नेपाल-जापान फेस्टिभलमा यामाहा ‘एक्सएसआर १५५’ को नयाँ भेरियन्ट सार्वजनिक
काठमाडौं : एमएडब्लु राइड्सले यामाहा ‘एक्सएसआर १५५’ मोटरसाइकलको नयाँ ‘खरानी-हरियो मेटालिक’ कलर भेरियन्ट सार्वजनिक गरेको छ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेपाल-जापान फेस्टिभल २०२६’ मा उक्त भेरियन्ट सार्वजनिक गरिएको हो।
नयाँ भेरियन्टको मूल्य ५ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक (कालो) भेरियन्टकै मूल्य हो। यससँगै एक्सएसआर १५५ अब खरानी-हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँच रङमा उपलब्ध भएको छ।
रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यस मोटरसाइकलमा भेरिएबल भल्भ एक्चुएसन (भीभीए) इन्जिन, डेल्टा बक्स फ्रेम, ६-स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता विशेषता रहेका छन्।
कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल-जापानबीचको ७० वर्ष लामो मित्रता तथा सन् १९५५ मा स्थापित यामाहा मोटरको ७१ वर्षे यात्रा स्मरण गर्दै नेपाली ग्राहकसमक्ष जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन समूह प्रतिबद्ध रहेको बताए।
फेस्टिभलमा परम्परागत जापानी कोटो सङ्गीत, ताइको ड्रमिङ, जापानी क्यालिग्राफी र कस्प्लेलगायतका सांस्कृतिक प्रस्तुतिसमेत राखिएका थिए।
मंसिर ११, २०८३ शुक्रबार १०:००:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।