मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा उक्लिइन् कानुनमन्त्री सोविता गौतम
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको हो।
नयाँ मर्यादाक्रमअनुसार यसअघि सातौं स्थानमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो स्थान राखिएको छ। मन्त्रिपरिषद्को दोस्रो वरियतामा भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् छन्।
कानुनमन्त्री गौतम तेस्रो वरियतामा उक्लिएसँगै यसअघि अगाडि रहेका चार मन्त्रीको वरियता एक-एक तह तल झरेको छ। जसअनुसार यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, चौथो क्रममा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौं, गृहमन्त्री सुधन गुरुङ छैटौं र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौं स्थानमा पुगेका छन्।
चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट गौतम पार्टीको उपसभापतिमा निर्वाचित भएपछि मन्त्रिपरिषद्मा उनको मर्यादाक्रमलाई लिएर पार्टीभित्र प्रश्न उठ्दै आएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले पार्टी उपसभापतिद्वय वाग्ले र गौतमलाई क्रमशः दोस्रो र तेस्रो स्थानमा राख्ने गरी वरियता हेरफेरको सिफारिस गरेका हुन्।
यसअघि सरकार गठन हुँदा तेस्रो वरियतामा रहेका गृहमन्त्री गुरुङलाई पछि पाँचौंमा र अहिले छैटौंमा झारिएको छ। राष्ट्रपति कार्यालयका अनुसार १७ सदस्यीय मन्त्रिपरिषद्का बाँकी मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ।
मंसिर १०, २०८३ बिहीबार १६:५६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।