विदेश पठाउने भन्दै सात जनासँग २४ लाख ठगी, चार जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भनेर रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार धादिङको सिद्धलेक गाउँपालिका-३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका-९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा पक्राउ परेका हुन्।
निजहरूमध्ये विज्ञानले दुई जनाबाट १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट पाँच लाख ५० हजार लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
मंसिर १०, २०८३ बिहीबार १७:०७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।