ग्लोबल आइएमई बैंक ‘भिसा’ का दुई प्रतिष्ठित अवार्डबाट सम्मानित
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलको दुई विधाको अवार्डबाट सम्मानित भएको छ।
भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा सम्मान गरिएको हो।
ग्राहकको बदलिँदो आवश्यकताअनुसार नवीनतम प्रविधिमा आधारित डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन र ग्राहक सुविधा विस्तार गरेबापत बैंकले उक्त सम्मान प्राप्त गरेको जनाएको छ।
बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’, सन् २०२२, २०२४ र २०२५ को ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता अन्तर्राष्ट्रिय सम्मानसमेत हासिल गरिसकेको छ।
मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन विदेशी प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ।
साथै, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको बैंकले उल्लेख गरेको छ।
मंसिर ११, २०८३ शुक्रबार १०:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।