नागढुङ्गा सुरुङमार्गमा आवश्यक ‘एन-ट्याग’ अब सानिमा बैंकका देशभरका शाखाबाटै पाइने
काठमाडौं : नेपालकै पहिलो आधुनिक सडक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआइडी प्रविधिमा आधारित ‘एन-ट्याग’अब सानिमा बैंक लिमिटेडका देशभर रहेका शाखाहरूबाट सहजै लिन सकिने भएको छ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ।
सवारीसाधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैँ कट्टा भई गेट खुल्ने बैंकले जनाएको छ।
यस प्रणालीले यात्रुलाई लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव प्रदान गर्नेछ।
बैंकले यो सेवा काठमाडौंभित्र मात्र सीमित नराखी देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएकाले उपत्यकाबाहिरका सवारीधनीले समेत नजिकैको शाखाबाट सहजै एन-ट्याग जडान गर्न सक्नेछन्।
एन-ट्यागमा ईसेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवामार्फत रिचार्ज गर्न सकिने व्यवस्था गरिएको छ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय गौरवको पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताए
एन-ट्यागसम्बन्धी थप जानकारीका लागि नजिकैको सानिमा बैंकको शाखा वा बैंकको ग्राहक सेवामा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
मंसिर ११, २०८३ शुक्रबार १०:३१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।