बाढीले झोलुङ्गे पुल बगाएपछि बुढीगण्डकीमाथि तुइन

बाढीले झोलुङ्गे पुल बगाएपछि बुढीगण्डकीमाथि तुइन
फाइल तस्बिर

गोरखा : बाढीले झोलुङ्गे पुल बगाएपछि धार्चे गाउँपालिकाका बासिन्दालाई लक्षित गरी बुढीगण्डकी नदीमाथि तुइन जडान गरिएको छ। जडानसँगै तुइनबाट वारपारसमेत सुरु भएको छ।

झोलुङ्गे पुल महाशाखाले धार्चे गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुई वटा तुइन जडान गरेको हो।

यसअघि धार्चे-३ को खोर्लाबेँसी र धार्चे-२ को केरौँजाबेँसी जोड्ने अर्को तुइन सञ्चालनमा ल्याइएको थियो। एक पटकमा दुई जनासम्म वारपार गर्न सकिने तुइन सञ्चालनमा स्थानीय युवाले सहयोग गर्दै आएका छन्।

तुइन जडानपछि केरौँजा, लामाबेँसी तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई नदी तर्न केही सहज भए पनि यात्रा भने जोखिमपूर्ण रहेको स्थानीय फिरेन्द्र घलेले गुनासो गरे। उनले तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

मंसिर ११, २०८३ शुक्रबार ११:३९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।