मनोज केसीको पहिलो सरुवा निर्णय : आइजिपी सचिवालयका दुवै एसपीलाई जिल्ला पठाए, मधेसका अधिकांश एसपी बदलिए
काठमाडौं : मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त भएपछि पहिलो सरुवाको रूपमा ६० जना एसपीहरूको सरुवा निकालेका छन्। सरुवामा १६ जिल्लाको प्रमुख बदलिएका छन्। यस अगाडि दानबहादुर कार्की आइजिपी हुँदा सचिवालयमा रहेका दुवै एसपीलाई जिल्ला प्रमुख बनाएका छन्। सचिवालयमा कवित कटुवाल ल्याएका छन्।
कुमार विक्रम थापा बारा, दिलीपकुमार गिरी मोरङ, धर्मराज भण्डारी उदयपुरमा सरुवा भएका छन्। भण्डारी यस अगाडि प्रधान कार्यालयको सूचना विश्लेषण शाखामा दरबन्दी रहे पनि महानिरीक्षकको सचिवालयमा थिए।
तनहुँमा नरेशराज सुवेदीको सरुवा भएको छ। बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, पर्सामा पवनकुमार भट्टराई, सुनसरीमा पुष्पराज मल्ल र बर्दियामा बाल नरसिंह राणाको सरुवा भएको छ।
धादिङमा भरत लामा,कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तन्डुकारको सरुवा भएको छ। रुकेश महानिरीक्षकको सचिवालयमा थिए। सप्तरीमा रूपक खड्का, दाङमा श्यामु अर्याल, पर्साका सुदीप पाठक प्रहरीको विशेष ब्युरोमा आएका छन्।
अङ्गुर जिसीको बाँकेबाट साइबर ब्युरोमा सरुवा भएको छ भने अपिलराज बोहोराको एक नम्बर गणबाट राष्ट्रिय सुरक्षा परिषद्मा काजमा सरुवा भएको छ। जेनजी आन्दोलनताका बोहोरा काठमाडौं परिसरमा थिए। उनको गणमा सरुवा भएको थियो।
प्रहरी नियमावली अनुसार एसपीतहसम्मको सरुवाको अधिकार प्रहरी महानिरिक्षकमा रहेको छ। एसएसपी र डिआइजी गृहमन्त्री र एआइजी सरुवा मन्त्रीपरिषद्ले गर्छ।
मंसिर ८, २०८३ मंगलबार २३:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।