भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका तीन हजार ९१५ जना व्यक्तिलाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले सरकारसमक्ष सिफारिस गरेको छ। 

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले कानुनी तथा प्रमाणीकरणको प्रक्रिया पूरा भएर आएपछि उक्त सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस गरिएका व्यक्तिहरूमध्ये ४८ जिल्लाबाट यकिन भएर आएका तीन हजार २९२ जना स्वदेशी र १९ वटा विदेशी नियोगबाट यकिन भएर आएका ६२३ जना विदेशी नागरिक रहेका छन्।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृत्युको घोषणा गर्न सक्ने प्रावधान छ।

सोही व्यवस्थाअनुरूप स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णय तथा विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीलाई आधार मानिएको हो। उक्त नामावलीमाथि दाबी पेश गर्न प्राधिकरणले यसअघि दुई चरणमा सात दिने सार्वजनिक सूचनासमेत प्रकाशन गरेको थियो।

त्यसैगरी, बैठकले ‘सबैका लागि पूर्व सूचना’ राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सम्ममा नेपालमा सबै समुदायलाई प्रकोप पूर्व सूचना उपलब्ध गराउन बहप्रुकोप पूर्व सूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्न लक्ष्य लिएको छ।

साथै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३  एवं कार्ययोजना, २०८३/८४-२०९१/९२ र वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना, २०८३-२०८७ पनि स्वीकृत गरेको छ।

बैठकले जोखिममा रहेका विभिन्न तीन जिल्लाका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्नसमेत अनुमति दिएको छ। स्वीकृतिअनुसार डडेल्धुराको आलिताल गाउँपालिका-१ को भोका गाउँ, माला गाउँका २४ घरधुरीलाई र सोही स्थानीय तहको वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई सोही गाउँपालिकाका सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।

त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ७ को मुडुङ्गे बस्तीका ४० घरधुरीलाई सोही स्थानीय तहको फुदवाङमा र गोरखाको चुमनुब्री गाउँपालिका-३ देवल गाउँका ३२ घरधुरीलाई सोही पालिकाको फिलिम गाउँमा स्थानान्तरण गर्न बैठकले स्वीकृति दिएको छ। 

मंसिर १०, २०८३ बिहीबार २२:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।