चीन भ्रमणबारे महामन्त्री आचार्यले गरे सभापति लामिछानेलाई ब्रिफिङ
काठमाडौं : चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्।
नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङलगायत स्थानको भ्रमण गरी आचार्य नेतृत्वको २० सदस्यीय टोली बिहीबार नेपाल फर्किएको थियो।
ब्रिफिङमा आचार्यले चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी गराएका थिए।
केन्द्रीयदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएका संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा साङ्गठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा अन्तरपार्टी सहकार्य सुदृढ बनाउने विषयमा गहन राजनीतिक छलफल भएको उनले उल्लेख गरे।
त्यस्तै, भ्रमणका क्रममा विभिन्न उद्योग-व्यवसायको अवलोकन तथा अन्तरक्रियाका साथै विपद् पूर्वतयारी र विपद्पश्चात्को रणनीतिबारे गरिएको अवलोकन एवं छलफलबारे पनि उनले सभापति लामिछानेलाई अवगत गराए। भेटघाटका क्रममा नेपाल-चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे खुला संवाद भएको आचार्यले बताए।
भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा देखेका, सिकेका र छलफल भएका विषयलाई पार्टीभित्र र देश विकासमा लागू हुने गरी कार्यान्वयनमा लैजान सभापति लामिछानेले महामन्त्री आचार्यमार्फत भ्रमण दललाई निर्देशन दिएका छन्।
मंसिर ११, २०८३ शुक्रबार १३:२७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।