हसिनाको स्वदेश फिर्तीको योजना बङ्गलादेश सरकारद्वारा अस्वीकार, फर्किए पक्राउ गर्ने चेतावनीसँगै सीमामा सतर्कता
एजेन्सी : बङ्गलादेश सरकारले भारतमा निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई पूर्ण रूपमा अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने पक्राउ गरिने स्पष्ट पारेको छ।
सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ। हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो।
तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताए।
कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे। उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए।
हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ। सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि हसिना भारतमा रहँदै आएकी छन्। उनको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ। राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ।
सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानुनी कारबाही गरिने जानकारी दिएको छ। डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो। सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बङ्गलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा यो दिवस मनाइन्छ।
मंसिर ८, २०८३ मंगलबार १६:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।