त्रिवि प्राङ्गणमा पूजाको सट लिँदै सुरु भयो फिल्म ‘सेतो कोट’को सुटिङ

त्रिवि प्राङ्गणमा पूजाको सट लिँदै सुरु भयो फिल्म ‘सेतो कोट’को सुटिङ

काठमाडौं : बाल गायकका रूपमा उदाएका अशोक दर्जीको बाल्यकाल र किशोरावस्थाको कथामा बनेको फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ले हलमा उत्साहजनक साथ प्राप्त गर्यो। फिल्ममा उनको अभिनयलाई दर्शकले साथ दिए। त्यसपछि उनी अभिनेत्री नीता ढुङ्गानाले निर्देशन गरेको फिल्म ‘पार्वती’मा देखिए।

नीतापछि अब अशोक अर्की अभिनेत्री पूजा शर्मासँग स्क्रिन सेयर गर्दैछन्। फरक पुस्ता र पृष्ठभूमिका यी दुई कलाकारलाई एउटै पर्दामा जोड्ने काम गरेका हुन्, लेखक तथा निर्देशक शिवम् अधिकारीले। अधिकारीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सेतो कोट’मा पूजा र अशोक मुख्य भूमिकामा देखिँदै छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको प्राङ्गणमार्फत फिल्मको सुटिङ सुरु गरिएको छ। जसमा पूजा शर्माको पहिलो सट लिँदै छायाङ्कन सुरु भएको घोषणा गरियो। काठमाडौँ र मकवानपुरमा खिचिने यो फिल्ममा मिनु शर्मा ‘सपना’र सन्देश थापा ‘काजी’ले लगानी गरेका छन्। 

पूजा र अशोकको अलावा फिल्ममा नीर शाह,सुमित्रा दाहाल, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’,सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापासम्मले अभिनय गर्दैछन्। यो फिल्मबाट दर्शकले पूजा शर्मा र अशोक दर्जीको अभिनयलाई कतिको रुचाउलान् त? भन्ने प्रश्न त सुरु भइसकेको छ। 

त्यसका लागि यस फिल्मको प्रदर्शन मिति कुर्नु बाहेक अर्को विकल्प छैन। पूजा शर्मा आफैले अभिनय र केही प्रतिशत लगानी गरेको फिल्म ‘३६ को आँकडा’ भने प्रदर्शनको संघारमा छ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको प्रमोसन तथा हल्लाखल्लामा भन्दा उनी दुई वटा फिल्म ‘एक्का तीन’ र ‘सेतो कोट’मा व्यस्त हुने देखिन्छिन्।

मंसिर १०, २०८३ बिहीबार १९:१२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।