मेघौली सराईमा तीनमहिने ‘सेयर्ड एक्सप्रेसन्स’ कला प्रदर्शनी सुरु
चितवन : चौधरी फाउन्डेसनको पहलमा सञ्चालित उन्नति कल्चरल भिलेजले चितवन राष्ट्रिय निकुञ्जस्थित ‘मेघौली सराई, अ ताज सफारी होटल’ मा सामूहिक कला प्रदर्शनी आयोजना गरेको छ।
‘सेयर्ड एक्सप्रेसन्स- ह्वेर इन्डिभिजुअल स्टोरिज मिट कलेक्टिभ क्रिएटिभिटी’ शीर्षकको उक्त प्रदर्शनी २६ नोभेम्बर २०२६ देखि २५ फेब्रुअरी २०२७ सम्म तीन महिना अवलोकनका लागि खुला रहनेछ।
प्रदर्शनीमा छ जना युवा तथा उदाउँदा नेपाली कलाकारहरू आर्या उदास, दोर्जे छिरिङ शेर्पा, इभा केसी, मनस्वी दाहाल, अग्रिमा राज्यलक्ष्मी राणा र प्रतिवा खड्काका कलाकृति राखिएका छन्।
चित्रकला, प्रिन्ट तथा परम्परागत हस्तकलाबाट प्रेरित सिर्जनामार्फत उनीहरूले सांस्कृतिक पहिचान, व्यक्तिगत स्मृति, प्रकृति, आध्यात्मिकता, मानवीय सम्बन्ध र समसामयिक सामाजिक विषयवस्तुलाई प्रस्तुत गरेका छन्।
प्रदर्शनी अवलोकनका क्रममा वडा सदस्य शेरबहादुर कुमाल, चितवन राष्ट्रिय निकुञ्ज रेन्जर पोस्टका गौरव बोहोरा, नवनियुक्त सुरक्षा इन्चार्ज चुडामणि पौडेल, निकुञ्जकी पार्वती बुढाथोकी तथा पहाडी जितपुर टोल सुधार समितिका अध्यक्ष आसाराम दराईलगायत स्थानीय प्रतिनिधि एवं विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
सो क्रममा यार्सागुम्बाको बीचमा दोर्जेलाई चित्रण गरिएको कलाकृति हेरेर बोहोराले आफ्नो बाल्यकालसमेत स्मरण गरेका थिए।
युवा तथा उदाउँदा कलाकारलाई सिर्जना सार्वजनिक गर्ने मञ्च प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, परम्परागत हस्तकला र सिर्जनशीलताको विविधता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उन्नति कल्चरल भिलेजले जनाएको छ।
मंसिर ११, २०८३ शुक्रबार १४:४९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।