‘मिस युनिभर्स’को ताज पहिलो पटक विवाहित आमालाई, भिसाकै कारण जान पाइनन् नेपालकी प्रयासना
काठमाडौं : प्युर्टो रिकोकी २७ वर्षीया सामाजिक कार्यकर्ता जेनिफर बारेटोले घरेलु भूमिमै ‘मिस युनिभर्स २०२६’ को ताज जितेकी छन्।
विवाद र विभिन्न देशको बहिर्गमनकाबीच मंगलबार राति सान जुआनमा सम्पन्न ७५औँ संस्करणको ग्रान्ड फिनालेमा ११५ प्रतिस्पर्धीलाई पछि पार्दै बारेटो विजेता बनेकी हुन्।
तीन वर्षअघि आयोजकले विवाहित महिला र आमाहरूमाथि लगाइएको प्रतिबन्ध हटाएयता मिस युनिभर्सको उपाधि जित्ने बारेटो पहिलो विवाहित महिला तथा पहिलो आमा बनेकी छन्।
प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज फर्स्ट रनर-अप र भेनेजुएलाकी क्लारा भेगास सेकेन्ड रनर-अप घोषित भए।
मंगलबार साँझको फिनालेमा प्रारम्भिक चरणको अङ्कका आधारमा छनोट भएका ३० सुन्दरीले स्विमसुट चरणमा प्रतिस्पर्धा गरेका थिए। त्यसपछि १२ जना इभिनिङ गाउन राउन्डमा र अन्तिम ५ जना प्रश्नोत्तर चरणमा पुगेका थिए।
एआईको विकासबीच कुन मानवीय मूल्य कहिल्यै गुमाउनु हुँदैन भन्ने निर्णायकको प्रश्नमा बारेटोले स्पेनी भाषामा जवाफ दिँदै एआईलाई जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्ने बताइन्।

“यदि एआईले हाम्रा मूल्यहरूलाई जोखिममा पार्छ भने ती कहिल्यै वास्तविक मूल्य थिएनन्,” उनले भनिन्, “विशेषगरी कठिन परिस्थितिमा पनि हाम्रो बोली र व्यवहारबिच देखिने एकरूपतामै वास्तविक मूल्य निहित हुन्छ।”
चौथो पटक मिस युनिभर्स आयोजना गरेको प्युर्टो रिकोको यो समग्रमा छैटौँ उपाधि हो।
अमेरिका र भेनेजुएलापछि सबैभन्दा धेरै उपाधि जित्ने देश प्युर्टो रिको बनेको छ। यसअघि सन् २००१ मा पनि घरेलु भूमिमा डेनिस क्विनोनेसले प्युर्टो रिकोलाई ताज दिलाएकी थिइन्।
भिसा ढिलाइले छुटेकी थिइन् नेपालकी प्रयासना
फिनाले समारोह भव्य रूपमा सम्पन्न भए पनि यस वर्षको प्रतियोगिता सुरु हुनुअघि नै अनेक विवाद र भिसा अड्चनका कारण दर्जनौँ देश बाहिरिनुपरेको थियो।
नेपालसहित पाँच अफ्रिकी मुलुकका सुन्दरीहरू अमेरिकी भिसा प्राप्त गर्न भएको कठिनाइ र ढिलाइका कारण प्रतियोगिताबाट बाहिरिएका थिए। प्युर्टो रिको स्वशासित अमेरिकी क्षेत्र भएकाले त्यहाँ जान अमेरिकी भिसा आवश्यक पर्छ।
नेपालबाट ‘मिस युनिभर्स नेपाल २०२६’ की विजेता प्रयासना गुरुङ प्रतियोगितामा सहभागी हुन पाइनन्। भैरहवाकी २४ वर्षीया प्रयासना गत सेप्टेम्बर २७ मा काठमाडौंमा सम्पन्न १०औँ संस्करणबाट ताज पहिरिँदै नेपालको पहिलो विवाहित मिस युनिभर्स नेपाल बनेकी थिइन्।

