कान्ति अस्पतालको ७२ लाखको ‘ल्याब’को टेन्डरमा मिलेमतोको ‘प्याकेजिङ’
काठमाडौं : कान्ति बाल अस्पतालले सार्वजनिक आव्हान गरेको दुई मध्ये ७२ लाखको ल्याब सम्बन्धी टेन्डरमा ‘प्याकेजिङ’ गरेको खुलेको छ। अस्पतालले २०८३ कात्तिक १७ मा एकै दिन करिब एक करोड ९२ लाखमा खरिद गर्नेगरी उस्तै प्रकृतिका दुई टेन्डर आव्हान गरेको थियो। एक खुला गर्दा अर्कोमा भने प्याकेजिङ छ।
करिब ७२ लाखमा खरिद गर्नेगरी ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको टेण्डरलाई ‘प्याकेज’ बनाएको छ। अस्पतालले उस्तै प्रकृतिको करिब एक करोड २० लाखमा खरिद गर्नेगरी ८३ किसिमको ‘ल्याब रिएजेन्ट’सँग सम्बन्धित सामग्रीको टेन्डर भने छुट्टाछुट्टै रूपमा प्रस्ताव गर्न मिल्नेगरी ‘आइटमवाईज’ बनाएको छ।
यसरी एकै दिन टेन्डर आह्वान भएका उस्तै प्रकृतिका दुई टेन्डरमध्ये एउटाको प्याकेज अनि अर्कोको भने छुट्टाछुट्टै सामग्रीको लागि छुट्टाछुट्टै सप्लायर्सले टेन्डर प्रस्ताव गर्न मिल्नेगरी किन मापदण्ड राख्नु शंकास्पद देखिन्छ।
यसरी प्याकेज बनाएर टेन्डर गर्दा चाहेको निश्चित कम्पनीलाई सप्लायर्सलाई अनुकूल हुनेगरी प्याकेज बनाइदिएर उसैलाई टेन्डर स्वीकृति गरिदिने रणनीति नै हुन्छ। यी दुईमध्ये एउटा टेण्डरमा पनि यही समस्या देखियो।
अस्पतालले खरिद कानुनको छिद्रमा खेल्दै करिब ७२ लाखमा ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको एउटै ‘प्याकेज’ बनाएर निकालिएको टेन्डरमा जो सप्लायर्सले ५१ वटै सामग्री दिन सक्छ उसैलाई मात्रै टेन्डर दिने रणनीति देखिन्छ।
किनकि एउटै सप्लायर्सलाई यति धेरै किसिमका सामग्री एउटै टेन्डरमा उपलब्ध गराउन कठिन हुन्छ। यसरी प्याकेजमा टेन्डर गर्दा महँगो मूल्यमा निश्चित सप्लायर्सले टेन्डर प्रस्ताव गर्ने अनि उसैलाई टेन्डर दिने बलियो आधार देखिन्छ।
अस्पतालले करिब एक करोड २० लाखमा ८३ किसिमको ‘ल्याब रिएजेन्ट’सँग सम्बन्धित सामग्रीको टेन्डर ‘आइटमवाईज’ बनाउने तर करिब ७२ लाखमा ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’ सम्बन्धी सामग्रीको एउटै ‘प्याकेज’ बनाएकाले प्याकेजको यो टेन्डरमा बदनियत देखिन्छ।
असम्बन्धित सामग्री राखेर प्याकेज बनाउनु भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचार हो नै। यो टेन्डरमा उस्तै प्रकृतिका दुई टेन्डरमध्ये एउटाको प्याकेज बनाउने अनि अर्कोको प्याकेज खुला गराउनुले समेत कानुनी छिद्रमा खेलेर भ्रष्टाचारकै नियत राखेको देखिन्छ।
यसरी खरिद मिलेमतोमा अस्पतालका निर्देशक, प्रशासन र लेखा प्रमुख, खरिद प्रमुख, सम्बन्धित विभागका प्रमुख, बायोमेडिकल इन्जिनियर र खरिद एकाइमा संलग्न टिमको मुख्य भूमिका हुन्छ। हाल कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरि चापागाईँ छन्। यस विषय जानकारीका लागि कान्तिका निर्देशक डा. चापागाईँसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन।
उपसचिव गणेश तामाङ प्रशासन तथा खरिद प्रमुखका रूपमा आएका छन्। तामाङले सोमबार मात्रै कान्तिमा हाजिर भएको जानकारी दिए। त्यसअघि अस्पतालको प्रशासन प्रमुखका रूपमा रामबन्धु शर्मा थिए। अहिले शर्मा कान्तिबाट सरुवा भए पनि उनी हुँदै यो खरिद प्रक्रिया सुरु भएको देखियो। तर शर्माले भने आफू यो खरिदमा संलग्न नभएको दाबी गरे।
सम्बन्धित सामग्री खरिदको ल्याबका विभागीय प्रमुख डा. मणि सुवेदी छन् भने लेखा प्रमुख ज्ञान मणि उपाध्याय र बायोमेडिकल इन्जिनियर रबी लो (तामाङ) छन्। तर यी दुवैको स्पेशिफिकेशन आफूले नबनाएको बायोमेडिकल इन्जिनियर रबीले दाबी गरे।
यसरी प्याकेज बनाउन मिल्छ ?
