चिसो बढेसँगै काठमाडौंको हावा बिग्रिँदै, बिहान र साँझ प्रदूषण बढी (तस्बिरहरू)

चिसो बढेसँगै काठमाडौंको हावा बिग्रिँदै, बिहान र साँझ प्रदूषण बढी (तस्बिरहरू)
मल्टी एक्सपोजरमा खिचिएको तस्बिर

काठमाडौं : जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम तीव्र बनेको छ भने सँगसँगै वायु प्रदूषणको स्तर पनि जोखिमपूर्ण विन्दुतिर उक्लिन थालेको छ। गत साता वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) बढेर निकै अस्वस्थ स्तरमा पुगेको थियो।

वातावरण विभाग काठमाडौं महानगरपालिकाको वायु गुणस्तर ड्यासबोर्ड र 'आईक्यूएयर' को तथ्याङ्कअनुसार बिहीबार बिहान उपत्यकाको औसत वायु गुणस्तर सूचकाङ्क ८७ देखि ११७ को बीचमा मापन गरिएको छ।

गत मङ्सिर ३ गते बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८३ सम्म पुगेको थियो, जसका कारण काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको थियो। उक्त सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रोमा बङ्गलादेशको ढाका प्रदूषित सहरका रूपमा सूचीकृत भएका थिए।

उपत्यकाका प्रमुख मापन केन्द्रहरूको बिहीबार बिहानको विवरणअनुसार रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकाङ्क ९२ देखि १०१, शङ्खपार्कको ८८ देखि १०१, भक्तपुरको ७३ देखि १०७ र भैँसेपाटीको ६८ देखि ८६ को बीचमा रेकर्ड गरिएको छ। मापन विवरणअनुसार घाम लाग्नुअघि बिहान र साँझको समयमा वायु प्रदूषण उच्च रहने गरे पनि दिउँसो भने केही मात्रामा घट्ने गरेको देखिन्छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार १५१ देखि २०० सम्मको वायु गुणस्तर सूचकाङ्कलाई ‘अस्वस्थकर’ मानिन्छ। यस्तो प्रदूषित वायुले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, मुटुका बिरामी तथा दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घ रोगीहरूलाई बढी जोखिममा पार्दछ।

बढ्दो सहरीकरण, सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा निस्कने धुलो, थोत्रा सवारीसाधनले फाल्ने धुवाँ उपत्यकाको वायु बिगार्ने प्रमुख कारण हुन्। त्यसमाथि कचौरा आकारको यहाँको भौगोलिक बनावटका कारण पनि चिसो मौसममा तल्लो तहमा रहेको प्रदूषित हावा बाहिरिन नपाउँदा उपत्यकावासी अस्वस्थकर हावामा सास फेर्न बाध्य बनिरहेका छन्। 

​​​​​​​

मंसिर १०, २०८३ बिहीबार १७:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।