बेलायतमा अध्ययन गरी महिला सशक्तीकरण अभियान चलाउँदै आएकी गुरुङले राष्ट्रिय ताज जितेको दुई महिनाभन्दा कम समयमै नोभेम्बर २४ को विश्व प्रतियोगितामा सहभागी हुनुपर्ने थियो।
तर, अमेरिकी भिसा स्वीकृतिमा ढिलाइ भएको र भिसासम्बन्धी थप प्रक्रिया समयमै पूरा हुन नसकेपछि नोभेम्बर १० तिर उनले सामाजिक सञ्जालमार्फत भावुक सन्देश जारी गर्दै प्युर्टो रिको जान नसक्ने जानकारी दिएकी थिइन्।
मिस युनिभर्स अर्गनाइजेसन र मिस युनिभर्स नेपालले अन्तिम समयसम्म प्रयास गरे पनि समय अपुग भएको उनको भनाइ थियो। यससँगै मिस युनिभर्सको इतिहासमा नेपालको यो पहिलो अनुपस्थिति बन्न पुग्यो।
यद्यपि, गुरुङले अब थप तयारीसहित सन् २०२७ को मिस युनिभर्स मा नेपालको प्रतिनिधित्व गर्ने घोषणा गरेकी छन्।
ठेक्का विवाद र पारदर्शितामाथि प्रश्न
यस वर्ष दक्षिण-पूर्वी एसियाका छ देश इन्डोनेसिया, लाओस, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र भियतनामका सुन्दरीहरू पनि फाइनलमा अनुपस्थित रहे।
ती देशमा छनोट प्रतियोगिता सञ्चालन गर्ने थाई व्यवसायी नवाट इत्साराग्रिसिल र मिस युनिभर्स अर्गनाइजेसनबिचको व्यावसायिक तथा ठेक्का विवादका कारण उनीहरू बाहिरिएका हुन्। इत्साराग्रिसिलले सीएनएनसँग निर्णायक छनोट, अङ्क प्रमाणीकरण र स्वार्थको द्वन्द्वबारे पारदर्शिता खोज्दै सुधारको माग गरेका छन्।
सन् २०२५ को संस्करणमा भोट–धाँधली र पक्षपात भएको आरोप लागेपछि ‘मिस युनिभर्स फ्रान्स’ ले मे महिनामा आफ्नी प्रतिनिधि फिर्ता बोलाएको थियो। पछि आयोजकले आफ्नै चयन समितिमार्फत ग्यारेन्स अथिएलाई पठाएको थियो, जो मङ्गलबार शीर्ष १२ मा पुगिन्।

गत वर्ष फाइनलको तीन दिनअघि निर्णायक ओमर हरफौचले नतिजा पहिले नै तय गरिएको र विजेता मेक्सिकोकी फातिमा बोसका बुबाको मिस युनिभर्सका सह-मालिक राउल रोचा कान्तुसँग व्यावसायिक सम्बन्ध रहेको आरोप लगाउँदै राजीनामा दिएका थिए। यद्यपि, रोचा र संस्थाले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
यस वर्ष पनि फिनालेको एक दिनअघि मात्र निर्णायक मण्डल सार्वजनिक गरिएको थियो भने स्वतन्त्र लेखापरीक्षक संस्था ‘अर्न्स्ट एन्ड योङ’ प्रतियोगिताबाट बाहिरिएको तीन वर्ष भइसकेको छ।
प्रतियोगिताको ‘नेसनल कस्ट्युम’ चरणमा इजरायली सुन्दरी ड्यानियल याब्लोन्काले अङ्ग्रेजी, हिब्रु र अरबी भाषामा ‘शान्ति’ लेखिएको पहिरन लगाएर मञ्चमा उत्रिँदा केही दर्शकले हुटिङ गरेका थिए। यद्यपि, विवादका बाबजुद ल्याटिन अमेरिकी समुदायमाझ कार्यक्रमको लोकप्रियता कायमै रहेको प्रसारक टेलिमुन्डोले जनाएको छ।
मंसिर ९, २०८३ बुधबार १३:३९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।