फिल्म ‘२६ करोड’ खिच्न काठमाडौं आए चर्चित छायांकार आर्टुर
काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने नयाँ फिल्म ‘२६ करोड’को छायांकनका लागि एसिएन तथा युरोपेली फिल्मका अनुभवी छायांकार आर्टुर जुराव्स्की काठमाडौं आइपुगेका छन्। शनिबार नेपाल आइपुगेका उनी आइतबारदेखि फिल्मको वर्कसपमा सहभागी भइसकेका छन्।
फिल्मको छायांकन आगामी मंसिर १५ गतेदेखि सुरु हुने तय भएको छ। बिकास सुबेदीको निर्देशनमा बन्ने यस फिल्मको हाल निर्माण पक्ष र प्राविधिक टोलीबीच आन्तरिक कार्यशाला भइरहेको छ। निर्माता सुभाष भुसालका अनुसार कार्यशाला सकिए लगत्तै मंसिर तेस्रो साताबाट क्यामेरा रोल हुनेछ।
पोल्यान्ड, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाली फिल्म उद्योगमा काम गरेको अनुभव रहेका आर्टुरको नेपाली फिल्ममा यो दोस्रो सहकार्य हो। यसअघि उनले निर्देशक सुबेदीकै फिल्म ‘सिरजरा’को छायांकन गरेका थिए। उनले खिचेका फिल्महरूले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा विभिन्न पुरस्कार जितिसकेका छन्।
आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्ममा अभिनेता प्रदीप खड्कासँगै बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी सारा अरएल शाह मुख्य भूमिकामा देखिनेछिन्। किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको कथा तथा पटकथा निर्देशक सुबेदी स्वयंले तयार पारेका हुन्।
यसअघि गत असोज पहिलो साता भारतको मुम्बईस्थित ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा बलिउड अभिनेता ओबेरोयको समेत उपस्थितिमा एक भव्य समारोहबीच फिल्म निर्माणको घोषणा गरिएको थियो।
मंसिर ८, २०८३ मंगलबार १५:४१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।