ‘भूमिहीन नठहरिने भएका र जग्गा देखिएका सम्पूर्ण व्यक्तिहरूलाई यही मिति २०८३/०८/११ गते १४:०० बजे भित्र होल्डिङ सेन्टर खाली गर्नु हुन सूचित गरिन्छ’  भनिएको छ। 

त्यस्तै ‘जग्गा नदेखिएका परिवारहरूको हकमा नेपाल सरकारले घरभाडा स्वरूप तोकिदिएको सुविधा समेत बुझिलिनु हुन अनुरोध छ’ पनि उल्लेख गरेको देखिन्छ। जस अनुसार ‘जग्गा देखिएको’ र नदेखिएको गरी सम्पूर्ण विस्थापितलाई त्यहाँबाट हट्न निर्देशन दिएको देखिन्छ। सूचना अनुसार जम्मा सात परिवारको नाममा जग्गा देखिएको समेत भनिएको छ। 

तिहार अघि सम्म २१ परिवारका ६२ जना आश्रित यस होल्डिङ सेन्टरमा अहिले भने १९ परिवारका ५९ जना आश्रित छन्। केही समय अघि यही होल्डिङ सेन्टरमा एक सुकुम्वासीले आत्महत्या समेत गरेका थिए।   

मंसिर ९, २०८३ बुधबार २२:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।