फिल्म ‘सिन्दुरे जात्रा’ : फैसला होइन, समाजलाई प्रश्न

फिल्म ‘सिन्दुरे जात्रा’ : फैसला होइन, समाजलाई प्रश्न

काठमाडौं : सिनेमाले समाजलाई सधैँ उपदेश दिनैपर्छ भन्ने छैन, कहिलेकाहीँ गतिलो प्रश्न मात्रै उठाइ दिँदा पनि ठूलो सन्देश प्रवाह हुन्छ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’मा पनि यस्तै प्रयोग गरिएको निर्माण पक्षको भनाई छ। 

अभिनेत्री अञ्जना बराइलीका अनुसार ‘सिन्दुरे जात्रा’ महिला केन्द्रित सिनेमा हो, तर यसले कसैको पक्षधर बनेर फैसला सुनाउन खोजेको छैन। बरु ‘आजको समाजले महिलालाई कुन नजरले हेरिरहेको छ?’ भनेर एउटा प्रश्न समाजकै अगाडि तेर्स्याउन खोजिएको छ। जहाँ उनले एउटा ‘मौन विद्रोह’ गरेकी छन्।

“हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौं,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौं।” तर, अञ्जनाले भनेको विद्रोह कस्तो हो भन्ने विषय प्रस्ट्याइनन्। उनले फिल्म ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको दाबी गरिन्।

नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले सुनाइन्। फिल्मको निर्माण टिममा अधिकांश व्यक्तिहरू सर्वाधिक कमाइ गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’कै रहे पनि कथा फरक रहेको र त्यसको सिक्वेल जस्तो पनि नरहेको उनको दाबी छ। फिल्म मंसिर १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। 

मंसिर ८, २०८३ मंगलबार १५:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।