सर्लाहीमा जग्गाको अभिलेख किर्ते गरी अर्काको नाममा नामसारी, मालपोत प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध मुद्दा
काठमाडौं : वास्तविक जग्गाधनीको स्रेस्ता सच्याएर अर्काको नाममा नक्कली स्रेस्ता पुर्जा बनाएको अभियोगमा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, नायब सुब्बा टुकराम कोइराला, खरिदार राजेश कुमार झा, ईश्वरपुर नगरपालिका-१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी र तत्कालीन वडा सचिव राम गुलाम राय तथा नक्कली जग्गाधनी खडा हुने र सिफारिस गर्ने दुई बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो।
त्यस्तै फर्जी विवरणको आधारमा जग्गा प्राप्त गरेको आरोपमा किशोरी धामी थारू र जग्गा प्राप्त गर्न निवेदन तथा सिफारिस गराउने कार्यमा मतियार बनेको आरोपमा अर्का बिचौलिया भोला धामी थारूविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिए।
अख्तियारका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस-२ (ख) स्थित कित्ता नम्बर ६२ को ०-११-२ क्षेत्रफल भएको जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको थियो। तर, मालपोतका कर्मचारी, स्थानीय जनप्रतिनिधि र भू-माफियाको मिलेमतोमा उक्त जग्गामा कहिल्यै हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको नाममा रहेको भनी कार्यालयको अभिलेख नै सच्याइएको थियो।
बदनियतपूर्वक वास्तविक तथ्य लुकाई-छिपाई सरकारी कागजातमा अनधिकृत थपघट तथा हेरफेर गरेर कर्मचारीहरूले किशोरी धामी थारूका नाममा दाखेल खारेज (नामसारी) गरिदिएका थिए। गैरकानुनी लाभ लिन फर्जी कागजात र गलत लिखत तयार गरेर वास्तविक जग्गाधनीलाई हानि-नोक्सानी पुर्याइएको अनुसन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ।
मंसिर १०, २०८३ बिहीबार १५:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।