हेटौँडामा ट्रकले किच्दा ६४ वर्षीया महिलाको मृत्यु, मोटरसाइकल चालक श्रीमान् घाइते

हेटौँडामा ट्रकले किच्दा ६४ वर्षीया महिलाको मृत्यु, मोटरसाइकल चालक श्रीमान् घाइते

मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ कर्रामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

मङ्सिर १० गते साँझ करिब ५:३५ बजे पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्रामा मोटरसाइकल अनियन्त्रित भई लड्दा विपरीत दिशाबाट आउँदै गरेको ट्रकले किचेर हेटौँडा-४ श्रमिक टोल बस्ने अन्दाजी ६४ वर्षीया लक्ष्मीदेवी पाठकको मृत्यु भएको हो।

प्रहरीका अनुसार पशुपतिनगरतर्फबाट कर्रातर्फ आउँदै गरेको बा.प्र. ०३-००५ प ५१४९ नम्बरको मोटरसाइकल दाहिनेतर्फ घर जाने बाटोमा मोड्ने क्रममा अनियन्त्रित भई लडेको थियो।

सोही क्रममा विपरीत दिशा अर्थात् हेटौँडा बजारतर्फबाट कर्रातर्फ जाँदै गरेको ना ८ ख ११६१ नम्बरको खाली डिब्बा ट्रकको बायाँतर्फको पछाडिको चक्काले मोटरसाइकलको पछाडि सवार पाठकलाई किचेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएकोमा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका श्रीमान् अन्दाजी ७० वर्षीय श्यामप्रसाद पाठक घाइते भएका छन्। मोटरसाइकलले च्यापिँदा दाहिने खुट्टामा सामान्य चोट लागेका उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनालगत्तै प्रहरीले ट्रक र ट्रक चालक हेटौँडा-१३ पदमपोखरी बस्ने अन्दाजी ४४ वर्षीय मनराज थोकरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा लिएको छ भने मोटरसाइकल वडा प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा छ।

वडा प्रहरी कार्यालय सानोपोखराबाट करिब एक किलोमिटर दक्षिण-पश्चिममा भएको उक्त दुर्घटनास्थलमा प्रहरी सहायक निरीक्षकद्वय वीरबहादुर यादव र विष्णु नेपालीको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली खटिएर उद्धार तथा थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

मंसिर ११, २०८३ शुक्रबार ०९:५०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।