वीरगञ्जस्थित क्यासिनोबाट अनधिकृत रूपमा जुवा खेल्ने र खेलाउने १२ नेपाली पक्राउ
वीरगञ्ज : पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा अनधिकृत रूपमा प्रवेश गरी जुवा खेलिरहेका र खेलाइरहेका १२ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मङ्सिर १० गते राति करिब ११:५० बजे वीरगञ्ज महानगरपालिका-१० लोहारपट्टी चोकस्थित ‘फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि.’ (क्यासिनो)मा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जुवा खेल्ने ९ जना र नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने ३ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार जुवा खेल्ने कार्यमा संलग्न वीरगञ्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह पक्राउ परेका छन्।
त्यस्तै, पर्साकै पर्सागढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय बिनोदकुमार लो र काठमाडौँको साँखुका ४० वर्षीय राजेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुली पक्राउ परेका छन्।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर ११, २०८३ शुक्रबार १०:२२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।