निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनमा राहुघाट जलविद्युत् आयोजना

निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनमा राहुघाट जलविद्युत् आयोजना

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ।

रघुगङ्गा गाउँपालिकामा निर्मित यस आयोजनाको परीक्षण अवधि पूरा गरी व्यावसायिक उत्पादन थालिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

असोज ६ गतेदेखि सुरु भएको परीक्षण असोज ११ गते कालीगण्डकी नदीको बाढीले तिल्केनीचौरस्थित विद्युतगृह परिसरमा कटान गर्दा लम्बिएको थियो। ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, कोभिड-१९, बाढीपहिरो तथा नदीजन्य सामग्री उत्खननमा रोकलगायत कारणले आयोजना निर्माणमा ढिलाइ भएको केसीले बताए।

रघुगङ्गा-४ दग्नाम र ५ झिँको फेदीमा बाँध तथा वडा नं. ३ तिल्केनीचौरमा विद्युतगृह रहेको आयोजनामा ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्य्राउने पोखरी निर्माण गरिएका छन्।

आयोजना प्रमुख राजबहादुर विष्टका अनुसार बाँधस्थलसम्म ११ किलोमिटर पहुँचमार्ग, एक बेलिब्रिज र विद्युतगृहको स्वीचयार्डदेखि कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड्न चारवटा टावर निर्माण गरिएको छ।

२०७५ चैतमा विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भएको यस आयोजनाबाट वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन हुने लक्ष्य छ।

सुरुमा ३२ मेगावाट क्षमतामा निर्माण गर्न प्राधिकरणले २०६७ कात्तिक १८ गते भारतीय कम्पनी आइभीआरसीएलसँग रु २ अर्ब ५० करोडमा सिभिल ठेक्का सम्झौता गरेको थियो। तर, पाँच वर्षमा भौतिक प्रगति १२ प्रतिशतमा सीमित भएपछि २०७२ सालमा ठेक्का रद्द गरियो।

त्यसपछि २०७३ सालमा कम्पनी मोडेलमा क्षमता बढाएर ४० मेगावाट पुर्याई भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र प्राधिकरणको लगानीमा इपिसी प्रारूपमा काम अघि बढाइएको हो।

पुनः ठेक्का प्रक्रियाबाट २०७४ मङ्सिर ६ गते भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग करिब रु ६ अर्बमा सिभिल तथा २०७६ कात्तिकमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग करिब १ करोड २ लाख ९३ हजार अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल सम्झौता भएको थियो। २०८१ साउन १५ गते मुख्य सुरुङ जोडिएको यो आयोजना चारपटक म्याद थपपछि सम्पन्न भएको हो।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाकै जलविद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाटपछि भित्रिएका १० वटा आयोजना यसअघि नै सम्पन्न भइसकेको उल्लेख गर्दै ढिलै भए पनि राहुघाटले व्यावसायिक उत्पादन थाल्नु उत्साहजनक रहेको बताए।

मंसिर ११, २०८३ शुक्रबार ०८:३१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।