छोरीलाई मात्र होइन, छोरालाई पनि समानता सिकाउन मन्त्री बादीको जोड
काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न सबै पक्ष एकजुट हुन आह्वान गरेकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ को शुभारम्भका अवसरमा बुधबार आयोजित र्यालीलाई सम्बोधन गर्दै मन्त्री बादीले लैङ्गिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय कार्ययोजना समेत विमोचन गरिन्।
कार्ययोजनालाई कागजमा मात्र सीमित नराखी सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयमा प्रभावकारी कार्यान्वयन गरिने उनले बताइन्।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०सम्म चल्ने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ सुरु भएको हो।
मन्त्री बादीले घरेलु तथा यौनजन्य हिंसा, बालविवाह, दाइजो, छाउपडी, जातीय विभेद, मानव बेचबिखन र डिजिटल हिंसा अझै गम्भीर चुनौती रहेको उल्लेख गरिन्।
विशेषगरी दलित तथा एकल महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, बालिका र सीमान्तकृत समुदाय बढी जोखिममा रहेको बताउँदै उनले न्याय पहुँचवालाका लागि मात्र नभई सबैका लागि समान हुनुपर्नेमा जोड दिइन्।
पहुँच, शक्ति वा पदका आधारमा दोषीले उन्मुक्ति पाउन नहुने र प्रहरीले पीडितको उजुरी संवेदनशीलतापूर्वक ग्रहण गर्नुपर्ने उनले स्पष्ट पारिन्।
अभियानलाई र्याली र नारामा मात्र सीमित नराख्न आग्रह गर्दै उनले छोरीलाई मात्र सुरक्षित रहन सिकाएर नपुग्ने भएकाले छोरालाई पनि घरबाटै सम्मान, समानता र जिम्मेवारी सिकाउनुपर्ने बताइन्।
“हिंसा सहनु बाध्यता होइन, हिंसाविरुद्ध बोल्नु अधिकार हो र न्याय सुनिश्चित गर्नु राज्यको दायित्व हो,” मन्त्री बादीले भनिन्, “हाम्रो अभियान १६ दिनको भए पनि हाम्रो जिम्मेवारी वर्षका ३६५ दिनकै हो।”
मंसिर ९, २०८३ बुधबार १२:१३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।