भदौ २४ दोहोरिन नदिन भिड नियन्त्रणको शक्तीशाली संरचना बनाउँदै सरकार, हजार जनशक्ती, एसएसपी कमान्डर
काठमाडौं : जेनजी आन्दोलनमा भएको सुरक्षा चुक हेरेर सरकारले भिड नियन्त्रणका लागि केन्द्रीय रिजर्भ फोर्सको रूपमा अलग गण बनाउने गृहकार्य अगाडि बढाएको छ। प्रहरीमा यस अगाडि भिड नियन्त्रणका लागि “दंगा नियन्त्रण गण” रहे पनि अहिले सो गण छिन्नभिन्न बनेको छ।
२०८१ को तीनकुनेमा भएको राजावादी प्रदर्शन र २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक हुनुको मुख्य कारण कमजोर सुरक्षा प्रणाली रहेको देखिएपछि गृह मन्त्रालयले शक्तिशाली अलग्गै गण बनाउने तयारी गरेको हो। प्रतिपक्षी र विपक्षी दलहरूले आन्दोलनको तयारी गरिरहेको सूचनाको आधारमा सरकारले यसलाई तत्काल कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ।
मन्त्रालयको तयारीबारे जानकारस्रोतका अनुसार जेनजी आन्दोलनबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन आयोगले गरेको सिफारिस अनुसार प्रहरीमा अलग गण बनाउने र भिड नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगै परिचालन नगर्ने रणनीति अनुसार अलग संरचनाको गृहकार्य अगाडि बढाइएको हो।
आयोगले प्रतिवेदनमा भिड नियन्त्रणमा सुरक्षाकर्मीबाट चुक भएको निष्कर्ष निकाल्दै यसमा सुधार गर्न भिड नियन्त्रणमा मात्र परिचालन हुने अलग संयन्त्र बनाउनु पर्ने र प्रहरी र अर्ध सैन्य बल सशस्त्र प्रहरीलाई एकै पटक परिचालन गर्न नहुने सुझाव दिएको थियो।
मन्त्रालयस्रोतका अनुसार भारतको रिजर्भ फोर्सको अवधारणा अनुसार नयाँ गण बनाउन जनशक्ति थप गर्नुपर्ने भन्दै त्यसको अनुमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको छ।
“अहिलेको अवधारणा अनुसार कमसेकम एक हजार जनशक्तिसहितको प्रहरी भित्रै नयाँ संरचना बनाउने तयारी भइरहेको छ,” जानकारस्रोतले भन्यो “अहिले कमान्डर एसएसपी तहको राख्ने तयारी छ।”
अहिले कस्तो छ संयन्त्र ?
प्रहरीमा यस अगाडि दंगा नियन्त्रण गण रहे पनि अहिले सशस्त्र प्रहरी गण र विशेष सुरक्षा प्रहरी गण रहेका छन्। मुख्यतया सार्वजनिक विरोध प्रदर्शन र हुलदङ्गामा यीनै गणका जनशक्ति परिचालित हुने गरेका छन्।
सामान्य जुलुस, धर्ना र प्रदर्शनमा सम्बन्धित जिल्ला प्रहरी कार्यालय, प्रहरी वृत्त र प्रभागहरूमा कार्यरत नियमित जनशक्ति नै अग्रपंक्तिमा परिचालित हुन्छन्।
उपत्यकाभित्र हुने ठूला प्रदर्शन, आपत्कालीन अवस्था र हुलदंगा नियन्त्रणका लागि रिजर्भ फौजका रूपमा यो विशेष प्रहरी गणको जनशक्ति खटिने गरेका छन्।
सोही अनुसार सात वटै प्रदेशमा प्रदेश प्रहरी गण रहेका छन्। अवस्था जटिल बन्दै जाँदा प्रहरी प्रधान कार्यालय अन्तर्गतको सुरक्षा सेवा व्यवस्थापन महाशाखा, पहरा गण तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका जनशक्तिलाई समेत 'रिजर्भ फोर्स' का रूपमा परिचालन हुने गरेका छन्।
अर्ध सैनिक बलको अवधारणा अनुसार बनेको सशस्त्र प्रहरी बलको जनशक्ति प्रारम्भदेखि नै प्रहरीसँगै मिसिएर भिड नियन्त्रणमा खटिने गरेका छन्। कानुनी प्रावधान अनुसार नेपाल प्रहरीको जनशक्ति र उपकरणले मात्र भिड नियन्त्रण गर्न नसक्ने अवस्था आएमा प्रमुख जिल्ला अधिकारी को आदेशमा सशस्त्र परिचालित हुनु पर्ने भए पनि प्रारम्भबाटै खटिन्छ।
तर चुनौती बढेको अवस्थामा नेपाल प्रहरी एक्लै पर्ने गरेको छ। २०८२ भदौ २४ मा बिहानैबाट प्रदर्शन सुरु भएपछि प्रहरीलाई ब्याकफोर्स समेत नदिई सशस्त्र प्रहरी र नेपाली सेना समेत पछि हट्दा नेपाल प्रहरीले ठूलो मात्रामा भौतिक र मानवीय क्षति बेहोरेको थियो।
मंसिर ८, २०८३ मंगलबार २१:५६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।