‘सिन्दुरे जात्रा’की अभिनेत्री अञ्जनाले प्रश्न मोड्दै भनिन्- मलाई कन्ट्रोभर्सीमा पर्नु नै छैन
सुजन चापागाईंको गीत ‘घुमी घुमी’मा मोडलिङपछि ठूलो पर्दामा भित्रिएकी अभिनेत्री अञ्जना बराइलीको अभिनयको यात्रा छोटो छ। तर, छोटै यात्रामा सुपरहिटदेखि सुपरफ्लपसम्म फिल्महरूको अनुभव लिइसकिन् उनले।
‘महापूरुष’ हुँदै ‘पूजार सार्की’,‘पूर्णबहादुरको सारङ्गी’,‘परान’,‘डोरी’ हुँदै उनी फिल्म ‘सिन्दुरे जात्रा’मा आइपुगेकी छन्। नेपाली फिल्मको इतिहासमा ४८ करोडको सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गीकी अभिनेत्री उनी अहिले सोही फिल्मका निर्देशक जोडिएको ‘सिन्दुरे जात्रा’मा जोडिएकी छन्।
फिल्मी यात्रा, अभिनय गरेका फिल्म सूपरफ्लपदेखि सुपरहिट हुँदासम्मको अनुभव अनि समग्र फिल्म क्षेत्रका बारेमा उकेराकर्मी भोला अधिकारीसँगको उनीसँग गरेको संवादको सम्पादित अंश:
‘सिन्दुरे जात्रा’ले कतिको व्यस्त बनाइरहेको छ?
म अर्को फिल्म ‘साम्राज्य’को सुटमा पनि थिएँ। त्यसले गर्दा पनि अलिकति गाह्रो भइरहेको छ। ‘सिन्दुरे जात्रा’ रिलिज हुँदैछ। म र विजय दाइ(विजय बराल) नै साम्राज्यको सेटमा छौँ।
दुई जना नै सुटिङमा भएर प्रचारप्रसारका लागि कतै हिँडिरहन पाइएको छैन। अहिले यहाँ हुँदा त ठिकै छ, गरिराछ भन्ने हुन्छ। आफ्नो फिल्म रिलिज भइराछ, यता पनि छोडेर हिँड्न मिलिरा छैन भन्ने कुराले उता (साम्राज्यको सेटमा)गइसकेपछि भित्रैबाट नराम्रो लागिरहेको जस्तो हुन्छ।

एउटा फिल्म प्रदर्शनको तयारीमा अनि अर्कोको सुटिङ चलिरहेको भनेपछि त डिमान्ड राम्रै बढेको देखियो। समय चैँ कसरी मिलाइरहनु भएको छ त?
अब मिलाउनु नै पर्यो। अलिक गाह्रो चैँ भएकै छ। आफ्नो फिल्म रिलिज हुने बेला भइरहेको छ, अब हामी नहिँडे को हिँड्छ? एडजस्ट गरिरहेका छौँ।
‘सिन्दुरे जात्रा’मा पनि उही ‘पूर्णबहादुरको सारङ्गी’को जस्तै भूमिका हो?
एउटा गाउँले परिवेशकै कथा हो। कथा आजभन्दा ठ्याक्कै ५०-६० वर्ष अगाडिको परिवेश हो। अहिले पनि लगभग ग्रामीण भेगबाट नै कथा प्रस्तुत गरिरहेका छौँ। तर यो पाली पात्रका लागि अलिक बढी नै काम गरेको छु।
तपाईंले काम गरेका फिल्ममध्ये ‘पूर्णबहादुर सारङ्गी’जतिको त कुनै फिल्मले व्यापार गरेका छैनन्? यो फिल्ममा जोडिनुको कारण उही निर्देशक भएर हो कि?
यो फिल्ममा आउनुअघि मेरो ‘पुजार सार्की’को काम भइरहेको थियो। यो समयमा फिल्म लेखक महेश दवाडी (पूर्णबहादुरको लेखक)दाइले नोटिस गर्नु भएको रहेछ। उहाँसँग त मेरो पहिलाबाट नै चिनजान थियो।
एउटा प्रोजेक्ट गर्ने भनेर भेट पनि भएको थियो। दाइलाई पनि ‘घुमी घुमी’गीत एकदमै मन पर्ने।
सरु भन्ने पात्र मन परेको भएर दाइले सारङ्गीको बाटुली हुन्छ कि भनेर बोलाउनु भएको थियो। खासमा म त्यसरी गएको थिएँ। यता दाइले पूजार सार्की पनि हेरिसक्नुभएको भनेपछि अन्जनाले काम गर्न सक्छिन् भनेर बोलाउनु भएको थियो। र काम पनि गरे।

अलग टिमसँग काम गर्नु परेको भए?
यस्तो हो,तपाईंले एकचोटी कोही मान्छेलाई भेट्नुभएको छ, फेरि दोस्रो चोटि त्यो मान्छेलाई भेट्दा तपाईंलाई इजी हुने हो। अब नयाँ मान्छेलाई भेट्दा जस्तो अप्ठ्यारो लाग्ने होइन फेरि। हामीले कति जनासँग दोहोर्याएर काम गर्न सकिन्छ र?
हरेक चोटि नयाँ टिमसँग काम गर्नुपर्ने हुन्छ। उहाँहरूसँग एउटा छुट्टै लगाव छ। परिवारवाला सम्बन्ध छ। त्यो भएर पनि काम गर्न सजिलो भयो। नयाँ हुन्थ्यो भने पनि मैले आफ्नो साइडबाट लगाउने इफोर्ट त त्यहीँ नै हुन्थ्यो।
फिल्मको टिजरमा विवाह भएको देखाइएको छ। पर्दामा त विवाह देखियो, अब वास्तविक जीवनमा चैँ कहिले देख्न पाइएला?
अहिले त हुँदैन। उमेर पनि खासै भएको छैन, भर्खर २७ भए। फिल्ममा काम गर्नै बाँकी छ। फिल्ममा काम गर्न थालेको भर्खर ३ वर्ष भयो। ८/९ वटा मात्रै त फिल्म भयो। कामै गर्न बाँकी छ।
बाँकी भिडियोमा :
मंसिर ९, २०८३ बुधबार ११:५३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।