बोडे होल्डिङ सेन्टरमा विस्थापितको खाना रोकियो
काठमाडौं : सरकारले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टर खाली गर्न शुक्रबार दिउँसो २ बजेसम्मको अल्टिमेटम दिए पनि त्यसअघि नै त्यहाँ आश्रित विस्थापित सुकुमबासीहरूको खाना नै रोकिएको छ।
बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा खाना खुवाउँदै आएको ‘शान्ति सेवा’ नामक संस्थालाई बिहीबार बेलुकी खाना बाँडिसकेपछि सबै भाँडाकुँडासहित हट्न प्रशासनले निर्देशन दिएको हो।
उक्त संस्था हिजै बेलुकी बाहिरिएपछि सेन्टरमा आश्रित १९ परिवारका ५९ जना विस्थापित शुक्रबार बिहानैदेखि भोकै परेका छन्।
खानासमेत रोकिएर बिचल्लीमा परेपछि विस्थापितहरू अहिले थाल ठटाएर प्रदर्शन गर्ने तयारीमा जुटेको होल्डिङ सेन्टरमा बसिरहेका एक सुकुम्बासीले उकेरालाई जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मङ्सिर ९ गते भूमि समस्या समाधान समितिको पत्रलाई आधार मान्दै होल्डिङ सेन्टरमा सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो।
सूचनामा बोडे सेन्टरमा रहेकामध्ये ७ परिवारको नाममा जग्गा देखिएकोले भूमिहीन नठहरिने र जग्गा नदेखिएका १२ परिवारको हकमा सम्बन्धित स्थानीय तहबाट निस्सा तथा सरकारले तोकेको घरभाडा सुविधा बुझिलिएर सेन्टर खाली गर्न भनिएको छ।
यता, प्रशासनको उक्त सूचनाको विरोधमा बोडेसहित खरिपाटी र इचङ्गुनारायण होल्डिङ सेन्टरका विस्थापित प्रतिनिधिहरूले बिहीबार नै भक्तपुरका प्रमुख जिल्ला अधिकारीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
वैकल्पिक स्थायी आवास तथा उचित व्यवस्थापन सुनिश्चित नगरी जबर्जस्ती नहटाउन, जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन नठहर्याउने निर्णय पुनरावलोकन गरी स्थलगत छानबिन गर्न र पूर्वप्रतिबद्धताअनुसार आवास तथा क्षतिपूर्ति दिलाउन उनीहरूले माग गरेका छन्।
गत वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारका बस्ती भत्काउँदा १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासनसहित राखिएका विस्थापितहरू सात महिना बितिसक्दा पनि स्थायी बास नपाउँदा सरकारी होल्डिङ सेन्टरमै कष्टकर जीवन बिताउन बाध्य छन्।
मंसिर ११, २०८३ शुक्रबार ११:११:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।