बास नदिई निकाल्ने सरकार मुर्दावाद ! : रित्तो थालसहित बोडे होल्डिङ सेन्टरको गेटमा विस्थापित, गेटमा हतियारसहित प्रहरी
काठमाडौं : शुक्रबार बिहानको पारिलो घाममा काठमाडौंका विभिन्न विद्यालयको कक्षाकोठामा हुनुपर्ने बालबालिकाहरू भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरको गेटबाहिर पलेँटी कसेर बसेका छन्।
उनीहरूको अगाडि स्टिलका रित्तो थाल, बटुका र चम्चाहरू लहरै राखिएका छन्। हातमा छन्- सेतो कागजमा कलमले लेखिएका आक्रोश र याचनाका नाराहरू।
कोही ‘व्यवस्था नगरी हटाउन पाइँदैन!’ लेखिएको पर्चा समातेका छन् त कोहीले ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन!’ लेखेका छन्।
सँगै बसेका अर्का बालकले ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद!’ लेखिएको कागज उचालेका छन् भने छेवैमा बसेकी एक महिलाको हातमा ‘होल्डिङ सेन्टर उठिबास बन्द गर!’ लेखिएको पर्चा छ।

बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रित १९ परिवारका ५९ जना विस्थापित शुक्रबार बिहानैदेखि यसरी रित्तो थाल ठटाएर प्रदर्शनमा उत्रिएका हुन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न अल्टिमेटम दिएपछि उनीहरू आन्दोलित बनेका छन्।

विस्थापितहरूका अनुसार बिहीबार बेलुकी खाना बाँडिसकेपछि त्यहाँ खाना खुवाउँदै आएको ‘शान्ति सेवा’ नामक संस्थालाई समेत सरकारले भाँडाकुँडासहित हट्न निर्देशन दिएपछि आज बिहानैदेखि चुलो निभेको छ।
भोकै परेका विस्थापितहरूले आफ्ना सामानसमेत भित्रै छाडेर गेटबाहिर धर्ना दिएका छन्।

आज काठमाडौंका विभिन्न स्थानमा पढ्न जानुपर्ने स्कुले बालबालिकाहरू विद्यालय गएनन्। दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने अभिभावकहरू पनि काममा निस्कन सकेनन्।
काखमा दूधेबालक बोकेका आमा, बुवा र ज्येष्ठ नागरिकहरू अनिश्चित भविष्यको चिन्ता बोकेर सडक किनारमै भेला भए।

प्रदर्शनकारीहरूको ठीक सामुन्ने भने हेलमेट, बुलेटप्रुफ ज्याकेट, ढाल र हतियारसहितका दङ्गा नियन्त्रण प्रहरीको बाक्लो तैनाथी देखिन्छ।
गत वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारका बस्ती भत्काउँदा १५ दिनभित्र उचित व्यवस्थापन गर्ने आश्वासनसहित राखिएका विस्थापितहरू सात महिना बितिसक्दा पनि स्थायी बासको टुङ्गो नलाग्दा होल्डिङ सेन्टरमै अड्किएका छन्।

प्रशासनले जग्गा देखिएका ७ परिवार र नदेखिएका १२ परिवार सबैलाई २ बजेभित्र निस्कन भनेपछि त्यसविरुद्ध बोडे, खरिपाटी र इचङ्गुनारायण सेन्टरका पीडितहरूले बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए।
तर, माग सुनुवाइ हुनुको साटो खाना नै रोकिएर २ बजेको समयसीमा नजिकिएपछि बोडेका विस्थापितहरू रित्तो थालसहित सडकमै उत्रिन बाध्य भएका हुन्।


मंसिर ११, २०८३ शुक्रबार १४:१२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।