संशोधन भएको भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र कान्ति बाल अस्पतालले अगाडि बढाएको खरिद प्रक्रियाको मापदण्ड हेर्ने हो भने भ्रष्टाचार नै हुने देखिन्छ।
ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।
ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्ष सम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख छ। ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।
टेन्डरमा गरिएका प्याकेजहरू हेर्दा भ्रष्टाचार निवारण ऐनको यो व्यवस्था अनुसार भ्रष्टाचार हुने देखिन्छ।
प्रिबिडको बेवास्ता गर्दै बढाइयो खरिद
अस्पतालले यी दुई टेन्डरको लागि २०८३ कात्तिक ३० गते दिउँसो एक र दुई बजेलाई प्रिबिड मिटिङको समय तोकेको थियो। प्रिबिड मिटिङमा संशोधन गरी प्याकेज फुटाउनुपर्नेबारे माग नभएको हैन। तर, टेन्डर प्रस्ताव गरिसक्नुपर्ने समय एक दिन मात्रै बाँकी रहँदा मंगलबार साँझसम्म संशोधन गरेर ५१ किसिमका प्रत्येक सामग्रीको छुट्टाछुट्टै रूपमा टेन्डर गर्न मिल्नेगरी प्याकेज फुटाइएको देखिएन।
अस्पतालले यी दुई टेन्डरको २०८३ मंसिर १० गते बिहीबार मध्याह्न १२ बजे सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकेको छ भने सोही दिन दिउँसो एक बजेलाई टेन्डर खुल्ने मिति तोकेको छ। तर प्याकेज नफुटाई यही अवस्थामा खरिद प्रक्रिया अगाडि बढे सेटिङ अनुसारकै सप्लायर्स कम्पनीले टेन्डर पाउने करिब निश्चित देखिन्छ।
अस्पतालले प्याकेज बनाएर करिब ७२ लाखमा खरिद गर्ने गरी अगाडि बढाएको ५१ किसिमका ‘ल्याब कन्जुमेबल गुड्स’को टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केसीएच।गुड्स।एनसीबी।०८।०८३।०८४’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ, ‘सप्लाई एन्ड डेलिभरी अफ ल्याब कन्जुमेबल गुड्स।’
अस्पतालले उस्तै प्रकृतिको करिब एक करोड २० लाखमा प्रत्येक ८३ किसिमकै सामग्रीको छुट्टाछुट्टै रूपमा टेन्डर प्रस्ताव गर्न मिल्नेगरी ‘आइटमवाईज’ गरेर गरेको ल्याब रिएजेन्टसँग सम्बन्धी टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘केसीएच।गुड्स।एनसीबी।०७।०८३।०८४’ हो। यो खरिदको टेन्डर कागजातमा लेखिएको छ ,‘सप्लाई एन्ड डेलिभरी अफ ल्याब रिएजेन्ट।’
कानुनी छिद्रमा खेलेर साँघुरो प्रतिस्पर्धा
अस्पतालले यी दुवै टेन्डरमा ‘सिंगल स्टेज– सिंगल इन्भेलोप प्रोसेड्युर’ विधि अपनाएको छ। सार्वजनिक खरिद नियमावली अनुसार ‘सिंगल स्टेजस् सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’बाट गरिने खरिदको विधि हो।
अस्पतालले यी दुई खरिदमा ‘सिंगल स्टेज–टु इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधिको सट्टा ‘सिंगल स्टेजस् सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ अपनाएकाले प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खुल्छ। त्यसैले आफूले चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिन थप सहज हुने देखिन्छ। यो विधि अपनाउँदा कानुनी व्यवधान नहुने भएकाले यही कानुनी सहजताको छिद्रमा खेलेर एक खाम विधि अपनाउँदै टेन्डरमा प्याकेजिङ गरेर अस्पताल नेतृत्वले चाहेकै सप्लायर्स कम्पनीलाई नै टेन्डर दिन थप सहज हुने रणनीति अपनाएको देखिन्छ।
अस्पतालले निकालेको यो टेन्डर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ÷आइसिबी’ नभई ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ-एनसीबी) नै अपनाएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सट्टा राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेगरी खरिद प्रक्रिया अगाडि बढाइएको छ। कान्तिका अन्य टेन्डर समेत शंका रहित छैनन्।
मंसिर ८, २०८३ मंगलबार २३:१८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।